शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माओवादी पार्टी सदस्य साढे ८ लाख, भोट ११ लाख

सोमबार, १९ मङ्सिर २०७९, १७ : ०७
सोमबार, १९ मङ्सिर २०७९

नेकपा माओवादी केन्द्रले सक्रिय सदस्य संख्या देशैभर ८ लाख ५० हजार बनाएको छ । देशैभरबाट सफ्टवेयर र हार्डकपीद्वारा भरिएको पार्टी सदस्य साढे ८ लाख भएपनि यो निर्वाचनमा भने ११ लाख ६२ हजार १२४ मात्रै मत आएको छ । पार्टी सदस्यलाई मात्रै जोड्दा समेत ३ लाख १२ हजार १२४ मात्रै बढी मत आएको छ । एउटा पार्टी सदस्यले मात्रै एक जना मात्रै थपेको भए १६ लाख भन्दा बढी मत आउने थियो ।

पार्टी सदस्य भूमिका समेत कमजोर हुँदा  समानुपातिकमा माओवादीको सोचोभन्दा कम मत आएको छ । तर, पार्टीका कोषाध्यक्ष श्रीराम ढकालले पार्टीका देशैभर उम्मेदवार नउठाउँदा कम मत आएको जिकिर गरे । ‘हामीले प्रदेश र प्रतिनिधिसभामा देशैभर उम्मेदवार उठाएनौ । गठबन्धनलाई असर पर्छ कि भनेर समानुपातिकमा मतै मागेनौं’ ढकालले भने, ‘त्यसको असर समानुपातिकमा प्रत्यक्ष देखियो जुन घटेर आयो ।’

कांग्रेस र एमालेको तुलनामा माओवादीको मत घट्ने प्रतिशत कम भएको ढकालले बताए । ‘अघिल्लो चुनावमा कांग्रेस एमालेको मतलाई हेर्यो भने माओवादी कम घटेको छ । यद्यपि मत घट्नु राम्रो होइन । हामीले बढाउनुपर्ने थियो सकेनौ’ ढकालले भने । माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक मत हाराहारीमा आएपछि धेरैले उडाउन थालेका छन् ।  भर्खरै गठन भएको पार्टी र जनयुद्ध लडेर आएको पार्टीको मत बराबरी जस्तै भएको भन्दै व्यङ्ग्य गर्न थालिएको छ । 

हरेक निर्वाचनमा माओवादीको मत घट्न थालेपछि माओवादी नेताहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । पहिलो संविधानसभा २०६४ सालको चुनावमा माओवादीको प्रत्यक्षमा १२० सिट ल्याएर पहिलो दल भएको थियो । समानुपातिकमा ३१ लाख ४४ हजार २०४ मत ल्याएर १ सय सिट थपिएको थियो । दोस्रो संविधानसभा २०७० सालमा प्रत्यक्षमा २६ सिट मात्रै ल्याएर तेस्रो दल भएको थियो ।

समानुपातिकमा १४ हजार ३९ हजार ७२६ मत ल्याएर ५४ सिट मात्रै थपिएको थियो । २०७४ सालको चुनावमा प्रत्यक्षमा ३६ सिट जितेको थियो । एमाले माओवादी तालमेल गर्दा समेत माओवादीले प्रत्यक्षमा ३६ सिट मात्रै जित्न सफल भएको थियो ।  समानुपातिकमा १३ लाख ३० हजार ७२१ मत ल्याउँदा १७ सिट मात्रै थपिएको थियो ।

२०४८ सालको तत्कालीन माओवादी हागो संयुक्त जनमोर्चाले प्रत्यक्षमा ९ सिट जितेको थियो । त्यतिबेला समेत संयुक्त जनमोर्चा संसदको तेस्रो शक्तिको रुपमा उपस्थित थियो । पछिल्लो समय माओवादी मत घट्दै जाँदा तेस्रो शक्तिबाट दोस्रोमा उक्लिन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप