शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘यसपटकको विश्वकप अर्जेन्टिनाले उचाल्नेछ’

सोमबार, १९ मङ्सिर २०७९, १४ : ०५
सोमबार, १९ मङ्सिर २०७९

‘विश्वकप २०२२’ कतारमा जारी छ । विश्वकपलाई फुटबलको महाउत्सवको रुपमा लिइन्छ । ४ मंसिरमा भव्य समारोहबीच सुरु भएको विश्वकपको अहिले क्वाटर फाइनका खेलहरु चलिरहेका छन् । 

विश्वकपका कारण अहिले अधिकांश मानिसका नजर कतारमै अडिएको छ । कुल ३२ राष्ट्र सहभागी यो पटकको विश्वकपको ट्रफी कसले उठाउला  ? सबैको चासोको विषय भएको छ । चर्चित गायक आशिष सचिनको नजर पनि अहिले विश्वकपमै छ । अर्जेन्टिनाको फ्यान रहेका उनलाई यो पटकको विश्वकप अर्जेन्टिनाले नै उचाल्छ भन्ने लागेको छ । 

सचिन सानैदेखि अर्जेन्टिनाकाको फ्यान हुन् । ‘जतिबेलादेखि फुटबल बुझ्न थाले, त्यो समयदेखि नै अर्जेन्टिनाको सपोर्ट गर्दै आएका छु’ सचिनले भने । उनले विश्वकप हेर्न थालेको भने सन् १९९८ देखि हो । सो विश्वकपमा अर्जेन्टिनाको १० नम्बरको जर्सीबाट खेल्ने खेलाडी एरियल ओटेगा थिए । उनको खेलबाट प्रभावित भएर उनी अर्जेन्टिनाको फ्यान बने । सानोमा गाउँघरमा फुटबल खेल्दा समेत उनी एरियल ओटेगा लेखेको अर्जेन्टिनाको १० नम्बरको टिसर्ट लगाउँथे ।

अहिले उनलाई अर्जेन्टिनाको मेसी र डिमारीया दुइ खेलाडी मनपर्छ । डिमारीया विगत ८/९ वर्षदेखिकै आफ्नो प्रिय खेलाडी भएको उनले बताए ।

गीतसंगीतको काममा ब्यस्त उनी विश्वकपका भ्याएसम्म सबै नभए अर्जेन्टिनाको खेल भने हेर्न छुटाउँदैनन् । ‘अर्जेन्टिनाले नै विश्वकप जित्नुपर्छ, केही गरेर अर्जेन्टिनाले जित्न सकेन भने पोर्चुगलले जिते हुन्थ्यो’ उनले आफ्नो विचार राखे ।

यो विश्वकममा अर्जेन्टिनाबाहेक एशियन राष्ट्रका खेलहरु समेत हेरेको बताउने उनी विश्वकपको सेमिफाइनलमा पोर्चुगल, ब्राजिल, अर्जेन्टिना, स्पेन पुग्ने अनुमान गर्छन् ।

आफैले रोजेको गायन

‘पिरिम नलाउने’, ‘दाली फुल्यो बँैसमा’, ‘झ्याइँ झ्याइँ पञ्चे बाजैले’, ‘गलबन्दी पछ्यौरी’ र ‘एक कान दुई कान मैदान’ जस्ता थुप्रै हिट गीतका गायक सचित अहिले दर्शक श्रोताका लागि केही नयाँ गीत दिने तरखरमा छन् । गीतको रेकर्डिङमा ब्यस्त उनलाई महोत्सव र विभिन्न सांगीतिक कार्यक्रमको पनि चटारो छ ।

६ वर्ष अगाडि गायनमा प्रवेश गरेका उनलाई गायन फापेको पनि छ । कसैको करकापमा भन्दा पनि आफ्नै रहरले यस क्षेत्रमा होमिएको भएर होला सायद उनलाई यो पेशा सजिलो पनि भएको छ । तर सोचे झै अगाडि बढाउन भने उनले सकेका छैनन् । 

‘मैले रोजेको पेशा भएकोले केही हदसम्म सहज महसुस त भएको छ,’ उनले भने ‘गायनबाट सुन्टुष्ट छु । तर आफूले सोचेको पुरा भयो भन्ने दिन आएको छैन ।’ गायनमा आफूले कैयांै खुड्किला अझै पार गर्नुपर्ने महसुस उनले गरेका छन् ।

गायनमा जति काम गर्यो, त्यति नै नयाँ कुरा सिक्न पाइन्छ । त्यो सिक्ने क्रम कहिल्यै सकिन्न । यो उनले  अनुभूत गरिसकेका छन् । ‘जति गाउँदै गयो, जति दर्शक श्रोताको मन जित्दै, भिज्दै गयो झन्झन् नयाँ चाहना बढ्दो रहेछ,’ उनले थपे ।

गायनमा भने जस्तो सफलता पाउनु भनेको फलामको चिउरा चपाए सरह हो । त्यसका लागि दैनिक रियाजदेखि अन्य धेरै अभ्यासको जरुरी छ । उनी पनि दैनिक रियाज छुटाउँदैनन् । कहिलेकाहीँ म्यूजिक भिडियो सुटिङ र काम विशेषले बाहिर रहनुपर्दा छुट्यो भने त्यसको कभर अर्काे दिन गर्छन् ।

फिल्ममा पनि अफर 

सचिनको परिचय गायनमा मात्र सीमित छैन । उनी मोडल पनि हुन् । आफ्नो गीतको अधिकांश म्यूजिक भिडियोमा महिला मोडललाई जोडीको रुपमा उनले नै साथ दिदै आएका छन् । 

मोडल बन्छु भनेर उनले मोडलिङ रोजेका पनि होइनन् । अभिनय र नृत्यमा रहेको सानैदेखिको रुचिका कारण पहिलो म्यूजिक भिडियोमा हेरौ न कस्तो हुँदो रहेछ भनेर गरेका थिए । त्यो राम्रो भएपछि मोडलिङलाई निरन्तरता दिए ।

मोडलिङ गर्न थालेपछि उनले संगीतको अलावा नृत्यको समेत प्रशिक्षण लिए । नृत्य सिकेपछि उनको मोडलिङमा झन् निखार आएको छ । ‘पछिल्लो म्यूजिक भिडियो ‘छमक छमक पाउजु’ सार्वजनिक भएपछि फिल्मको समेत अफर आइरहेको छ,’ अहिलेसम्म ४ वटा फिल्मको अफर आएको उनले जनाए ।

उनलाई फिल्म अफर गर्नेमा राम्रा नाम चलेका निर्मातादेखि नयाँ निर्मातासम्म छन् । तर, फिल्ममा अभिनय गर्ने वा नगर्ने उनले अहिले डिसिजन गरिसकेका छैनन् । अफर आएकाको कथा पढेर भन्छु भन्दै उनले केही फिल्मका स्क्रिप्ट लिएका छन् ।

‘म पहिले त गायक हुँ । फिल्म भनेको छुट्टै फिल्ड हो । नायकको रुपमा जाँदा गायनमा असर गर्नुहुँदैन,’ उनी गायनमा सचेत देखिए । भन्छन्, ‘अभिनयमा कि नलाग्नु,  लागेपछि सफल हुनुपर्छ ।’ 

नेपालमा केही गायक नायकको रुपमा फिल्ममा यस अगाडि पनि देखिएका छन् । तर खास सफल भएका छैनन् र निरन्तरता पनि छैन । उनी भने सफल हुने र निरन्तरता दिने हिसावले लाग्न चाहन्छन् । भन्छन्, ‘अफर आउँदैमा हाम फाल्दिन । वर्कआउट गरेर मात्र लाग्छु ।’

‘राम्रो बिषयबस्तु भएको, पब्लिक र समाजमा एउटा सन्देश दिने, समाज रुपान्तरणको तागत राख्ने फिल्म खेल्छु,’ उनले अगाडि थपे, ‘ब्यावसाय के कस्तो म जान्दिन । समाजमा भने राम्रो छाप छोड्नुपर्यो ।’ 

प्रेमकथासहित अन्य कथाहरुको केही स्क्रिप्ट पढिरहेको बताउने उनले स्क्रिप्ट मन परे आफूलाई आगामी दिनमा फिल्ममा देख्न सकिने सम्भावना पनि रहेको सुनाए ।

प्रेमका अफर

देशका धेरै स्थानमा सांगीतिक प्रस्तुति दिएका सचिनले विदेशमा समेत सांगीतिक कार्यक्रम गरेको अनुभव संगालेका छन् । 

सामाजिक सञ्जालमा उनका धेरै फ्यान छन् । बालकदेखि बृद्धसम्मको रोजाइका गायक पनि हुन् उनी । त्यसैले त उनको नयाँ गीत सार्वजनिक हुने बितिक्कै राम्रो भ्यूज पाउने गर्छ । 

धेरै गायक गायिका गायनका कारणले मात्र चिनिन्छिन् । उनी भने मोडलिङका कारणले पनि परिचित छन् । त्यसैले, पनि उनलाई पछ्याउने, प्रेम गर्छु, विवाह गरौैं भन्ने थुप्रै छन् । तर करियर उत्कर्षमा रहेकाले अहिले कसैको अफरलाई महत्व दिदैनन् उनी ।

‘एउटा गायकलाई मनपराउने, प्रेम गर्ने र विवाहको चाहना राख्ने अधिकार फ्यानलाई हुन्छ’, सचिनले भने, ‘यस्ता फ्यान मेरो मात्र होइन, अन्य गायकहरुको पनि छ । त्यो सामान्य कुरो हो ।’ 

‘कलाकारसँग जीवन बिताउने चाहना हँुदो रहेछ । गायनमा लाग्नु अगाडि म पनि त्यस्तै सोच्थे,’ उनले भने, ‘त्यो सकारात्मक हो । त्यो फ्यानले कलाकारप्रति देखाएको माया पनि हो । तर जो पायो, त्यसले यो माया कहाँ पाउँछ र ?’ फ्यानबाट बारम्बार गिफ्ट र जन्मदिन केक लगायत सरप्राइज गिफ्ट समेत पाउने गरेका उनले सुनाए ।

आँसु झरोस्

गायनमा राम्रो परिचय बनाएका सचिनको ठुलो सपना भने केही छैन । पहिले गायन स्थापित हुने थियो, त्यो अहिले पुरा भएको छ । त्यसैले अहिले पोजिसन टिकाइरहन मेहनत गरिरहेका छन् । गायनमा नचिनिएसम्म चिनिन गाह्रो, चिनिएपछि उही पोजिसनमा रहन गाह्रो हुने उनको अनुभव छ ।

‘आफ्नो मृत्यमा दर्शक श्रोताबाट दुई थोपा आँसु झरोस्, नेपालको झण्डा ओड्न पाइयोस् । एउटा गायकको सपना त्यही हुन्छ’ उनले भने, ‘त्यसैका लागि म दिनरात नभनी मेहनत गरिरहेको छु ।’

गायनमा जति चर्चा हुन्छ, त्यति नै दुःख पनि छ । यो जीवनभर संघर्ष गर्नुपर्ने र एकपछि अर्काे चुनौतीको सामना गरिरहनुपर्ने पेसा हो । ‘पछिल्लो समय सामाजिक सञ्जाल, युट्यूवलगायत धेरै डिजिटल प्लेटफर्मको विकासले केही धेरै हदसम्म सहज भएको छ,’ उनले खुसी व्यक्त गरे, ‘अहिले गायनबाट भविष्य पनि बनाउन सकिन्छ । राम्रो जीवन चलाउन पनि सकिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप