बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बागमती प्रदेशमा सत्ता गठबन्धनको बहुमत : मुख्यमन्त्रीमा क–कसको दाबी ?

शनिबार, १७ मङ्सिर २०७९, १७ : ५३
शनिबार, १७ मङ्सिर २०७९

बागमती प्रदेशमा प्रत्यक्षतर्फ ६६ सिटका लागि निर्वाचन सम्पन्न भएको छ  । ४४ सामानुपतिकसहित प्रदेशसभामा ११० जना सांसद रहनेछन् । गत निर्वाचनमा प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको कांग्रेस अहिले पहिलो दल बनेको छ । यसअघि पहिलो स्थानमा रहेको एमाले भने तेस्रो स्थानमा पुगेको छ । माओवादी केन्द्र भने यसअघिकै स्थानमा कायम छ ।

प्रत्यक्ष तर्फको सिट हेर्दा सरकार गठनको लागि बागमती प्रदेशमा सत्ता गठबन्धनको बहुमत पुग्ने देखिएको छ । दोलखाको २ वटा क्षेत्रको बाहेक १२ जिल्लाको ६४ वटा क्षेत्रको मतगणना सम्पन्न हुँदासम्म कांग्रेसले प्रत्यक्षतर्फ २४ सिट जितेको छ भने माओवादी केन्द्रले १४, एकीकृत समाजवादीले ५ गरी कुल ४३ सिट जितेको छ ।

त्यस्तै प्रत्यक्ष तर्फ एमालेले १२ सिट जित्दै तेस्रो ठुलो दल भएको छ भने राप्रपाले ७, नेकपा हाम्रो नेपाली पार्टीले १ र नेपाल मजदुर किसान पार्टीले १ स्थानमा विजय हासिल हात पारेको छ । ११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा सरकार निर्माणका लागि ५६ सिट आवश्यक छ । दोलखाको २ क्षेत्रको परिणाम आउन बाँकी रहँदा पनि प्रत्यक्षमा पाएको सिट र समानुपातिकमा प्राप्त मतका आधारमा सत्ता गठबन्धनलाई सरकार बनाउन स्पष्ट बहुमत देखिएको छ ।

समानुपातिकसहित सरकार बनाउन ५६ सिट आवश्यक भएकाले सत्ता गठबन्धनलाई समानुपातिक तर्फबाट बाँकी १३ सिट प्राप्त हुने निश्चित छ । समानुपातिकबाट १३ सिट सहजै पुग्ने भएकाले गठबन्धनकै सरकार निर्माण हुने लगभग पक्का छ ।

हालसम्म समानुपातिकतर्फ पहिलो स्थानमा रहेका कारण एमाले समग्रमा भने दोस्रो दलको हैसियतमा प्रदेशसभामा रहने देखिन्छ । गत निर्वाचनमा २ सिटमा सीमित राप्रपाले यसपटक आकार बढाएको छ । यसअघिका २ सांसद पनि समानुपातिक मतबाट छनोट भएका थिए । अहिले राप्रपाका ५ जना उम्मेदवार प्रत्यक्षबाटै निर्वाचित भइसकेका छन् । यसबाहेक, हाम्रो नेपाली पार्टीले १ सिटमा विजयी हुँदै नयाँ दलका रूपमा सदनमा प्रवेश पाएको छ ।

कुल ११० सदस्यीय बागमती प्रदेशसभामा ४४ सदस्य समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ । बागमतीमा समानुपातिकतर्फ कुल १८ लाख ५७ हजार ९६६ मत गणना भएको छ । यो प्रदेशमा समानुपातिकतर्फ एमाले पहिलो, कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो दल बनेको छ ।

प्रत्यक्षमा २४ सिट जितेको कांग्रेसले बागमतीमा समानुपातिकबाट १२/१३ सिट पाउने देखिएको छ । यस्तै, प्रत्यक्षमा १२ सिट जितेको एमालेले समानुपातिकमा १४/१५ सिट पाउने देखिन्छ ।

यसैगरी प्रत्यक्षमा १४ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा ६/७ सिट, प्रत्यक्षमा ७ सिट जितेको राप्रपाले समानुपातिकमा पनि ६/७ सिट पाउने भएको छ । प्रत्यक्षमा १ सिट जितेको नेमकिपाले समानुपातिकमा २ सिट, प्रत्यक्षमा ५ सिट जितेको नेकपा एकीकृत समाजवादीले समानुपातिकमा १ सिट र प्रत्यक्षमा एक सिट जितेको हाम्रो नेपाली पार्टीले समानुपातिकमा पनि १ सिट पाउने अवस्था अहिलेसम्मको मत परिणामले देखाएको छ ।

जसले गर्दा सत्ता गठबन्धनलाई सरकार बनाउन आवश्यक १३ मत समानुपातिक तर्फ कांग्रेसले एकल रूपमा नै पुरा गर्न सक्ने देखिन्छ । उता एकीकृत समाजवादीको एक र माओवादी केन्द्रले समानुपातिक तर्फ १ र ६ सिट मात्र पाएको खण्डमा पनि सत्ता गठबन्धन ६३/६४ सिट पुग्ने देखिन्छ ।

सत्ता गठबन्धनलाई रोक्न एमाले गठबन्धनलाई  १५ सिट अपुग

बागमती प्रदेशमा यस अघि एमालेले एकल बहुमतको सरकार गठन गरेको थियो । एमाले माओवादी केन्द्रको गठबन्धनबाट बनेको नेकपा कायम हुँदा एमालेका डोरमणि पौडेलले करिब करिब दुई तिहाइको सरकारको नेतृत्व गरेका थिए ।

सो समयमा एमालेका ५८ र माओवादी केन्द्रका २३ जना सांसदको समर्थन पौडेललाई थियो । तर, त्यो बहुमत ३ वर्ष मात्र टिक्न सक्यो । सरकार गठनको ३ वर्ष पुरा हुँदा उनले सो बहुमत गुमाए । माओवादी केन्द्र सरकारबाट अलग भएपछि प्रदेशमा एमाले कै नेतृत्वमा स्पट बहुमत सदस्यको समर्थनमा पौडेलले नै मुख्यमन्त्री बने । सो सरकार करिब ६ महिना पुरा नहुँदै एमाले विभाजन भयो । एमालेको विभाजन रोक्न र सरकार जोगाउन पौडेलले सरकारको नेतृत्व पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई सुम्पिए । तर, एमाले विभाजनलाई त्यसले टार्न सकेन । विभाजनपछि ५७ सांसद रहेको एमाले ४४ जनामा मात्र सीमित भयो । १३ जना सांसदले एमाले छोडेर एकीकृत समाजवादी रोजे ।

४४ सांसदमा सीमित भएपछि एमालेको सरकार अल्पमतमा पर्‍यो र २०७८ कात्तिक ११ गते सत्ता गठबन्धनको नेतृत्वमा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बने ।

यस पटक भने एमालेले सरकारको नेतृत्व गर्ने सम्भावना न्यून देखिन्छ । हालै सम्पन्न निर्वाचनमा प्रत्यक्ष तर्फ १२ सिट जितेको एमालेले समानुपातिक तर्फ १५ सिट जिते पनि २७ सिट मात्र पुग्छ । एमालेसँग गठबन्धनमा रहेको राप्रपाको समर्थन पाए पनि सरकार गठनको लागि बहुमत पुग्ने अवस्था छैन ।

प्रत्यक्ष तर्फ ७ सिटमा जित निकालेको राप्रपाले समानुपातिक तर्फ ७ सिट नै पाएको खण्डमा १४ सिट पुग्छ । एमालेको गठबन्धनमा सो सिट जोडिदा जम्मा ४१ सिट मात्र पुग्छ । सरकार गठनका लागि एमालेलाई १५ सिट पुग्दैन ।

यी हुन् मुख्यमन्त्रीको आकाङ्क्षी

बागमती प्रदेशको आगामी मुख्यमन्त्रीका लागि ४ वटा दलबाट ६ जनाको दाबेदारी रहेको छ । मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनको दलहरूबाट ४ जना र एमालेबाट २ जनाले आकाङ्क्षा व्यक्त गरेका छन् ।

सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल कांग्रेसबाट इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामा मुख्यमन्त्रीका दाबेदार छन् भने माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्मा खनाल एक्ला दाबेदार हुन् ।

त्यस्तै एमालेबाट केशवप्रसाद पोखरेल, जगनाथ थपलिया आकाङ्क्षी रहेका छन् । निर्वाचन अघि नै बागमती प्रदेशको दाबेदारको रूपमा रहेका एमालेका उम्मेदवार सानुकुमार श्रेष्ठ, रामेश्वर फुयाँल र देवी ज्ञवाली पराजित भएपछि उनीहरूले आकाङ्क्षा देखाएका हुन् । काठमाडौँ–२ (क) बाट उम्मेदवार रहेका श्रेष्ठ प्रदेशका निवर्तमान सभामुख हुन् भने काठमाडौँ–३ (ख)बाट उम्मेदवार रहेका फुयाँल प्रदेशको पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रहेका थिए । चितवन–२ (ख)बाट चुनावी प्रतिस्पर्धा गरेका ज्ञवाली एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेका थिए । उनीहरू तिनै जना पराजित भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप