शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायली गुप्तचरसँग मिलेर देशविरुद्ध षडयन्त्र गरेको आरोपमा इरानमा चार जनालाई मृत्युदण्ड

आइतबार, १८ मङ्सिर २०७९, १८ : ५९
आइतबार, १८ मङ्सिर २०७९

इरानले इजरायली गुप्तचर निकायसँग काम गरेको आरोप लागेका चार जनालाई मृत्युदण्ड दिएको छ । साथमा अन्य तीन जनालाई जेल सजाय पनि सुनाएको छ । 

हुसेन आरदुखन्जादेह, शहिन इमानी महमुदाबाद, मिलाद अश्रफी अतबतान र मनोचेहर बहबन्दी बोजन्दीलाई आइतबार सबेरै मृत्युदण्ड दिइएको थियो । देशको न्यायालयले यो जानकारी उसको आधिकारिक वेबसाइटमा राखेको छ । 

अदालतले मृत्युदण्ड दिइएका व्यक्तिलाई ‘ठग’ भनेको छ र उनीहरू इजरायली गुप्तचर निकायबाट निर्देशित भएर सार्वजनिक तथा निजी सम्पत्तिको क्षति, चोरी, अपहरणमा सरिक भएको आरोप लगाएको छ । 

दोषीहरूले स्विडेनस्थित मोसादको कार्यालयबाट निर्देशन पाउने गरेको र तिनले मोसादबाट क्रिप्टोकरेन्सीमा पैसा भुक्तानी हासिल गर्ने गरेको न्यायालयले दाबी गरेको छ । मुद्दा सर्वोच्च अदालतले हेरेको थियो, जसले आइतबार मृत्युदण्ड दिइएको पुष्टि गर्‍यो । यसको फैसला भने बुधबार नै भएको थियो । 

मृत्युदण्ड दिइएका चारबाहेक पनि थप तीन जनालाई पाँचदेखि दस वर्षको सजाय सुनाइएको छ । उनीहरूमाथि ‘राष्ट्रिय सुरक्षाविरुद्ध काम गरेको र अपहरण तथा हातहतियार सङ्ग्रहमा सहयोगी’ भएको आरोप लगाइएको छ ।

इरान र इजरायल क्षेत्रीय शत्रु हुन् र इरानले समय समयमा इजरायलका अतिरिक्त, युरोपेली संघ र अमेरिकाजस्ता विदेशी शक्तिसँग काम गरेको आरोपमा मानिस पक्राउ गर्ने गर्छ । पछिल्लो मृत्युदण्ड त्यो समय दिइएको छ, जब इरानमा महिनौँदेखि विरोध प्रदर्शन चलिरहेको छ । सेप्टेम्बरको बीचबाट महसा अमिनी नामक युवतीको धार्मिक प्रहरीको हिरासतमा मृत्यु भएपछि चर्केको आन्दोलन शान्त नहुँदा इस्लामिक गणतन्त्रमै धक्का लाग्ने हो की भन्ने आशङ्का उत्पन्न भएको छ । 

इरानले देशमा चलिरहेको प्रदर्शनका पछाडि अमेरिका, इजरायल, बेलायत, फ्रान्स, जर्मनी र साउदी अरबको हात भएको आरोप लगाएको छ । तर आइतबारको मृत्युदण्ड भने पछिल्लो प्रदर्शनसँग सम्बन्धित नरहेको बताइएको छ, जसमध्ये अधिकांश ६ महिनाअघि नै पक्राउ परेका थिए । 

अलजजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप