बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सदस्यमध्ये कसको शैक्षिक योग्यता कति ?

शुक्रबार, १६ मङ्सिर २०७९, १६ : ३३
शुक्रबार, १६ मङ्सिर २०७९

हालै सम्पन्न निर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका सदस्यहरुमध्ये कसैले एसएलसीसमेत पास गरेका छैनन् भने कसैले मास्टर्ससम्मको शैक्षिक योग्यता हासिल गरेका छन् । निर्वाचन आयोगको विवरण अनुसार लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएकामध्ये ७ जनाले मास्टर्स गरेका छन् भने २ जना ‘अन्डर एसएलसी’ छन् । यस्तै १६ जनाले स्नातकसम्मको अध्ययन पूरा गरेका छन् ।

यस्तै, प्रवीणता प्रमाणपत्र (प्लस टु) पास गरेका १२ जना र एसएलसी पास गरेका ११ जना प्रदेशसभामा सदस्यमा निर्वाचित भएका छन् । ३ जनाले भने शैक्षिक विवरण खुलाएका छैनन् ।

को को हुन् मास्टर्स पास गरेका सांसद ?

लुम्बिनी प्रदेशसभामा निर्वाचित ५२ जना मध्ये ७ जनाले मास्टर्स पास गरेका छन् । निर्वाचन आयोगमा मास्टर्स पास गरेको शैक्षिक योग्यताको विवरण बुझाउनेमा सबैभन्दा धेरै कपिलवस्तु जिल्लाका सांसद छन् ।

मास्टर्स गरेका ७ जनामध्ये कपिलवस्तुका ३ जना रहेको आयोगको विवरणमा उल्लेख छ । कपिलवस्तु जिल्लाबाट प्रदेशसभामा आएका अर्जुन कुमार केसी, विष्णुप्रसाद पन्थी, सुधाकर पाण्डेयले मास्टर्ससम्मको शैक्षिक योग्यता हासिल गरेका छन् । केसी र पन्थी एमालेका हुन् भने पाण्डेय नेपाली कांग्रेसका हुन् ।

यस्तै पाल्पाका खेमबहादुर सारू, रुपन्देहीका कन्हैया बनिया, बर्दियाका धर्मबहादुर चौधरी, र बाँकेका ३ रत्नबहादुर खत्रीले पनि मास्टर्स गरेका छन् ।

स्नातक पास भएका सांसद

लुम्बिनी प्रदेशमा ५२ जनामध्ये सबैभन्दा धेरै  अर्थात् १६ जनाले स्नातक तह पास गरेको विवरण आयोगलाई बुझाएका छन् । गुल्मी २(ख) का दिनेश पन्थी, रुपन्देही २(ख)का भोजप्रसाद श्रेष्ठ, रुपन्देही ३ (क) का सन्तोषकुमार पाण्डेय, रुपन्देही ५(क) का भूमिश्वर ढकाल, रुपन्देही १(ख) का अब्दुल रजाक, अर्घाखाँचीको (क) का चेतनारायण आचार्यले स्नातक पास गरेका छन् ।

यस्तै कपिलवस्तु ३(ख) का जानकीप्रसाद यादव, दाङ २(क) का राजु खनाल, (ख)का प्रचण्ड विक्रम न्यौपाने, दाङ ३(क)का डिल्लीबहादुर चौधरी, बाँके २(ख का आदेश कुमार अग्रवाल, बर्दिया २(क) का जन्मजय तिमिल्सिना, प्यूठान(ख) का सरोज थापा, रोल्पा(क)का जोखबहादुर महरा, नवलपरासी पश्चिम १(क) का विश्व प्रेम पाठक, २(ख) का खड्क बस्नेतले स्नातक पास गरेका छन् ।

प्रवीणता प्रमाणपत्र तह पास गरेका १२ जना

यस्तै, नवनिर्वाचित सांसदमध्ये प्रवीणता तह (प्लस टु) पास गर्ने १२ जना छन् । पाल्पा २(क) का वीर बहादुर राना, अर्घाखाँची(ख) का रामजी घिमिरे, रुपन्देही १ (क) का आशिषकुमार चौधरी, रुपन्देही २(क) का लिला गिरि, दाङ ३(ख) का धनबहादुर मास्की, रुपन्देही ४(ख) का वसीउद्धीन खाँ, बाँके २(क) का भण्डारी लाल अहिर, बाँके ३(ख) का बादशा कुर्मी, गुल्मी १(ख) का धनेन्द्र कार्की र नवलपरासी २(ख) का वैजनाथ कवलवार, रुपन्देही ५ (ख) का चन्द्र केश गुप्ता, बाँके १(क) का कृष्णा केसीले प्रवीणता प्रमाणपत्र तह वा ‘प्लस टु’ पास गरेको विवरण वुझाएका छन् ।

एसएलसी पास भएका सांसद

लुम्बिनी प्रदेशसभामा निर्वाचित भएकामध्ये एसएलसी पास गरेका ११ जना छन् । पाल्पा २(ख) का तुलाराम घर्ती मगर, रुपन्देही ३(ख) का तुल्सीप्रसाद चौधरी, गुल्मीको १ (क) बाट  चिन्तामणी पाण्डे, पाल्पा १(क) का राजुप्रसाद श्रेष्ठ, कपिलवस्तु २(क) का नवराज लामिछाने, दाङ १(क) का इन्द्रजीत थारु, २(ख) का अनुराग खड्काले एसएसलसी पास गरेको विवरण आयोगमा बुझाएका छन् ।

यस्तै बर्दिया १(क) का भुवनेश्वर चौधरी, रुकुम पूर्व (ख) का धनबहादुर के.सी., रोल्पा (ख) का दिपेन्द्र पुन मगर र प्यूठान (क) बाट निर्वाचित सांसद तुल्सीराम शर्माले एसएलसी पास गरेका छन् । यस्तै कपिलवस्तु १(ख)का मधुसुदन शरण चौधरीले माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश भारतबाट हाई स्कुल तह पास गरेको निर्वाचन आयोगको विवरणमा उल्लेख छ ।

अन्डर एसएलसीदेखि शैक्षिक योग्यता विवरण नखुलाउने सांसदहरु

बर्दिया १(ख) बाट निर्वाचित राजकुमार चौधरी र पश्चिम नवलपरासी २(क) बाट निर्वाचित देवकरणप्रसाद कलबारको शैक्षिक योग्यता ‘अन्डर एसएलसी’ छ ।

यस्तै, गुल्मी २ (क) का डिल्लीराम भुसाल, रुकुम पूर्व (क) का सुरुल पुन, बाँके १(ख)का दुर्गाप्रसाद चौधरीले आफ्नो शैक्षिक योग्यता नखुलाएको निर्वाचन आयोगको विवरणमा उल्लेख छ ।

बुटवल बहुमुखी क्यापसका प्राध्यापक प्रकाश पौडेलले उम्मेदारले शैक्षिक योग्यता  सार्वजनिक गर्दा पछि मन्त्री, मुख्यमन्त्री अन्य जिम्मेवारी बाँडफाँटमा सहज हुने र काम गर्दा पनि प्रतिफल राम्रो आउने बताए । उनले सांसदहरुको शैक्षिक योग्यता खुलाउनुलाई सकारात्मक रूपमा लिनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप