शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप २०२२ को समूह चरण: अनपेक्षित नतिजा लगायत अरू के केको बन्यो रेकर्ड ?

शनिबार, १७ मङ्सिर २०७९, २१ : ४९
शनिबार, १७ मङ्सिर २०७९

पहिले भन्दा धेरै अनपेक्षित नतिजा निकाल्दै यस पटकको विश्वकपको समूह चरण खेल सकिएको छ । यसले विश्वकप अब कसरी अगाडि बढ्नेछ भन्ने एक तस्बिर प्रस्तुत गरेको छ । 

समूह चरणमा मैदानमा उत्कृष्ट प्रदर्शन देखिए, साथै अनपेक्षित नतिजा पनि । केही प्रमुख खेलाडीहरू तिनका फर्ममा फर्किएका छन् जसले आगामी नकआउट चरण पनि रोचक हुने देखाएको छ । 

त्यसो भए, यस प्रतियोगिताको पहिलो खण्डले दिने पाठहरू के के रह्यो त ? पहिलो त परिणामले कोही पनि सुरक्षित नरहेको देखायो । बेल्जियम र जर्मनीबाहेक प्रतियोगिताका अन्य दाबेदार समूह चरणबाट माथि गए पनि तिनको यात्रा सहज रहेन । पहिलो अनपेक्षित नतिजा विश्वकपको तेस्रो दिने देखियो, जब वरियतामा ५१औँ स्थानमा रहेको साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरिदियो ।  

एक दिनपछि जापानले जर्मनीलाई पराजित गरेर यस्तै नतिजा निकाल्यो । प्रारम्भमा पेनाल्टी गोलबाट पछि परेको जापानले पुनरागमन जित हासिल गरेको थियो । अन्तिम खेलमा पनि स्पेनविरुद्ध आफ्नो पुनरागमन दोहोर्‍याउँदै जापानले समूहको शीर्ष स्थानमा हासिल गर्‍यो । जर्मनी र स्पेनलाई हराएको जापान आफै भने कोस्टारिकासँग पराजित हुनु पनि यस प्रतियोगिताको अर्को अनपेक्षित नतिजा रह्यो । 

यस विश्वकपमा बेल्जियमको क्षय थप स्पष्ट भयो । तिनको ब्याकलाइनको कमजोरी मोरक्कोको जीवन्त प्रदर्शनमै देखिएको थियो । सो कमजोरी पुर्न नसक्दा फिफा वरियतामा दोस्रो स्थानमा रहेको रोबर्टो मार्टिनेजको टोली प्रतियोगिताबाटै बाहिरिन पुग्यो । 

फ्रान्स र ब्राजिल पनि आश्चर्यजनक नतिजाबाट अछुतो रहेनन् । ट्युनिसियासँग फ्रान्सको १–० को पराजय डिडियर डेसच्याम्प्सले आफ्नो सुरुवाती लाइनअपमा नौ वटासम्म परिवर्तन गरेपछि आएको हुन सक्छ । तर यसले अघिल्लो विश्वकपको च्याम्पियनको हतियारमा केही कमजोरी देखायो । ब्राजिलको हकमा पनि यही कुरा लागू हुन्छ, जसले क्यामरुनसँग १–० ले हार्दा नौ वटा परिवर्तनहरू थियो ।

निल्सन ग्रेसनोटको विश्लेषण अनुसार, ब्राजिलमाथि क्यामरुनको विजय १२ औँ अनपेक्षित परिणाम थियो (जसमा क्यामरुनको जितको सम्भावना १६.७% र ३३.३% बीच थियो) । सन् २०२२ को विश्वकपमा देखिएको अनपेक्षित नतिजाको सङ्ख्याले सन् २००२ र २०१० को विश्वकपमा कायम भएको नौ अनपेक्षित परिणामको कीर्तिमान तोडेको छ । 

