गाउँ (कविता)
बाँस झ्याङले सुशेली हाल्दैन
ढुकुरले ढुकुरकुर गर्दैन
स्यालहरु कराउँदैनन् हिजोआज
झ्याउँकीरीको गीत पनि सुनिँदैन
भाले बास्दैन हिजोआज !
खै सिम्मलको फूल फुलेको ?
बताससँगै जंगल–जंगल सिमलको भुवा डुलेको ?
घर छेउको ती खेतका गरामा धानको बाला झुलेको ?
खेत खलियान थियो
गाई वस्तु थिए
भेडा बाख्रा थिए
किसान गोठाले थियो जिन्दगी ?
ढिँकी—जाँतो थियो
हलो—कोदालो थियो
अभाव र मुस्किल थियो जिन्दगी
अनि पो जीवन्त थियो जिन्दगी !
गाउँ सहर पस्यो
गाउँ मुग्लान पस्यो
गाउँ खाडी पस्यो
गाउँ जापान पस्यो
गाउँ युरोप पस्यो
गाउँ अमेरिका पस्यो
गाउँ आज सम्पन्न भएको छ !
गाउँले मौलिकता बिर्सियो
त्यो गोरेटो बिर्सियो
त्यो जङ्गल बिर्सियो
खोल्सा–खोल्सी बिर्सियो !
गाउँ आज झिल्के भएको छ !
गाउँ आज सहर भएको छ !
गाउँ आज निरस भएको छ !
गाउँ आज उराठ लाग्दो भएको छ !
–नेदरल्यान्डस