भेडा बाख्रा पाल्न चरन क्षेत्रको अभाव
जमिनलाई टुक्रा–टुक्रा गरेर घडेरीमा बिक्री वितरण गर्ने चलन बढेपछि भेडा बाख्रा पालनका लागि चरन क्षेत्रको अभाव भएको छ ।
कृषियोग्य जमिन कम हुँदै गएपछि भेडा चराउने ठाउँको कमी भएको हो । चरन क्षेत्रको अभावका कारण भेडापालकलाई भेडा चराउन र भेडा बचाउन सकस पर्न थालेको छ । सुनसरीको हरिनगरा गाउँपालिका–४ का दयानन्द पाल, सदानन्द पाल र खिलानन्द पाल भेडा चराउन सयौँ भेडा लिएर महिनौँ घर छाडेर हिँड्ने गरेका छन् । उनीहरूको दिनचर्या भेडा चराउनमै बित्ने गरेको छ । घरका परिवारसँगको सम्पर्क कमै हुने गर्छ । भेडा चराउनैका लागि घाँस भएको क्षेत्र खोज्दै दैनिक १० देखि २० किलोमिटरको यात्रा भेडा लिएर पैदल तय गर्नुपर्ने बाध्यता छ ।
“भेडालाई बाँधेर राख्न गाह्रो छ । खुलामा चराउनु पर्छ । खुलामा चराउँदा खेतमा पसेर अरूको बाली खाइदेला भन्ने पीर हुन्छ”, दयानन्द पालले भने, “राति बास बस्दा पनि जङ्गली जनावरले भेडा खाइदेला भन्ने चिन्ता छ । आलोपालो गरेर २४सैँ घण्टा भेडाको सुती–नसुती निगरानी गर्नुपर्ने अवस्था छ ।”
भेडापालन गर्न दुःख बढी हुने गरेको अर्का भेडापालक सदानन्द पालले बताए । पुख्र्यौली पेशा भएर मात्र भेडापालन अँगालेको उल्लेख गर्दै उनले चर्ने ठाउँ कम हुँदै गएकाले पाल्न कठिन बन्दै गएको बताए ।
वर्षमा दुईपटक भेडाबाट ऊन निकाल्ने गरिएको छ । आधुनिकतासँगै भेडाको ऊनको बिक्री पनि कम हुँदै गएको छ । भेडाको ऊनको चाङले घर नै भरिए पनि बिक्री गर्न समस्या छ । भेडा चराउन हरिनगराबाट थालिएको यात्रा विराटनगर, लौकही, इनरूवा, भण्टाबारी, जनकपुरसम्म पुग्ने उनी बताउछन् । भेडा चराउनैका लागि विराटनगर आउनुभएका दयानन्द, सदानन्द र खिलानन्द नहर छेउमा पाल टाँगेर बसेका छन् । एक सय २० भेडा लिएर हिँडेका उनीहरूको बढीजसो समय चरन क्षेत्र खोज्नमै वित्ने गरेको छ । सरकारले भेडाबाख्रा पालन गर्न सेवा सुविधा उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपुस्तिका हराउनेमाथि कारबाही गर्न अनेरास्ववियुको माग
-
कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा मुद्दती निक्षेपबाट कर्जा लिन सकिने
-
मन्त्री चौधरी र फिनल्याण्डका राजदूतबिच शिष्टाचार भेट
-
भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु
-
पदभार ग्रहण गर्दै सामाजिक विकास मन्त्री चौधरीले भने, ‘जनताको म्यान्डेट अनुसार सरकारमा सहभागी भयौँ ’
-
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको खेल रद्द