शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय पार्टी भए ७ दल, साढे ४ प्रतिशत मत बदर

शुक्रबार, १६ मङ्सिर २०७९, ११ : २७
शुक्रबार, १६ मङ्सिर २०७९

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म प्रतिनिधि सभाको १६५ मध्ये १६२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । स्याङजा, दोलखा र बाजुराको मत गणना जारी छ ।

समानुपातिक तर्फपनि झन्डै एक करोड सात लाख मत गनिसकिएको  निर्वाचन आयोगले जनाएको छ । गनिएको समानुपातिक मतमध्ये झन्डै साढे चार लाख मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले स्याङजा, दोलखा, बाजुराको प्रत्यक्ष तर्फसहित उदयपुर, धनुषा लगायत केही जिल्लाको समानुपातिक मत गणना भइरहेको बताएका छन् ।  ‘शुक्रबार बिहानसम्म आयोगको रेकर्डमा समानुपातिकतर्फ एक करोड सात लाख मत गनिएको छ ।

त्यसमा चारदेखि साढे चार प्रतिशत बदर मत छ । बदर मतको एकमुष्ट संख्या रेकर्डमै हेर्नुपर्ने हुन्छ । तर बदर मत घटाएर दलले पाएको मत रेकर्डमा समावेश गरिएको हो’, सूचना अधिकारी समेत रहेका अर्यालको भनाइ छ । उनका अनुसार अब सबैतिरको गरेर साढे २ लाख हाराहारी मत गणना गर्न बाँकी छ । 

निर्वाचन आयोगकाअनुसार शुक्रबार बिहानसम्म समानुपातिकतर्फ सबैभन्दा धेरै मत ल्याउने नेकपा एमाले छ । एमालेले अहिलेसम्म समानुपातिकमा २७ लाख ७३ हजार ९९९ मत पाउँदा दोस्रोमा नेपाली कांग्रेसले २६ लाख ४४ हजार २४१ मत पाएको छ ।

त्यसैगरी माओवादी केन्द्रले ११ लाख ६१ हजार २५६ तथा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ९९६ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ९२१ मत पाएर पाँचौ स्थान बनाएको छ । 
हालसम्म जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९३१ र जनमत पार्टीले ३ लाख ९४ हजार ३४५ मत ल्याएर सातौं पार्टी बनेको छ । 

कुनैपनि पार्टीले राष्ट्रिय पार्टी बन्न कम्तिमा ३ प्रतिशत मत कटाउनुपर्छ । यो हिसाबमा अहिलेसम्म ३ प्रतिशत मत ल्याएर थ्रेसहोल्ड कटाउने र राष्ट्रिय पार्टी बन्नेमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र जनमत गरी सात पार्टी रहेका छन् ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी भने थ्रेसहोल्ड कटाउने प्रयासमा छ । यद्यपि अहिलेकै अनुपातमा यो पार्टीले थ्रेसहोल्ड कटाउने सम्भावना क्षीण बनेको छ । यो पार्टीले शुक्रबार बिहानसम्म २ लाख ९४ हजार ६३ मत पाएको छ । उसलाई थ्रेसहोल्ड कटाउन अझै २० हजारको हाराहारीमा मत चाहिने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप