जो बाइडेनले भने, ‘पुटिनसँग कुरा गर्न तयार छु’, तर राखे शर्त
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा जारी युद्ध अन्त्य गर्न इच्छुक देखिएमा आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न चाहेको बताएका छन् ।
जो बाइडेनले आफ्ना फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनसँगको संयुक्त पत्रकार सम्मेलनमा यी कुराहरू भनेका हुन् । इमानुएल म्याक्रोन र उनकी श्रीमती हाल अमेरिका भ्रमणमा छन् ।
यस क्रममा म्याक्रोंले ह्वाइट हाउसमा बाइडेनसँग भेटवार्ता गरे र दुई नेताले फ्रान्सको ऊर्जा आवश्यकताहरूबारे छलफल गरे । म्याक्रोंले बाइडेनलाई अमेरिकाले स्वच्छ उर्जाका लागि दिइरहेको सब्सिडीले युरोपमा रोजगारीलाई असर गर्ने बताए ।
युरोपका समस्या समाधानका लागि संयुक्त कार्यदल गठन गर्न पनि दुई नेताबीच सहमति भएको छ । यसबाहेक रुस–युक्रेन युद्ध बारे पनि दुईबीच छलफल भयो ।
एक साझा पत्रकार सम्मेलनमा जो बाइडेनले भने, ‘यो युद्ध अन्त्य गर्ने एउटा उपाय छ । सबैभन्दा पहिला पुटिनले आफ्नो सेनालाई युक्रेनबाट बाहिर निकालुन् । तर उनले त्यसो गर्छन् जस्तो लाग्दैन । यस्तो नगरेका कारण उनले ठूलो मूल्य चुकाउनु परिरहेको छ तर उनी युक्रेनमा अविश्वसनीय तरिकाले सर्वसाधारणको मृत्युको कारण बनिरहेका छन् । उनले अस्पताल, स्कूल, नर्सरी स्कूलमाथि बम बर्साइरहेका छन् । उनले जे गरिरहेका छन्, त्यो घटिया हो ।’
This morning, President Biden, the First Lady, Vice President Harris, and the Second Gentleman welcomed President Emmanuel Macron and Mrs. Brigitte Macron of France to the White House. pic.twitter.com/wX1KArLCp4
— The White House (@WhiteHouse) December 1, 2022
‘तर साँचो कुरा के हो भने मेरो राष्ट्रपति पुटिनसँग तुरुन्त सम्पर्क गर्ने कुनै योजना छैन । यदि उनी युद्ध समाप्त गर्ने कुरामा रुची राख्छन् भने उनीसँग कुरा गर्नका लागि तयार छु । यदि यस्तो भयो भने मेरो फ्रान्सेली र नेटो साथीहरुको परामर्शपछि मलाई पुटिनसँग बस्न खुसी हुनेछ । इम्यानुएलले जे भने त्यो निकै महत्वपूर्ण छ । हामीले युक्रेनका जनतालाई समर्थन गर्नुपर्छ ।’
यतिबेला इम्यानुएल म्याक्रोंले फ्रान्स र अमेरिका युक्रेनमा युद्धविरुद्ध एकजुट हुन आवश्यक रहेको बताए । उनले पत्रकारसँगको कुराकानीमा रुससँग हुने कुनै पनि कुराकानीमा युक्रेनलाई समावेश गर्न आवश्यक भएको बताए ।
उनले भने, ‘हामी युक्रेनका जनतासँग उनीहरूले नचाहेको समाधानको माग गर्दैनौँ किनभने यसले दिगो शान्ति ल्याउन सक्दैन । यदि हामी दिगो शान्ति चाहन्छौँ भने हामीले युक्रेनका जनताको निर्णयलाई सम्मान गर्नुपर्ने हुन्छ कि उनीहरु कहिले र कुन शर्तमा आफ्नो जमिन र भविष्य बारे कुराकानी गर्न चाहन्छन् ।’
उनले अमेरिकाका लागि भने, ‘हामीहरुको साझा इतिहास छ र त्यसैले पनि हाम्रो कर्तव्य छ । युक्रेनविरुद्ध रुसको आक्रामकता र हाम्रो देश र समुदायको विद्यमान संकट र युरोपेली धर्तीमा युद्धको फिर्तीलाई मध्यनजर गर्दै हामीले एकपटक पुनः हात मिलाउन आवश्यक छ ।’
बाइडेन र म्याक्रोंको प्रेस सम्मेलनको ह्वाइट हाउस ब्रीफिंग अनुसार, भोलोडिमिर जेलेन्स्की र पुटिन बीचको अन्तिम भेट डिसेम्बर २०१९ मा भएको थियो । त्यतिबेला एन्जेला मर्केल जर्मनीको चान्सलर थिइन् र म्याक्रोंले मिन्स्स सम्झौताको कार्यान्वयनको अनुगमन गरिरहेका थिए ।
उनले भने, ‘जेलेन्स्की राष्ट्रपतिमा निर्वाचित भएदेखि नै वार्ता गर्न इच्छुक थिए, पुटिन नै युद्ध सुरु गर्न चाहन्थे । र मैले यो वर्ष फेब्रुअरीमा रुस र युक्रेनको भ्रमणमा देखेको छु । त्यसैले जेलेन्स्कीले कुराकानीका लागि केही शर्त राख्नु सही छ ।’