शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी यात्राबारे एकीकृत समाजवादीमा दुई धार !

आइतबार, १८ मङ्सिर २०७९, २३ : ०२
आइतबार, १८ मङ्सिर २०७९

नेकपा एमालेमा विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीमा मंसिर ४ को निर्वाचन नतिजापछि आगामी यात्राबारे दुई मत देखिएको छ । अपेक्षाकृत निर्वाचन नतिजा नआएपछि स्पष्ट ढंगले पार्टीको आगामी यात्रा तय गर्नुपर्ने केही नेताको बुझाइ छ भने केही नेताहरु तत्तकाल गठबन्धन गरेरै अगाडि बढ्न उपयुक्त हुने बताइरहेका छन् ।

पार्टीका शीर्ष नेताहरु नै पराजित भएको भन्दै विचार मिल्नेसँग तत्काल पार्टी एकता वा गठबन्धन गर्नुपर्ने पार्टीको एक पक्षले बताइरहँदा अर्को पक्ष भने तत्काल पार्टी एकता वा फरक गठबन्धनको सम्भावना नरहेको भन्दै त्यसबारे कुनैपनि प्रक्रिया समेत सुरु गर्न तयार भएको छैन ।

‘निर्वाचन अघि गरिएको गठबन्धनको औचित्य निर्वाचन सकिएसँगै एक हिसाबले सकिएको छ । अव त्यसैलाई निरन्तरता दिइरहनुपर्छ भन्ने छैन’, एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन्, ‘नयाँ परिस्थितिमा नयाँ ढंगले र विचार सिद्धान्त मिल्नेसँग सहकार्य गर्दा राम्रो हुन्छ भन्ने मेरो बुझाइ हो ।’

ती नेताले आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै प्रश्न गरे, ‘अहिलेको गठबन्धनमा चुनावमा पनि त्यति इमान्दारिता देखिएन अनि विचार र सिद्धान्त पनि मिल्दैन भने किन बसिरहरने ? किन विकल्प नखोज्ने ?’ तर सम्मानित नेता झलनाथ खनाल निर्वाचनमा पराजित भएका केही नेताले आक्रोशमा पार्टी एकता वा गठबन्धनको विकल्प खोज्नुपर्छ भनेपनि त्यो क्षणिक आवेशमात्र भएको बताए । उनले पार्टीले लिने विचार र सिद्धान्त स्पस्ट हुनुपर्नेमा विवाद नरहेकोमा आफू सहमत रहेको बताए ।  

‘पार्टीको विचार र सिद्धान्त स्पस्ट हुनुपर्छ त्यसमा विवाद छैन तर कसैले निर्वाचन हारेको झोंकमा पार्टी एकता वा अर्को गठबन्धन पनि भने होलान् तर त्यो क्षणिक आक्रोशबाहेक केही होइन’, खनालको भनाइ छ ।   ​खासगरी अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरू तत्काल अर्को गठबन्धन बनाउने तथा पार्टी एकता पनि गरिहाल्ने पक्षमा देखिएका छैनन् । माओवादीसँग पार्टी एकताबारे पार्टीकै नेताहरूले गरेको चर्चामा कुनै सत्यता नभएको महासचिव वेदुराम भुसालले शुक्रबार जारी गरेको विज्ञप्तिबाट पनि पुष्टि भएको छ ।

महासचिव भुसालले जारी गरेको विज्ञप्तिमा नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुँदैछ भनेर गरिएको प्रचारप्रति कुनै सत्यता नरहेको उल्लेख छ । ‘नेपाली कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउनुपर्ने आवश्यकता छ भन्नेमा हामी प्रस्ट छौ तर अहिले त्यससम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा सम्वाद केही पनि भएको छैन’, समाजवादीले भनेको छ, ‘हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकोले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ ।’

महासचिव भुसालले कतिपय नेताहरुले नै ‘एमाले र माओवादीसँग पार्टी एकता हुँदैछ’ भनेर गरेको प्रचार गलत भएकाले विज्ञप्ति निकाल्नुपरेको बताए ।

‘हामी नेपाली कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउनुपर्छ भन्ने कुरामा एकमत छौ, तर अहिले नै हामी एकता प्रक्रियामा गएका छैनौँ भन्ने हो’ भुसालको भनाइ छ । उनले निर्वाचन अघि पार्टी एकताका लागि वार्ता कमिटी गठन गर्ने भनिएपनि त्यस्तो कमिटी समेत गठबन्धन नभएको बताए ।

‘पार्टी एकताका लागि दुवै पार्टीबाट सम्मिलित पार्टी एकता संयोजन समिति बनाउने भनिएको हो तर त्यस्तो कमिटी गठन गरिसकेको अवस्था होइन’, भुसालको भनाइ छ ।  सम्मानित नेता झलनाथ खनाल पनि तत्काल पार्टी एकता सम्भव नभएको बताउँछन् ।

‘भर्खर निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको समग्र समीक्षा भएको छैन, अहिले हतारहतारमा के को एकता ?’, खनालले भने, ‘पार्टीको विचार, सिद्धान्त, संगठन, निर्वाचन परिणामलगायत समग्रमा रिभ्यु गरिन्छ ।’ नेता खनालले त्यसपछि आवस्यकता अनुसार पार्टी निर्णय गरेर अघि बढ्न सकिने बताए ।

नेकपा एकीकृत साजवादीले निर्वाचनको समग्र समिक्षाका लागि मंसिर २५ गतेभित्र जिल्ला र प्रदेश कमिटीहरुलाई केन्द्रमा रिपोर्ट पठाउन निर्देशन दिएको छ । ‘हामीले मंसिर २५ भित्र रिपोर्ट पठाउन पार्टी कमिटीलाई भनेका छौ । सो समयमा देशभरको रिपोर्ट आयो भने तत्काल बैठक बसेर समीक्षा हुन्छ’, महासचिव भुसालको भनाइ छ ।

तर, नेता मुकुन्द न्यौपाने, उपमहासचिव जगन्नाथ खतिवडा तथा सचिव रामकुमारी झाँक्री लगायतका केही नेताहरु सकभर चाँडो पार्टी एकता गरेर अघि बढ्नुपर्ने पक्षमा छन् । उनीहरु एमाले वा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपर्ने पक्षमा छन् । केही दिन अघिमात्रै सचिव रामकुमारी झाँक्रीले एमाले नेताहरु विष्णु पौडेल र खिमलाल भट्टराईसँग बसेको तस्वीर नै सार्वजनिक गर्दै उक्त तस्विरमा सन्देश रहेको बताएकी थिइन् ।

सचिव झाँक्री गुल्मी २ मा प्रतिनिधि सभा सदस्यकी उम्मेदवार रहेपनि एमाले सचिव गोकर्ण विष्टसँग पराजित भएकी थिइन् । झाँक्रीमात्रै होइन सम्मानित नेता झलनाथ खनाल र उपमहासचिव जगन्नाथ खतिवडाले पनि यो निर्वाचनमा पराजय भोगेका छन् । कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका १९ उम्मेदवारमध्ये १० जनामात्रै निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप