सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

मुद्रास्फीति १२ प्रतिशतको हाराहारीमा पुग्ने राष्ट्र बैंकको सर्वेक्षण

शुक्रबार, १६ मङ्सिर २०७९, १० : ००
शुक्रबार, १६ मङ्सिर २०७९

मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा सहभागीले मुद्रास्फीति तोकिएको सीमाभन्दा बढी पुग्ने देखाएको हो ।  

चालू आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको भए पनि पहिलो त्रैमासमा आठ दशमलव पाँच प्रतिशतको हाराहारीमा पुगिसकेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । 

केन्द्रीय बैंकले चालू आवको पहिलो त्रैमासको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै तीन महिना र एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १० र १२ प्रतिशत छ । केन्द्रीय बैंकले २०७९ असोज २३ देखि असोज २९ सम्म देशका ५७ सहरका ६० बजार क्षेत्रका व्यक्तिसँग अन्तवार्तामार्फत अध्ययन गरेको थियो । 

अध्ययनमा दुई हजार ४० जना सहभागी थिए । अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा आठ सय ९९ थप व्यक्ति थपिएको राष्ट्र बैंकको भनाइ छ । सर्वेक्षणमा सहभागी ८६ दशमलव  छ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । 

त्यसैगरी, ९५ दशमलव  सात प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । खाद्य र खाद्य वस्तुको सबै उपसमूह, गैर खाद्य वस्तु तथा सेवा र सबै उपसमूह, तथा घरजग्गा (आवास) समूहमा आगामी तीन महिनामा मूल्यवृद्धि हुने अध्ययनले देखाएको छ । 

खाद्य र खाद्य समूह अन्तर्गतका गेडागुडी, दाल, चिनी तथा मसला र गैर खाद्य र सेवा समूहबाहेकका अन्य समूह तथा उपसमूहको मूल्यवृद्धि हुनेछ । राष्ट्र बैंकले कसिलो नीति अवलम्बन गरेपश्चात् अपेक्षित मुद्रास्फीतिमा कमी आउन थालेको समेत उक्त प्रतिवेदनमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप