शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा गठबन्धन सफल भएको प्रदेशस्तरीय संयन्त्रको निष्कर्ष

सरकार बनाउने विषय केन्द्रमा निर्भर
शुक्रबार, १६ मङ्सिर २०७९, १७ : ३३
शुक्रबार, १६ मङ्सिर २०७९

 कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनको प्रदेश स्तरीय संयन्त्रले आम निर्वाचन २०७९ को सन्दर्भमा गठबन्धन पूर्ण रुपमा सफल भएको निष्कर्ष निकालेको छ । आमचुनावको समीक्षा गर्दै संयन्त्रले गठबन्धन आंशिक रुपमा केही क्षेत्रमा असफल भए पनि समग्र रुपमा सफल भएको निष्कर्ष निकालेको हो । 

नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीको अध्यक्षतामा बसेको बैठकले स्थानीय निर्वाचनमा गठबन्धन असफल भए पनि आम चुनावमा सफल भएको र न्यूनतम दुई तिहाई बहुमत आएको दाबी गरेको हो ।

‘हामीले भनेको न्यूनतम दुई तिहाई आएको छ, प्रदेशमा प्रत्यक्षतर्फ २४ मध्ये १८ र समानुपातिक सहितको नतिजा हेर्दा बहुमत आएको छ,’ अध्यक्ष केसीले रातोपाटीसँग भनिन्, ‘जुम्लामा गठबन्धन आन्तरिक समस्याका कारण असफल भएको हो भने समग्रमा सफल भएको दाबी हाम्रो छ ।’

उनका अनुसार गठबन्धनले अब कर्णालीलाई कसरी समृद्ध गर्न सकिन्छ भन्ने विषयमा विज्ञहरुसहितको उपस्थितिमा अन्तक्रिया गर्ने निर्णय गरेको छ । सरकार बनाउने कुरामा केन्द्रको निर्णय कुर्ने निष्कर्ष पनि बैठकले निकालेको छ ।

एकीकृत समाजवादीका प्रदेश सह–इञ्चार्ज चन्द्रबहादुर शाहीले सरकार बनाउने कुरा प्रदेशको हातमा नरहेको बताए । ‘दाबी गर्ने कुरा स्वाभाविक हुन्छ तर गठबन्धन भएकाले केन्द्रकै निर्णय कुर्नु बाहेक विकल्प रहँदैन,’ उनले भने ।

४० प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा एकीकृत समाजवादीले प्रत्यक्षमा एक सिट पनि जित्न सकेन । समानुपातिकबाट भने एक सिट पाउने देखिएको छ ।

शाहीले गठबन्धन पराजित भएको क्षेत्रमा केन्द्रीय नेताहरुका कारण समस्या भएको बताए । उनले भने, ‘केन्द्रकै कमजोरीका कारण तल्लो तहमा केही असहज भएको हाम्रो ठम्याई हो, अझै सफल हुने थियो । संघकै नेताहरुको कारण तल्लो तहमा समस्या भएको निष्कर्ष निकालिएको छ ।’

शाहीले जुम्लामा गठबन्धन असफल भएको विषयमा वृहत रुपमा छलफल भएको बताए । त्यहाँ कांग्रेसका प्रदेश अध्यक्ष ललितजंग शाही प्रदेशसभा (क) र (ख) मा समाजवादीमा उम्मेदवार पदमबहादुर रोकाया पराजित भए भने प्रतिनिधिसभामा माओवादीका गोमा कुँवर पराजित भएकी थिइन् ।

यस्तै मुगु (क) मा समाजवादीका गोपाल बम र डोल्पा (क) कांग्रेस उम्मेदवार पराजित भएका छन् । दैलेख २ (ख) मा माओवादीका उम्मेदवार योगेन्द्र शाही पराजित भएका थिए । माओवादीको कमजोर सांगठनिक अबस्था भएको र त्यहाँ कांग्रेसको भोट उनलाई ‘ट्रान्सफर’ हुन नसकेको बताइएको छ ।

‘त्यहाँ गठबन्धन दलभित्रकै कुरा नमिलेका कारण कांग्रेसको दुवै क्षेत्रमा बागी उम्मेदवार थिए,’ उनले भने, ‘उनीहरुले विभिन्न फ्याक्टरसँग साँठगाँठ गरेका कारण त्यसको इफेक्ट प्रतिनिधिसभामा सदस्य पदका उम्मेदवारसम्म पुगेको देखियो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप