शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी काँग्रेसमा संसदीय दलको नेता बन्न थापा र पाण्डे भिड्दै

शनिबार, १७ मङ्सिर २०७९, १७ : ०७
शनिबार, १७ मङ्सिर २०७९

प्रत्यक्षतर्फ १७ सिटमा जित हासिल गर्दै गण्डकी प्रदेशमा सबैभन्दा ठुलो पार्टी बनेको नेपाली काँग्रेसभित्र संसदीय दलको नेता बन्न नेताहरुबीच दौडधुप सुरु भएको छ । दलको नेता बन्न नेताहरुमध्ये गण्डकी प्रदेशको काम चलाऊ सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा र नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे प्रबल दाबेदारका रूपमा अघि सरेका छन् । 

थापा कास्की २ (ख) बाट दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् भने पाण्डे गोरखा क्षेत्र नं. २ (ख) बाट निर्वाचित भएका हुन् । पाण्डे यसअघि राष्ट्रिय सभाका सांसद थिए । गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने दाउमा रहेका यी दुवै नेता संस्थापन समूहका नेता हुन् । संसदीय दलको नेता बन्न दुवै नेता शक्तिकेन्द्र धाउन थालेका छन् । दलको नेता चुनिएपछि मुख्यमन्त्री बन्ने बाटो खुल्छ । त्यसैले दुवै नेता मुख्यमन्त्री बन्ने दाउमा दलको नेता चुनिने कसरतमा छन् ।

ठुलो दल नेपाली काँग्रेस भएकाले उसकै नेतृत्वमा सरकार गठन हुनेमा दुवै नेता विश्वस्त छन् । उता शेखर समूहले नवलपुर महेन्द्रध्वज जि.सी. वा स्याङ्जाका भोजराज अर्यालमध्ये एक जनालाई संसदीय दलको नेतामा अघि सार्ने सम्भावना पनि देखिन्छ ।  ‘प्रदेशको केन्द्र (राजधानी) पोखराको समग्र विकास विना समृद्ध प्रदेश बन्न सक्दैन,’मुख्यमन्त्रीका आकाङ्क्षी मन्त्री थापाले भने, ‘तर यसअघि राजधानी पोखरा बाहिरको सांसद मुख्यमन्त्री हुँदा केन्द्रको थयोचित विकास हुन सकेन । त्यसले अबको मुख्यमन्त्री पोखराबाटै हुनुपर्छ भन्ने मेरो दाबी रहन्छ ।’ 

उता नेकपा एमालेले संगठन विभाग प्रमुख समेत रहेको पूर्वमन्त्री खगराज अधिकारीलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारे पनि गण्डकी प्रदेश सभामा गठबन्धनको बहुमत छ । अल्पमत अर्थात् १२ सिटमा खुम्चिएको एमालेले सरकार बनाउने सम्भावना न्यून छ ।  अहिलेसम्म प्रदेश सभामा नेपाली काँग्रेस १७, नेकपा एमाले १२, नेकपा माओवादी ४, माओवादीकै चुनाव चिन्हमा चुनाव लडेको जसपा १, स्वतन्त्र सांसद १ गरी ३५ जनाले सांसद छन् । प्रत्यक्षतर्फ ३६ सिट रहेको गण्डकी प्रदेशसभामा स्याङ्जा २ (क) को परिणाम आउन बाँकी छ । २४ सिटको समानुपातिकतर्फ नेपाली काँग्रेस ८, नेकपा एमाले ९, नेकपा माओवादी ४ र बाँकी ३ सिट अन्य दलको पाउने अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप