शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कतारमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीले त्रिभुवन विमानस्थलमा सहज आवतजावतको सुविधा पाउने

वैदेशिक रोजगार विभाग, बोर्ड र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर
शुक्रबार, १६ मङ्सिर २०७९, २३ : ३६
शुक्रबार, १६ मङ्सिर २०७९

कतारमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरूले त्रिभुवन विमानस्थलबाट सहज आवतजावतको सुविधा पाउने भएका छन् । नेपाली व्यवसायी संघ कतारमा आबद्ध रहेर कतारमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सहज आवतजावतका लागि नेपाल सरकार र संघबीच सम्झौता भएको छ ।

आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको उपस्थितिमा वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्य, वैदेशिक रोजगार बोर्डकी निर्देशक मैया कँडेल र नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईंले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।  

उक्त सहकार्यसँगै अब नेपाली व्यवसायी संघ कतारमा आबद्ध रहेका नेपाली व्यवसायीहरूले त्रिभुवन विमानस्थलबाट आवतजावत गर्दा सहजिकरणको विशेष सुविधा पाउने छन भने संघले कतारमा रहेका प्रवासी नेपाली कामदारहरूको राहत, उद्दार, स्वदेश फिर्ता तथा पुर्नएकीकरणका लागि सरकारसँग सहकार्य गरेर काम गर्नेछ । 

कार्यक्रममा संघका उपाध्यक्ष नरेन्द्र भाटले व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएको सहज आवतजावतको मागलाई सम्वोधन गरेकोमा श्रम मन्त्रालय परिवारलाई आभार प्रकट गर्दै सम्झौता अनुसार वैदेशिक रोजगार बोर्ड, विभाग तथा सरोकारित निकायसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले नेपाली व्यवसायी संघ कतारले विगतदेखि नै प्रवासमा रहेका नेपाली कामदारहरूको उद्धार, राहत, स्वदेश फिर्तिदेखि लिएर आपत विपत पर्दा नेपाली दूतावाससँगको सहकार्यमा विभिन्न काम गर्दै आएकोमा अब सहकार्य थप मजबुत हुने विश्वास लिएको बताए । उनले भने– ‘कतारमा रहेका नेपाली व्यवसायीहरूलाई त्यहाँको विमानस्थलमा सहज आवात जावतको सुविधा हुँदा आफ्नै देशको विमानस्थलमा भने झन्झट व्योहोर्नुपर्ने अवस्था यो सहकार्यसँगै अन्त्य हुनेछ ।’ 

श्रममन्त्री शेरबहादुर कुँवरले स्वदेश तथा विदेश जहाँ रहे पनि आफ्ना नागरिकको सुरक्षा र हकहित प्रदान गर्नु सरकारको दायित्व भएको बताउदै प्रवासमा व्यवसाय गरिरेहका व्यवसायीहरुले आफ्नै देशमा आउँदा जाँदा भोग्नुपरेको अप्ठ्यारोलाई सहजीकरण गर्ने  उद्देश्यले यो सहकार्य गरेको बताए ।   

नेपालबाट श्रम स्वीकृति लिई गएका र कतारमा प्रवासी व्यवसायीका रुपमा रहेका नेपालीहरूको आवतजावतका केही असहज प्रकृया अन्त्य गरी विभागबाट परिचय पत्र प्रदान गर्ने र नेपाली कामदारहरूको उद्दार, राहत, स्वदेश फिर्ती तथा पुर्नएकीकरणका लागि तीनै पक्षले सहकार्य गर्ने कुरा हस्ताक्षर गरिएको पत्रमा उल्लेख गरिएको छ । 

साथै त्रिपक्षीय सम्झौताले वैदेशिक रोजगारमा जाने कामदारको हकहितको संरक्षण, सुरक्षित वैदेशिक रोजगार सम्बन्धी आधिकारिक सूचना संप्रेषण, श्रम स्वीकृति उपलब्ध गराउने, कामदारलाई गन्तव्य मुलुकमा समस्या परेमा उद्दार गर्ने, राहत प्रदान गर्ने र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनएकीकरण सम्बन्धि नेपाल सरकारको कार्यलाई सहयोग मिल्ने अपेक्षा सरकारले लिएको जनाइएको छ । 

हस्ताक्षर गरेको सम्झौता पत्रको समय २ वर्षको हुने छ । साथै तिनै पक्षको सहमतिका आधारमा समय सीमा थप गर्न सकिने कुरा पनि पत्रमा उल्लेख गरिएको छ । त्यस्तै सम्झौता पत्रमा उल्लेख गरिएका कुरालाई समय अनुसार संशोधन वा परिमार्जन गर्नु परेमा तिनै पक्षको समझदारीको आधारमा अगाडि बढाउने सहमति भएको छ ।  पत्रमा तिनै पक्षले आ आफ्नो क्षेत्रबाट गर्नुपर्ने कामलाई स्पष्ट उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप