मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ सांसदको स्वागतको चटारोमा संघीय संसद् सचिवालय

यसरी गर्दैछ धमाधम काम (भिडियो रिपोर्ट)
शनिबार, १७ मङ्सिर २०७९, १४ : ४१
शनिबार, १७ मङ्सिर २०७९

सिंहदरबार स्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा शुक्रबार विनोद तामाङ बगैँचा बनाउने काममा व्यस्त थिए । उनी सहित ६ जनाको टोली चाइनिज दुबो लगाउने काममा व्यस्त थिए भने उनकै साथीहरूको अर्को टोली एमाले तथा कांग्रेसको संसदीय दलको कार्यालयमा रङ रोगनको काममा व्यस्त थिए । शुक्रबार संसद् सचिवालय परिसरमा सरसफाइकर्मी, बगैँचाका माली लगायतका कर्मचारी संसद् सचिवालयलाई सफा र आकर्षक बनाउन खटिएका थिए । 

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा आउनै लाग्दा संघीय संसद् सचिवालयले नयाँ सांसदहरूको स्वागतका लागि तयारी तीव्र पारेको हो । सिंहदरबारस्थित संसद् सचिवालयको कार्यालय र नयाँ बानेश्वरस्थित भाडाको संसद् भवनमा रङ रोगन गर्ने, बगैँचा सजाउने तथा कार्यालय व्यवस्थापनको काम अघि बढाएको हो । 

निर्वाचन आयोगबाट आधिकारिक रूपमा विवरण नआए पनि संसद्मा केही नयाँ दलको समेत प्रवेश हुने भएपछि संसद् सचिवालय संसदीय दलको कार्यालय व्यवस्थापनमा जुटेको संघीय संसद्का प्रवक्ता डा.रोजनाथ पाण्डेले रातोपाटीलाई बताए । 

उनले भने–‘हामीले निर्वाचन आयोगको आधिकारिक पत्र नपाए पनि निर्वाचनको परिणाम हेर्दा संघीय संसद् सचिवालयले दलहरूको व्यवस्थापनका लागि विभिन्न कसरत गर्नुपर्ने भएकोले हामी त्यसको तयारीमा जुटेका छौँ । अहिले सभाहलहरुलाई मर्मत गर्ने, यसलाई रङ रोगन गर्ने र स्वास्थ्य मापदण्ड अनुसार यसलाई व्यवस्थापन गर्ने काम भइरहेको छ । संसद् भवनबाट गरिने लाइभ प्रसारणको परीक्षण गर्ने काम भइरहेको छ ।’

दुई मात्र सांसद भएको पार्टीलाई संसदीय दलको कार्यालय खोल्न पाउने कानुनले व्यवस्था गरेअनुसार उनीहरूको कार्यालयका लागि खाली ठाउँ र फर्निचरहरूको व्यवस्था गर्न जुटिरहेको प्रवक्ता पाण्डेले बताए । सिंहदरबार परिसर भित्र रहेका हेलो सरकारको कार्यालय भवन उपयुक्त भएकोले त्यसको व्यवस्था मिलाउन मुख्य सचिवलाई आग्रह गरेको प्रवक्ता पाण्डेले बताए । 

उनले भने–‘त्यसका लागि अहिले हामीसँग सिंहदरबारमा भएका कोठाहरूले पुग्दैन बानेश्वरमा पनि अन्य निकायहरू बसेको हुनाले हामीलाई कोठाहरूको अभाव छ । तैपनि भएका कोठाहरू र अरू थप कोठाहरू सिंहदरबारमा उपलब्ध गराउनका लागि हामीले सहरी विकास मन्त्रालयका सचिवसँग छलफल गरेका थियौँ । मुख्य सचिवलाई पत्राचार गरेर सिंहदरबारभित्र पुनर्निर्माण प्राधिकरणले बनाएको प्रिफ्याव भवनहरू, हेलो सरकारले प्रयोग गरेको भवन लगायतमा खाली ठाउँ रहेकोमा सो उपलब्ध गराउनका लागि हामीले अनुरोध गरेका छौँ ।’

हेलो सरकारको कार्यालयलाई संसदीय दलको कार्यालय बनाउने, राप्रपासहित ४ पार्टीका लागि 

नयाँ आउने दलका लागि कार्यालय खोल्न २२ कोठा चाहिने अनुमान गरिएको छ । सचिवालयले नयाँ गृह मन्त्रालय भवनछेउ रहेको हेलो सरकारको कार्यालय राखिएको प्रिफ्याव भवनलाई नयाँ दलका लागि संसदीय दलको कार्यालय बनाउन मुख्य सचिवलाई आग्रह गरेको छ । हेलो सरकारको कार्यालयका लागि थोरै मात्र कोठा भए पुग्ने भएको हुनाले अन्यत्र सार्न सकिने विकल्प प्रस्तुत गरिएको छ । 

प्रतिनिधि सभामा ४ नयाँ दलको प्रवेशसँगै संघीय संसद् सचिवालयले ती दलका लागि कार्यालय व्यवस्थापन गर्न लागेको हो । यसअघि नै संसद्मा रहेका दलहरूका लागि उनीहरूले अघिल्लो कार्यकालमा नै उनीहरूले प्रयोग गर्दै आएको दलको कार्यालय दिइने भए पनि नयाँ दलका लागि व्यवस्था गर्नुपरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका लागि संसदीय दलको कार्यालय व्यवस्थापन गर्नु पर्नेछ । कांग्रेस, एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादीले भने यसअघि नै प्रयोग गर्दै आएको संसदीय दलको कार्यालय प्रयोग गर्नेछन् । 

यस्तै एक मात्र सांसद रहेका राजनीतिक पार्टी र स्वतन्त्र रूपमा निर्वाचित सांसदका लागि पनि सकेसम्म कार्यालयको व्यवस्था गर्ने संघीय संसद् सचिवालयले जनाएको छ । 

हेर्नुहोस् भिडियो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप