नारायणी नदी तटबन्धको काम सुरु, मेयर दाहलद्वारा अनुगमन
नारायणी नदी तटबन्धनको काम सुरु भएको छ । हिउँद लागेसँगै नारायणी नदीको निर्माण गर्ने काम सुरु भएको हो । नारायणी नदी तटबन्धको लागि संघिय सरकार उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयबाट करिब रु ५ अर्ब बजेट विनियोजन भई ४ वटा प्याकेजमा ठेक्का सम्झौता भइसकेको छ भने एउटा प्याकेजको बोलपत्र आह्वान भइसकेको छ ।
ठेक्का सम्झौता भएको ४ वटा प्याकेजमा धमाधम काम सुरु भएसँगै यो कामले गति लिएको हो । नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर शङ्कर बुढाथोकीका अनुसार रामघाटदेखि शिवघाट हुँदै काभ्रेघाटसम्म करिब ५ किलोमिटर रु १ अर्ब १५ करोडको ठेक्का सम्झौता भएको छ ।
दोस्रो प्याकेज ५ किलोमिटरकै गाजीपुरदेखि हिरापुरसम्म रु ४८ करोडको ठेक्का सम्झौता भएको छ । सिसैदेखि बलुवासम्म करिब ५ किलोमिटर रु ३७ करोडको ठेक्का सम्झौता भएको छ ।
बलुवादेखि गोलाघाटसम्म रु २६ करोडमा ठेक्का सम्झौता भएको छ । पाचौँ प्याकेज नारायणी सिबिचको काम पुलदेखि करिब एक किलोमिटर अगाडि बोलपत्रको काम भई अहिले मूल्याङकनको क्रममा छ । यो प्याकेजको लागत अनुमान रु २० करोड रहेको छ ।
सोमबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा आयोजनको अनुगमन तथा निरीक्षण गरिएको छ । निरीक्षणका क्रममा मेयर दाहालले तटबन्धनको कार्य प्रगतिकोबारे जानकारी लिएकी थिइन्। तटबन्धनका लागि अहिले केही स्थानमा बिग बोल्डर (ठुलो चट्टान) झार्ने कार्य भइरहेको छ । नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी बुढाथोकीले अहिलेसम्म ३ प्रतिशत काम पुरा भइसकेको जानकारी दिए । अबको केही समयपछि आखाँले देखिने गरी तटबन्धनले आकार लिने छ ।