शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विराटनगरमा हुने विराट एक्स्पोको सम्पूर्ण तयारी पूरा

आइतबार, १८ मङ्सिर २०७९, १६ : २६
आइतबार, १८ मङ्सिर २०७९

 प्रदेश १ को राजधानी विराटनगरमा हुन गईरहेको सातौं संस्करणको विराट एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको छ । मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर–१४ स्थित डिग्री क्याम्पसमा हुने औद्योगिक व्यापार मेलाको सम्पूर्ण तयारी पुरा भएको हो । आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक उद्योग संगठन मोरङले मेलाको तयारी पुरा भएको जानकारी दिएको छ ।

संगठनका अनुसार ७ दिनसम्म चल्ने एक्स्पोमा विभिन्न स्वदेशी तथा विदेशी उत्पादन सहितका ३६१ वटा स्टलहरु रहने छन् । पेभिलियनको ४, प्रायोजकको १०, उद्योग संगठन मोरङ कार्यसमितिको ३४, औद्योगिक कन्जुमन प्रोडक्ट्सको ७५, कृषि तथा साना घरेलु एवं सूचनामुलकको ७५, नाडा र अटोमोबाईल्सको २० वटा र खाद्य सामाग्रीको १० वटा स्टलहरू एक्स्पोमा रहने उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बताए । उनले एक्स्पो अवधिभर माउन्टेन फ्लाईटको समेत व्यवस्था गरिएको जानकारी दिए । ‘एक्स्पो अवधिभर ३ वटा माउन्टेन फ्लाईट गर्ने तयारी छ,’ उनले भने, ‘हामीले बुकिङ्ग पनि खुलाईसकेका छौं ।’

एक्स्पोमा आर्थिक एवम् कृषि तथा औद्योगिक क्षेत्रका बिषयगत मुद्दाहरुमा नीतिगत छलफल, अनुभव आदानप्रदान र नवीतम सोच भएका युवा उद्यमीको स्टार्टअप कर्नरका लागि छुट्टै पेभिलियनको व्यवस्था गरिएको बताईएको छ । प्रदेश १ मा लगानी सम्भावना भएका क्षेत्रका निम्त्ति पनि छुट्टै पेभिलियनको व्यवस्थापन मिलाईएको छ । एक्स्पोमा भने पहिलोपटक रोबोटसँग प्रत्यक्ष संवाद गर्ने अवसर समेत प्राप्त हुने आयोजकको दाबी छ । आयोजकका अनुसार एक्पोमा थ्रीडी भर्चुअल टुर मार्फत् प्रदेश १ का सगरमाथा बेस क्याम्प, गुफा पोखरी र पाथीभरा मन्दिर लगायतका पर्यटकीय क्षेत्रको अवलोकन समेत गर्न सकिनेछ ।

एक्स्पोमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साङ्गितिक प्रस्तुतीको व्यवस्था समेत मिलाईएको छ । फेशन शो र विराट एक्स्पो सिङ्गिङ आइडल प्रतियोगितालाई मनोरञ्जनको मुख्य आकर्षण बनाईएको छ । प्रतियोगिताको आवेदन भने मंसिर २२ गतेबाट खुल्ला गरिने जानकारी दिईएको छ । प्राप्त जानकारी अनुसार प्रतियोगिताको निर्णायक भने गायिका इन्दिरा जोशी रहने भएकी छिन् ।

एक्स्पोमा भने नेपालका साथसाथै भारत, बङ्गलादेश र पाकिस्तान लगायत विभिन्न मुलुकका उत्पादनहरु प्रर्दशनीमा रहने छन् । ३ करोड रुपैयाँ खर्च हुने एक्स्पो करिब २ लाख बढी उपभोक्ताहरुले अवलोकन गर्ने जनाईएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप