बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

विश्व कप फुटबलमा ब्राजिलको त्यो हार जसले पूरा देशलाई शोकमा डुबाएको थियो

आइतबार, १८ मङ्सिर २०७९, १५ : १०
आइतबार, १८ मङ्सिर २०७९

कतारमा जारी विश्वकप फुटबलमा उतारचढावको शृङ्खला जारी छ । यस पटकको फेभरेट मानिएको ब्राजिलियन टोलीले शुक्रबार राति अप्रत्याशित हार बेहोरेको छ ।

क्यामरुनले ब्राजिललाई १–० ले हरायो । क्यामरुनका तर्फबाट भिन्सेन्ट अबुबाकरले खेलको ९२ औं मिनेटमा गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाएका थिए । यो जितले क्यामरुनलाई कतार विश्वकपमा कुनै फाइदा नपुर्याउन पनि सक्छ तर ब्राजिललाई हराउने पहिलो अफ्रिकी टोली अवश्य बनेको छ ।

ब्राजिलको टोली कतार विश्वकपको समूह चरणमा अगाडि बढिसकेको छ, त्यसैले यो हारले उसलाई कुनै नोक्सान पुर्याएको छैन, तर खतराको घण्टी पक्कै पनि बजाएको छ । यसले एकातिर पाँच पटकको च्याम्पियन ब्राजिलका खेलाडीको आत्मविश्वासलाई डगमगाएको छ भने अर्कोतर्फ ब्राजिललाई हराउन सक्ने अन्य टोलीको मनोबल पनि बढाएको छ ।

ब्राजिल पक्कै पनि विश्वकप फुटबलको सबैभन्दा सफल टोली हो, तर समय समयमा उसले अप्रत्याशित हारको सामना गर्नुपरेको छ । तर यी अप्रत्याशित पराजयहरू मध्ये, एउटा यस्तो हार पनि छ जसको पीडाले ब्राजिलका फुटबल प्रेमीहरूलाई वर्षौं वा दशकौंदेखि सताउँदै आएको छ । ब्राजिलका फ्यानहरू यो पीडालाई अरू कुनै पराजयसँग तुलना गर्न चाहँदैनन् ।

वास्तवमा यो खेल सन् १९५० को विश्वकपको फाइनलको थियो, जहाँ धेरैले रुचाउने ठानिने आयोजक ब्राजिललाई उरुग्वेले हराएर विश्व कप जितेको थियो । यो सन् १९५० को त्यही विश्वकप थियो जहाँ दोस्रो विश्वयुद्धपछिको परिस्थितिका कारण धेरै देशले खेल्न अस्वीकार गरेका थिए र भारत सामू यस विश्वकपमा सहभागी हुने मौका थियो ।

तर अन्तिम समयमा भारतीय फुटबल टोलीले पनि भाग लिन सकेन । भारतबाहेक स्कटल्याण्ड र युगोस्लाभियाका टोलीले पनि प्रतियोगिताअघि आफ्नो नाम फिर्ता लिएका थिए । तर यही यो विश्वकप थियो जसमा पहिलो पटक खेलाडीको जर्सीमा नम्बर लेखिएको थियो ।

यस प्रतियोगितालाई लिएर ब्राजिलमा निकै उत्साह थियो । यो सन् १९५० को त्यो वर्ष थियो, जब यसअघि फुटबलको दुनियाँमा ब्राजिलको जलवा कहिल्यै देखिएको थिएन तर घरेलु दर्शकको सामुन्ने भने टिमलाई निकै रुचाइएको थियो ।

यो त्यहि समय थियो जब ब्राजिलको आधा जनसंख्याले खाद्य संकटको सामना गरिरहेको थियो, जनसंख्याको एक तिहाइ साक्षर थिए, तर यस विश्वकपका बेला फुटबलले ती सबैलाई एकताबद्ध गरेको थियो । अर्कोतर्फ, ब्राजिल सरकारले यो विश्वकपसँगै विश्वलाई ब्राजिलको शक्तिको अनुमान हुने आशा गरेको थियो । त्यसैले टोलीमा कुनै पनि हालतमा विश्वकप जित्ने दबाब थियो ।

यसको तयारीका लागि ब्राजिलले उत्कृष्ट टोली छनोट गरेको थियो । ब्राजिल टोलीको प्रदर्शन पनि उत्कृष्ट रह्यो । उरुग्वेसँगको फाइनलअघि भएका दुई खेलमा ब्राजिलले स्वीडेनलाई ७–१ र स्पेनलाई ६–१ ले हराएको थियो । यस्तो अवस्थामा उरुग्वेविरुद्ध पनि टिमको पल्ला भारी मानिएको थियो । यो खेल बराबरी टुङ्गिएको भए पनि ब्राजिल च्याम्पियन हुने थियो ।

जब किर्तिमानी संख्यामा दर्शक मैदानमा जुटे

यसैकारण रियो दि जेनेरियोमा पूरै उत्साह थियो । सबैजना ब्राजिल विश्व च्याम्पियन हुनेमा विश्वस्त थिए । यस विश्वासका कारण, एक साम्बा ब्यान्ड खेलको साइडलाइनमा तैनाथ गरिएको थियो । यो ब्यान्डले एउटा विशेष गीत गाउनु पर्ने थियो – ब्राजिल  द विनर्स । स्थानीय पत्रिकामा खेलको बिहान नै हेडलाइन थियो – च्याम्पियन्स अफ द वर्ल्ड ।

यो उत्साह खेलको दिन मार्काना रंगशालामा हजारौं मानिसहरु खेल हेर्न भेला हुँदा थाहा भयो । आधिकारिक रुपमा टिकट लिएर खेल हेर्ने दर्शकको संख्या १ लाख ७५ हजार थियो भने २५ हजार त्यस्ता मानिसहरु थिए जसलाई या त आमन्त्रित पाहुना थिए वा केही उपाय गरेर ढोका नाघेर भित्र आएका थिए । अर्थात् रंगशालामा करिब दुई लाख मानिस उपस्थित थिए । कुनै एक खेलमा योभन्दा बढी दर्शक कहिल्यै जम्मा भएका थिएनन् । अहिलेसम्म कुनै पनि खेलमा सबैभन्दा धेरै दर्शकको यो रेकर्ड हो । खेल सुरु हुनासाथ दर्शकले खुसी मनाउन थालेका थिए ।

फुटबल विश्व कपको विषयमा स्याम बर्केलेको सम्पादित पुस्तक ‘एभरिथिङ यू एभर वान्टेड टु नो अबाउट द वर्ल्ड कप’ को पहिलो भोल्यूममा यो विश्व कपको रोचक विवरण पाइन्छ । यस अनुसार यो खेललाई लिएर उरुग्वेको टोलीमा यति धेरै दबाब थियो कि टोलीका मिडफिल्डर जुलियो पेरेजको खेलअघि राष्ट्रिय गान सुन्ने क्रममा पिसाब चुहिएको थियो । खेलपछि उनले भनेका थिए, ‘यो कुराका लागि मलाई केही लाज लागेन ।’

तर, जब उनले मिडियाको अगाडि यो कुरा स्वीकार गरे त्यतिबेला उनको टोलीले इतिहास रचिसकेको थियो । तर, यसले अगाडिको टोली कति दबाबमा खेलिरहेको थियो भन्ने देखाउँछ । ब्राजिलका फरवार्ड इडिमिरले प्रतियोगितामा ९ गोल गरिसकेका थिए भने टिममा जिजिन्होको रुपमा उत्कृष्ट खेलाडी थिए ।

खेल सुरु हुनेबित्तिकै दर्शकको कोलाहल ब्राजिलको टोलीको पक्षमा गुञ्जन थाल्यो । तर पहिलो हाफमा कुनै पनि टोलीले गोल गर्न सकेनन् । खेलको ४७ औं मिनेटमा जिजिन्होको पासमा फ्रिकाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । पूरा मराकाना रंगशाला साम्बा संगीतमा नाच्न थाल्यो । तर उरुग्वेका कप्तान ओब्दुलो भेरेलाको अन्य योजना थियो । उनले गोलको विरोध गर्दै रेफ्रीसँग बहस गर्न थाले । रेफ्रीको कुरा उनले बुझिरहेका थिएनन् त्यसैले एक अनुवादकलाई मैदानमा ल्याइयो । फ्रिकाको गोल सही थियो भन्ने थाहा भए पनि भेरेलाले गोललाई लिएर रेफ्रीसँग आठ मिनेटसम्म तर्क गरे ।

तर आठ मिनेटसम्म चलेको उनीहरुको बहसले एकातिर स्टेडियमका दर्शकलाई शान्त बनाएको थियो । आखिर के भयो भनेर सबैले जान्न खोजिरहेका थिए । अर्कोतर्फ, यसले उरुग्वेको टोलीलाई एकताबद्ध गर्न सफल भयो ।

त्यो गोलको दबाब खेलाडीमा रह्यो । धेरै खेलकुद विश्लेषकहरूले उरुग्वेका कप्तानको यो कामलाई एक चालको रूपमा मानेका थिए, जसको माध्यमबाट उनले ब्राजिलका खेलाडीहरूलाई मात्र होइन, दर्शकहरूलाई पनि फ्रस्टेट पारेका थिए ।

र अचानक खेलको दोस्रो हाफमा एक खेलाडी देखा परे जसलाई ७२ वर्षपछि पनि ब्राजिलमा भिलेनको रूपमा हेरिन्छ । उरुग्वेका राइट विङ्गर अल्सिडेस घिगियाले यो खेलअघि नै आफ्नो टोलीका लागि तीन खेलमा तीन गोल गरेका थिए । तर यहाँ दबाबको क्षणमा, उनले सुरुमा त आफ्ना साथीलाई मद्दत गरे । उनले आफ्नो सहकर्मी जुआन स्काफिनोलाई सही पास दिए र यो गोलको मद्दतले उरुग्वेले बराबरी गर्यो ।

घिग्गियाको गोलले ब्राजिल पराजित

यो खेल बराबरीमा सकिएको भए पनि राम्रो गोल औसतका कारण ब्राजिल च्याम्पियन बन्ने थियो । ७९ औं मिनेटमा घिग्गिया फेरि ब्राजिलको गोलपोष्टतर्फ अग्रसर भए, उनी बढिरहेको देखेपछि ब्राजिलका डिफेन्डरले स्केयफिनोलाई मार्क गर्न सुरु गरे र घिग्गियाले ब्राजिली डिफेन्डर र गोलकिपर बारबोसालाई छक्याउँदै बायाँ खुट्टाले एउटा शट हाने जुन सिधै गोलपोस्टमा गएर उल्झियो ।

माराकाना रंगशालामा सन्नाटा छायो र त्यसपछि खेलको बाँकी समयमा पूरा बल लगाए पनि ब्राजिलको टोलीले बराबरी हासिल गर्न सकेन ।

घिग्गियाले बीबीसीको विटनेस कार्यक्रममा एक अन्तरवार्तामा भने, ‘ब्राजिलका गोलकिपर र गोलपोस्टको बीचमा धेरै ठाउँ थिएन । मैले के गर्न सक्छु भनेर सोचेँ, त्यसपछि मैले शट हानेँ, त्यो गोलकिपरको बायाँतिर गयो । उनीहरुले त्यो रोक्न सकेनन् र बल गोलपोस्टमा गयो । यो मेरो जीवनको उत्कृष्ट गोल थियो । हाम्रो दोस्रो गोल । यो गोलको खुसी मनाउँदै गर्दा पूरै स्टेडियम मौन थियो । केवल तीनजना मानिसले मात्रै आफ्नो एक मुभले मरकाना स्टेडियमलाई शान्त पार्न सक्थ्यौँ – फ्रेंक सिनात्रा, पोप जोन पल द्वितीय र म ।’

फ्रान्क सिनात्रा एक प्रसिद्ध अमेरिकी गायक हुन् र घिग्गियाले अन्तरवार्ता दिँदा पोप जोन पॉल द्वितीय रोमन क्याथोलिक पोप थिए । यो अन्तरवार्तामा घिग्गियाले एउटा रोचक घटना सुनाए ।

उनले भने, ‘एकपल्ट म ब्राजिल गएको थिएँ । राहदानी जाँच गर्ने झ्यालमा २३–२४ वर्षका युवक थिए । कागजपत्र हेरेपछि उनले भने, ‘तपाईं घिग्गिया हो, मरकाना ? मैले भनेँ – हो, तर त्यो त धेरै अघिको कुरा हो । त्यसपछि उनले भने, ‘होइन, खासमा त्यो घटनाले हामीलाई आज पनि दुःख दिन्छ ।’

ब्राजिलका नाटककार तथा खेलकुद लेखक नेल्सन रोड्रिगेजले १९५० को पराजयबारे भनेका छन्, ‘सन् १९५० को पराजयसँगै हामीले पछिल्लो ४५ पुस्ताको पापको मूल्य चुक्ता गरेका छौँ ।’

यस खेलको बारेमा, ब्राजिलका चर्चित फुटबल खेलाडी पेलेले पनि धेरै पटक भनेका थिए कि उनले यस हारबाट आफ्नो बुबालाई पहिलो पटक रोएको देखे । त्यतिबेला पेले ९ वर्षका थिए । उनले आफ्नो पुस्तक  ‘ह्वाई सकर म्याटर्स’ मा लेखेका छन्, ‘त्यस दिन, लाखाँै ब्राजिली जनताका साथै मैले पनि जीवनको मुश्किल पाठ सिकेको थिएँ । जबसम्म अन्तिम सिटी बज्दैन जीवन र फुटबलमा केही पनि निश्चित छैन ।’

पेलेले यो हारले ब्राजिललाई एकताबद्ध गरेको पनि लेखेका छन् । उनले लेखेका छन्, ‘यो त जुलाई १६, १९५० को दिन मात्रै हो, जब हाम्रो देश एकजुट भएर उत्सव मनाउन आएको थियो, तर हामीले हार बेहोर्नुपर्‍यो र एक राष्ट्रको रूपमा हामीले दुःख पनि भोग्नुपर्‍यो । यो पहिलो पटक हो जब हामी एकताबद्ध भयौँ ।’

विश्वकप आयोजक समितिका लागि पनि यो नतिजा यति अप्रत्याशित थियो कि उरुग्वेलाई कुनै उत्सव र ठेगाना बिना नै विश्वकप ट्रफी हस्तान्तरण गरियो र दर्शकको डरले उरुग्वेका खेलाडीले पनि आफ्नो जीतको उत्सव राम्रोसँग मनाउन सकेनन् । यस खेललाई माराकानाजो पनि भनिन्छ, जसको अर्थ ग्रेट माराकाना ब्लो अर्थात् माराकानाको हार, जुन हरेक ब्राजिलियन नागरिकले अझै पनि महसुस गर्छन् ।

यस प्रतियोगितामा, फ्लाभियो कोस्टालाई ब्राजिलियन टोलीलाई प्रशिक्षण दिन प्रशिक्षक नियुक्त गरिएको थियो, त्यो समयमा उनलाई प्रति महिना एक हजार पाउन्ड तलब दिइएको थियो । जो धेरै आकर्षक तलब थियो, त्यसैले हार पछि मानिसहरूले उनीमाथि रिस फेर्न सक्थे । उनलाई मरकाना स्टेडियमको ड्रेसिङ रुममा ४८ घण्टासम्म बन्द गरेर राखियो । त्यसपछि पनि उनलाई महिलाको कपडा लगाइदिएर स्टेडियम बाहिरबाट निकालिएको थियो ।

गोलकिपरले जीवनभरी झेले सजाय

यो हारको सबैभन्दा ठूलो मूल्य टोलीका प्रशिक्षक मोसिर बारबोसाले चुकाउनु पर्यो । यो प्रतियोगिताअघि उनलाई देशको आदर्श गोलकिपर मानिन्थ्यो तर पराजयपछि उनी ब्राजिलमा घृणाको नजरले हेर्ने गोलकिपरका रूपमा उभिए । यही भावना बोकेर उनी जीवनभर बाँच्नुपरेको थियो ।

सन् १९९३ मा ब्राजिलको टोली अमेरिकामा आयोजना हुने विश्वकपको तयारी गरिरहेको बेला उनी खेलाडीलाई भेट्न क्याम्प पुगेका थिए । सुन्दा अचम्म लाग्न सक्छ कि टोलीका एक निर्देशकले सुरक्षा गार्डलाई बोलाएर ‘यो मानिसलाई बाहिर फाल्न निकाल, यसले सधैँ दुर्भाग्य लिएर आउँछ ’ भने ।

लुसियानो वरिन्केले सन् १९५० मा लेखेको पुस्तक ‘द मोस्ट इनक्रेडिबल वर्ल्ड कप स्टोरीज’ मा विश्वकपमाथि लेखिएको अध्यायमा यस्ता धेरै रोचक कुराहरु लेखेका छन् ।

बार्बोसाको मृत्यु ८ अप्रिल २००० मा भयो र उनी आफ्नो मृत्युअघि मानिसहरूलाई सधैं यसो भन्थे – हाम्रो देशमा कुनै पनि अपराधको अधिकतम सजाय ३० वर्ष हो । तर मैले ५० वर्षको सजाय भोगिसकेको छु, त्यो अपराधका लागि जुन मैले गरेकै होइन ।’

उरुग्वेका लागि पनि यो जित अप्रत्याशित थियो

यस पुस्तकका अनुसार उरुग्वेको जित त्यहाँका मानिसहरूका लागि पनि यति अप्रत्याशित थियो कि आठ जनाको हृदयघातका कारण मृत्यु भयो । खेलका क्रममा पाँच जनाको ज्यान गएको थियो भने अन्तिम सिट्टी बज्दा तीन जनाको मृत्यु भएको थियो ।

अर्कोतर्फ, मार्काना रंगशालाका चिकित्सकका अनुसार खेलका क्रममा विभिन्न कारणले बेहोस भएका १६९ जनाको उपचार गरिएको थियो । जसमध्ये ६ जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको थियो । यसलाई रियो दि जेनेरियोको इतिहासमा सबैभन्दा दुःखद दिन मानिन्छ ।

लुसियानो वरिन्केको पुस्तकमा ब्राजिलको प्रहरी विभागबाट प्राप्त रिपोर्टका आधारमा करिब सय फ्यानले आत्महत्या गर्ने प्रयास गरेको बताइएको छ । यद्यपि यो जानकारी पुष्टि भएको छैन ।

यस विश्वकपमा पराजयपछि ब्राजिलले आफ्नो फुटबल टिमका लागि पहेँलो जर्सी लगाउन सुरु गरेको छ ।

घिग्गियाको ८८ वर्षको उमेरमा जुलाई १६, २०१५ मा उरुग्वेको एक अस्पतालमा निधन भयो । यो पनि एउटा रोचक संयोग थियो कि यो मार्कानामा विजयी गोलको ६५ औं वार्षिकोत्सव उनको निधन भएको थियो ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप