बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

प्रेरक प्रसङ्ग :  भोको ब्वाँसोको दुर्गति

शुक्रबार, १६ मङ्सिर २०७९, १९ : २८
शुक्रबार, १६ मङ्सिर २०७९

आशा गर्नुहुन्न र आशा गर्नुपर्छ भन्ने कुरा निकै पहिलेदेखि भन्दै र सुनिँदै आएको हो । यसलाई कतिपय भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । संसारमा आशा गर्नु हुन्न भन्नेहरू पनि छन् आशावादी हुनुपर्छ भन्नेहरू पनि छन् । खास गरी अध्यात्मवादी पण्डितहरू आशा गर्नु हुँदैन भन्छन् । यसले जीवनमा दुःखबाहेक केही दिँदैन भन्ने उनीहरूको अभिमत छ । गीतामा कृष्णले पनि यस्तै आशय व्यक्त गरेका छन् तर भौतिकवादी पण्डितहरूको विचार फरक छ । उनीहरू भन्ने गर्छन्– जीवनमा आशावादी हुनुपर्छ, आशा बिनाको जीवनको अर्थ छैन । उनीहरूका अनुसार जीवनलाई गतिशील राख्नकै लागि पनि आशा गर्नुपर्ने हुन्छ । 

तथापि यथार्थ के हो भने यी दुवै एकपक्षीय बहस हुन् । न आशा बिना जीवन चलाउन सकिन्छ न आशा मात्र गरेको भरमा जीवन चल्न सक्छ । त्यसैले आशा पनि गर्नुपर्छ साथसाथै कर्मलाई पनि बिर्सन हुँदैन । अन्यथा त्यस्तै ब्वाँसोको हविगत हुन पुग्छ, जसले भोकभोकै दिन बिताउनुपरेको थियो ।

धेरै पहिलेको कुरा हो । एक दिन एउटी नानी घरमा भाइको देखभाल गर्न बसेकी थिइन् । उनका मम्मी, पापा दुवै जना कुनै काम विशेषले बाहिर जानुपरेको थियो । घरमा उनीभन्दा ठूलो अर्को कोही नभएकाले सानो भाइ र घरको देखभाल गर्ने काम उनैले गर्नुपरेको थियो तर भाइ भने निकै नटखटे थियो । स–साना नानीहरू प्रायः नटखटे नै हुन्छन् । त्यसमा पनि उनको भाइ एक बित्ता अगाडि थियो । जे गर्न हुन्न भन्यो त्यही गथ्र्यो । गर्न दिएन भने डाँडो, खोलो हल्लिने गरी रुन्थ्यो, कराउँथ्यो, चिच्याउँथ्यो । 

विचरी नानीले भाइलाई फकाउन निकै प्रयास गरिन् तर जे गरे पनि सुन्ने कान लगाएन । उनलाई भाइलाई फुल्याउनु पनि थियो मम्मी, पापाले भनेका घरका काम भ्याउनु पनि थियो । त्यसैले एउटा जुक्ति निकालिन् र भाइलाई डर देखाउँदै भनिन्–

‘चुपचाप बस है साने ! भन्द्याछु । रुने कराउने होइन, जे भनेको छु खुरुखुरु मान । आइन्दा चुइँक्कसम्म गरिस् भने पनि भोको ब्वाँसोको अगाडि राखिदिनेछु । त्यसपछि थाहा पाउनेछस् के हुन्छ ।’

ब्वाँसोको कुरा सुनेर सानेको जिज्ञासा जाग्यो । उसले यस अघि न ब्वासोलाई देखेको थियो न के गर्छ भन्ने थाहा थियो । त्यसैले पहिले त्यसैबारे बुझ्ने प्रयास गर्दै तोतेबोलीले सोध्यो–

‘यो ब्वाँतो भनेको के हो दिती ?’

‘ए ऽ ब्वाँसो भनेको ?’ थप डर देखाउँदै दिदीले भनिन्–

‘तिखातिखा दाह्रा र नङ्ग्रा भएका जनावर हुन् भाइ ! यिनीहरू जति डर लाग्दा हुन्छन् त्यति नै खराब पनि ।’

‘त्यतो भए उनीहलुले के गर्छन् नि दिती ।’

‘के गर्र्छन् होइन के गर्दैनन् भनन भाइ ! जे पनि गर्छन् । मान्छेको मासु खान्छन्, मासु । तिमीजस्तै स–साना बालबालिका त देख्नै हुँदैन । तत्कालै टिपेर एकै गाँस पार्छन् । जसले भनेको मान्दैन, भनेको भएन भनेर रुने कराउने गर्छन् उनीहरूलाई त झन् खोजीखोजी लगेर खान्छन् ।’

‘उनीहलु कहाँ बस्थन् नि दिती ?’

‘बस्न त जङ्गलमा बस्छन् तर कहाँ त्यस्तो नानीहरू भेटिन्छन् भनेर गाउँतिरै डुलिरहेका हुन्छन् ।’

‘हाम्लो गाउँतिर पनि आउँथन् हो ?’

‘आउँछन् होइन भाइ ! आइसकेका छन् ।’

‘खोइ मैले त देख्या छैन त ।’

‘यतै कतै लुकेर बसेका छन् नि । कति बेला रोला र लिएर जाउँला भनेर पर्खँदैछन् ।’

उनले भाइलाई डर देखाउनका लागि मात्र यस्तो भनेकी थिइन् ताकि भाइ चुपचाप सुतिदेओस् र घरको अन्य काम गर्न पाइयोस् तर संयोग के पर्न गएछ भने ठीक त्यति नै बेला एउटा भोको ब्वाँसो आहार खोज्दै त्यतैबाट आउँदै रहेछ । उसले दिदी, भाइबीच भएको कुरा टाडैबाट सुन्यो र मुखबाट ¥याल चुहाउँदै सोच्न लाग्यो–

‘अहाँ ! आजको दिन त साह्रै उत्तम पो रहेछ । दुःखै नगरी टन्न खान पाइने भइयो । धन्यवाद छ भगवान्लाई राम्रो साइत जुराइदिएकोमा । एकै छिनको त कुरा हो । जब ऊ पुनः रुन थाल्छ त्यसपछि पक्कै दिदीले भाइलाई मेरो हवाला गरिदिनेछिन् । त्यसपछि त भएन मालामाल ? भगवान्ले जब दिन्छन् छप्पड फाडेर दिन्छन् भनेको यही हो ।’

यस्तैयस्तै सोच्दै घरको पछाडि लुकेर बालक कतिबेला रोला र खान पाइएला भन्ने आशा गर्न लाग्यो तर भइदियो के भने त्यसपछि बालक रुँदैरोएन । कारण दिदीको कुरा सुनेर भाइ डराएर सुतिसेको थियो । आशा गरेर दिनभर प्रतीक्षा गर्दा पनि बालक नरोएपछि ब्वाँसोलाई आश्चर्य लाग्यो र के भएछ भन्दै घरको झ्यालबाट भित्रतिर हेर्न लाग्यो । झ्यालमा ब्वाँसोको छायाँ देख्ने बित्तिकै ती नानी डराइन् र झ्याल बन्दै गर्दै चिच्याउन लागिन्–

‘गुहार, गुहार ! ब्वासो आयो, ब्वाँसो ।’

उनको कुरा सुन्ने बित्तिकै गाउँलेहरू हातमा लठ्ठी लिएर कराउँदै घर बाहिर निस्कन थाले । गाउँलेहरूको आवाज सुनेर ब्वाँसोले भागेर ज्यान बचायो । यसरी ब्वाँसोलाई कर्म नगरी फलको मात्र आशा गर्दा दिनभर भोको बस्नु मात्र परेन झण्डै जीवनबाटै हात धुनुपर्ने अवस्थासमेत आएको थियो ।

यो एउटा दृष्टान्त हो । जहाँ पनि कर्म नगरी फलको मात्र आशा गर्दाको नतीजा यस्तै हुन्छ । त्यसैले आशा मात्र गरेर मात्र पनि हुँदैन कर्म पनि गर्नुृपर्छ र कर्म मात्र गरेर पनि हुँदैन आशा पनि गर्नैपर्छ । यसैबाट जीवनको गति सन्तुलित हुन पुगी सुख पाइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप