कविता : क्रान्तिको समय
आस्था लुट्न मानव मनबाट
विश्वासको मन्दिर भत्काउँदै
जुकाहरु उठ्न सक्छन्,
रक्तपिपासु बन्दै
उपिया र उडुसहरुले
उठाउने छन् सुँडहरु
लुट्न र डस्नका लागि
सावधान परजीवी, परतन्त्रीहरु
क्रान्ति अझै बाँकी छ
न्यायको तराजुमा
चोरलाई चौतारी र साधुलाई सुली
सत्यलाई खोर
झुठलाई आसमानमा राज गराउने
न्याय मन्दिरका पूजारीहरु
तिम्रै हुक्का,
बारुद, तोप र मिसाइल बन्न सक्छ ।
सत्ता लिप्सामा
स्वार्थको सगरमाथा ठड्याउँदै
आफ्नै मपाईत्वमा
खरानीको व्यापार गर्न
आफ्नै घरमा डढेलो लगाउनेहरु
लामखुट्टे लखेट्न भनी आफैले
घरमा आगो सल्काउनेहरु
टुप्पामा बसी आफ्नै हाँगाको
फेद कति काट्छौ ?
लुकेको वाचालाई बचाउन
सारी लुटिदा ‘द्रोपदी’हरुको
कपटपूर्ण मौनताका ध्यानीहरु
शिष्यको औंला काट्न,
लम्किने महावीरहरु
क्रान्ति सकिएको छैन ।
विचारलाई संग्ल्याउँदै
सत्य, न्याय र समर्पणमा
कर्तव्य र भरोसाको गीत गाउँदै
अब मुक्तिको शंखघोष गर्दै
झुपडी झुपडीमा पुग्न,
मेची र कालीमा नवजीवन भर्दै
वनकुन्जमा लालीगुराँस फुलाउँदै,
चमेली र गौथलीको चोली फेर्न
हर्के र साइलाको टोपी फेर्न
समय अब क्रान्ति भएर
जन्मन बाँकी नै छ ।