साउदी अरेबियासँग अर्जेन्टिनाको हार को सम्भावना ८.७% मात्र रहेको थियो । ब्राजिलियन टोली दोस्रो चरणको लागि छनौट भइसकेको भए पनि उ क्यामरुनसँग पराजित भयो । त्यस खेलमा क्यामरुनले ब्राजिललाई हराउने सम्भावना ५.९% थियो । खेलमा ब्राजिलले १० परिवर्तन गरेको हो ।

अन्तमा, विश्वकपको इतिहासमा पहिलो पटक ६ महादेशका राष्ट्रहरू नकआउट चरणमा प्रवेश गरेका छन् ।

ठुला नाम अझै प्रतियोगितामा कायम छन् ...

विश्वकप अघि धेरैले सुपरस्टारको क्षमतालाई लिएर प्रश्न सोधेका थिए । के तिनले मरुभूमि प्रधान यस मुलुकमा हुन लागेको प्रतियोगितामा पनि क्षमता देखाउँछन् सक्छन् ? प्रश्नका बाबजुद धेरै सुपरस्टारले पुन प्रमाणित गरेका छन् । 

प्रतियोगिताको पहिलो खेलमा निराशाजनक प्रदर्शन गरे पनि लियोनेल मेस्सीले मेक्सिको विरुद्धको महत्त्वपूर्ण खेलका सुरुवाती गोल गरे । त्यसपछि पोल्याण्ड विरुद्धको खेलमा पेनाल्टी मिस गरे पनि उनले राम्रो खेल प्रदर्शन गरे ।

मेस्सीका लामो समयदेखिका प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोले भलै अहिले क्लब फुटबलमा समस्या भोगिरहेका छन् तर पोर्चुगलको लागि मैदानमा भने चम्किएका छन् । ३७ वर्षीय खेलाडीले घानाविरुद्ध पेनाल्टीमा गोल गरे । यो गोलसँगै उनी पाँच वट विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने । 

उरुग्वेविरुद्धको जितमा ओपनर गोलमाथि दाबी गर्दै खुसी व्यक्त गरेको भए पनि मिहिन अवलोकनमा ब्रुनो फर्नान्डिसको क्रसले रोनाल्डो निधारमा नछोएको देखियो । 

रोबर्ट लेवान्डोस्की पनि यस विश्वकपको सफल सुरपस्टारको समूह सामेल भइसकेका छन् । पोल्याण्डको लागि हालसम्मको स्थिति रोमाञ्चक भन्न मिल्ने खालको रहेन तथापि देशलाई सन् १९८६ पछि पहिलो पटक अन्तिम १६ मा छनोट गर्न मद्दत गर्ने क्रममा लेवान्डोस्कीले विश्वकपमा पहिलो गोल गरेका छन् । 

तर अर्को पुस्ता उदाउँदैछ

किलियन एमबाप्पेबारे धेरै लेखिइसक्यो । यस पटक पनि यी फ्रान्सेली फरवार्डले निराश पारेका छैनन् । उनको उत्प्रेरक प्रदर्शन र समूह चरणमा गरिएका तीन गोलले उनले आफ्नो टोलीको अन्तिम १६ को स्थान सुनिश्चित गरे । 

स्पेनको गतिशील युवाहरूको ब्यान्डले पनि कहिलेकाहीँ रोमाञ्चित गर्‍यो । कोस्टारिकाविरुद्धको ७–० को जित निकाल्दा १७ वर्षीय गाभी ब्राजिलका लेजेन्ड पेलेपछि सबैभन्दा कान्छो विश्वकप गोलकर्ता बने ।

नेदरल्याण्ड्सका कोडी गाक्पो पहिले नै युरोपमा सबैभन्दा बढी माग भएका फरवार्डहरू मध्ये एक थिए । तर २३ वर्षीय यी खेलाडीले सन् २००२ पछि पहिलो पटक तीनै समूह खेलहरूमा गोल गर्ने युरोपेली देशका खेलाडी बनेर उनको मूल्य थप बढाएको छ ।

क्यानडाका अल्फोन्सो डेभिस, घानाका मोहम्मद कुदुस र इङ्गल्याण्डका जोडी फिल फोडेन र बुकायो साकाले सबैभन्दा ठूलो स्टेजमा आफ्नो प्रतिभालाई उजागर गरे । 

अर्का इंग्ल्यान्डका खेलाडी, जुड बेलिङ्घम इरानविरुद्धको ६–२ को जितमा गरेको गोल र समग्र प्रदर्शनको बलमा नयाँ स्टारको रूपमा उदाएका छन् । उनको प्रदर्शनको बलमा इंग्ल्याण्ड समूह बीमा शीर्ष स्थानमा रह्यो ।

ब्राजिल अझै सबैभन्दा बलियो दाबेदार देखिन्छ

विश्वको शीर्ष स्थानमा रहेको ब्राजिलियन टोलीले युरोपेली प्रतिद्वन्द्वी सर्बिया र स्विट्जरल्याण्डलाई हरायो भने व्यापक परिवर्तन भएको टोली भने क्यामरुनसँग पराजित भयो ।

बीबीसी पण्डित क्रिस सट्टनले सर्बियामाथिको २–० को जितलाई ‘वास्तविक क्षमताको प्रदर्शन’को रूपमा वर्णन गरे, रिचार्लिसनको शानदार दोस्रो गोलले ब्राजिल अझै दावेदार हो संकेत गर्‍यो । 

चोटका कारण नेयमार गुमाए पनि भिनिसियस जुनियर र राफिन्हा चम्किरहेका छन् । त्यसमाथि ग्याब्रियल मार्टिनेली र एन्टोनी रिजर्भमा छन् । यसले पनि यो टोलीको इर्ष्यालाग्दो गहिराइ देखाउँछ । 

त्यसमाथि पेरिस सेन्ट–जर्मन फरवार्ड नेयमार स्पेन र अर्जेन्टिनविरुद्धका सम्भावित खेलमा फर्किन सक्ने भएकाले तिनको फाइनलको मार्गलाई थप सहज बनाउनेछ ।

सदाबहार थियागो सिल्भाको नेतृत्वको तिनको ब्याकलाइन र क्लब स्तरमा हरेक कुरा जित्ने फर्ममा रहेका कासेमिरो र जहाँबाट पनि गोल गर्न सक्ने खेलाडी रहेको ब्राजिल यस पटकको सम्भवतः सबैभन्दा बलियो दाबेदार हो ।

समूह चरणबाट जे देखियो 

–लामो खेल अवधिः अहिलेसम्म, विश्वकप फुटबलमा ५२५ मिनेट थपिईसकेको छ । त्यो लगभग ६ सिङ्गो खेल बराबर हो । फ्यानहरूले पक्कै तिनको पैसा अनुरूपको मनोरञ्जन पाइरहेका छन् !

–अघिल्ला दुई विश्वकपको तुलनामा न्यु गोलहरू, विशेष गरी पहिलो हाफमा: यस विश्वकपको समूह चरणमा प्रति खेल २.५ गोल भयो जुन पछिल्ला तीन विश्वकपहरूमा सबैभन्दा कम हो । गोलमध्ये पनि ३६ प्रतिशत पहिलो हाफमा भए ।

– टोली थोरै तर राम्रो सट हानिरहेका छन् : यस विश्वकपमा प्रति म्याच २२.५ सट हानिए, तर तीमध्ये ११.२प्रतिशत गोलमा परिणत भए, जुन हालसम्मकै राम्रो हो । तथापि रेकर्ड थोरै अर्थात् ८ प्रतिशत गोलहरू डी–बक्स बाहिरबाट भए ।

–टिमहरू बढी पास खेलिरहेका छन्– प्रति खेल औसत ९६० पासहरू कुनै पनि विगतका विश्वकपमा भन्दा बढी हो ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप