शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

धरौटी राख्ने सम्पत्ति नहुँदा पेट्रोलियम पाइपलाइनको काम अलपत्र

पाइपलाइनबाट पेट्रोल ल्याउन सके मासिक १५ करोड बचत हुने
सोमबार, १९ मङ्सिर २०७९, ०६ : ४५
सोमबार, १९ मङ्सिर २०७९

 नेपाल आयल निगमसँग बैंक धरौटी राख्ने भौतिक सम्पत्ति नहुँदा अम्लेखगञ्ज–बरौनी पेट्रोलियम पाइपलाइनको काम ४ महिनादेखि अलपत्र अवस्थामा छ ।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन (आईओसी) लाई २९ अर्ब रुपैयाँ तिनुपर्ने छ । निगमले सो रकम बुझाउन नसक्ने र बैंक ग्यारेन्टी राख्न भौतिक सम्पत्ति समेत नहुँदा पाइपलाइनबाट पेट्रोल ल्याउने योजना अलपत्र भएको हो ।

निगमले पेट्रोल भण्डारणका लागि २ वटा ४१ लाख लिटरको ट्याङ्कीसहित प्राविधिक उपकरण खरिदका लागि तत्काल २ अर्ब ५० करोड रकम आवश्यक पर्ने जनाएको छ । तर निगमसँग सो रकम नहुँदा दोस्रो चरण अन्तर्गत पेट्रोलियम पाइपलाइनको काम सुरु हुन सकेको छैन ।

यसअघि निगमले पहिलो चरणमा ३ वर्षअघि २०७६ भदौ २४ गतेदेखि भारतको बरौनीदेखि बाराको अम्लेखगञ्जसम्म पाइपलाइनबाट डिजल ल्याउने गरेको छ । आयल निगम अम्लेखगञ्ज डिपोका प्रमुख प्रदीपकुमार  यादवले सन् २०२४ जनवरीसम्म पाइपलाइनबाट पेट्रोल ल्याउने लक्ष्य भए पनि आईओसीलाई बुझाउने नगद रकम अथवा धरौटी राख्ने सम्पत्ति नहुँदा काममा ढिलाइ भएको बताए ।

यादवले भने, ‘दोस्रो चरणको काम सम्पन्न भए पाइपलाइनबाट पेट्रोल आयात हुँदा निगमको ईन्धन खर्च र ढुवानी भाडा बापत मात्रै प्रतिमहिना १५ करोड बचत हुन्छ ।’

भारतको बरौनीदेखि अम्लेखगञ्जसम्म पेट्रोल ढुवानी गर्दा प्रतिलिटर पेट्रोलमा ३ रुपैयाँ खर्च हुन्छ भने पाइपलाइनबाट ल्याउन सके प्रतिलिटर ५० पैसामात्रै खर्च हुने निगमले जनाएको छ ।

‘दोस्रो चरणको काम जति ढिलो भइरहेको छ, त्यति निगमलाई घाटा छ, भण्डारण गर्ने ट्याङ्की नहुँदा पाइपलाइन पनि पूर्ण रूपमा प्रयोग गर्न सकिएको छैन,’ यादवले भने ।

दोस्रो चरणको कामको लागि नेपाल आयल निगमले १ वर्ष अघि भारतीय आयल निगमलाई भारु.७६ करोड रुपैयाँ दिइसकेको छ । सो रकम बुझाएपछि ११ वटा टेन्डरहरू सार्वजनिक भइसकेको र त्यसमध्ये ८ वटा टेन्डरमा काम पनि सुरु भइसकेको छ । तर बाँकी कामका लागि निगमले आईओसीलाई रकम बुझाउन नसक्दा योजना अगाडि बढ्न सकेको छैन ।

दोस्रो चरणमा के के काम हुन्छ ?

निगमको अम्लेखगञ्ज डिपोसँग डिजल भण्डारणका लागि अहिले ४५ लाख लिटरको ४ वटा ट्याङ्की मात्रै छ । तर पाइपलाइनबाट प्रतिघन्टा औसतमा २ लाख ५० हजार लिटर डिजल आउँदा भण्डारण गर्ने पर्याप्त ट्याङ्की नहुँदा समस्या भएको अम्लेखगञ्ज डिपो प्रमुख यादवले जनाए ।

पाइपलाइनको दोस्रो चरणको काम अन्र्तगत ४१ लाख लिटरको २ वटा पेट्रोलको ट्याङ्की, एउटा ल्याबोटरी, २४ वटा प्लेट, फायर फाईटिङ्गको लागि फायर वाटर ट्याङ्की निर्माण हुनेछन् । डिजल पाइपलाइनबाट आए पनि निगमले मट्टितेल र पेट्रोल भने ट्याङ्कर मार्फत ल्याउने गर्दछ ।

अम्लेखगञ्जदेखि २५० किलोमिटर टाढा भारतको बरौनी पुगेर पेट्रोल ल्याउँदा प्रतिट्याङ्कर २० हजार लिटर पेट्रोलका लागि ४ सय लिटर डिजल खर्च हुने निगमले जनाएको छ ।

साथै पेट्रोल लिनका लागि बरौनी पुगेका नेपाली गाडीहरूले भारतीय दूतावास, बिहार सरकारको अनुमति लिनुपर्ने, अनेकन शुल्क, सवारी चालक र सहयोगीको खानेबस्ने खर्चका कारण सवारी धनीको मात्रै दैनिक ५ हजार खर्च हुने निगमले जनाएको छ । तेल उडेर जाने, तेल अभाव हुने लगायतका समस्या समाधानका लागि पनि पाइपलाइनबाट तेल ल्याउन सके खर्च धेरै कम हुने यादवको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप