शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोटा तोकेर पोस्तादानको आयात खुलाउँदै सरकार, सुपारीको कोटा हट्ने

शुक्रबार, १६ मङ्सिर २०७९, ०७ : ४८
शुक्रबार, १६ मङ्सिर २०७९

सरकारले कोटा तोकेर पोस्तादाना आयात खुलाउने तयारी गरेको छ । नेपालमा खासै प्रयोग नहुने र भारतमा पनि प्रतिवन्ध लागेको पोस्तादानाको कोटा तोकेर आयात खुलाउने गृहकार्य भएको हो ।

पोस्तादाना आयात खुलाउनको लागि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बढुले आन्तरिक गृहकार्य थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन अनुसार पोस्तादाना आयात खुलाउन लागिएको हो । अहिले नेपालमा पोस्तादाना आयात प्रतिवन्ध छ ।

स्रोतका अनुसार सरकारले १० हजार मेट्रिक टन पोस्तादाना आयात खुल्ला गर्न लागेको छ । यसको मूल्य प्रतिमेट्रिक टन ४ हजार अमेरिकी डलरमा आयात गर्न लागिएको हो । यसरी आयात गर्दा पोस्तदानामा नै ४ करोड अमेरिकी डलर बाहिरिदनेछ । पोस्तादाना मिठाईमा प्रयोग हुने कच्चा पदार्थ हो । तर, नेपालमा भने पोस्तादाना प्रयोग गरेर मिठाई उत्पादन हुने गरेको छैन । 

नेपालमा आयात हुने पोस्तादाना नेपालमा प्रयोग नभई भारत तस्करी हुने अनुमान गरिएको छ । यसो हुँदा नेपालमा आयात गर्दा विदेशी मुद्रा बाहिरिने तर तस्करीको माध्यमबाट पुनः अर्काे देश जाने हुँदा नेपाललाई केही पनि फाइदा हुने छैन ।

यस्तै, सरकारले सुपारी आयातको कोटा पनि हटाउने भएको छ । अहिले औद्यागिक प्रयोजनको लागि सुपारी आयात गर्न पाउने भएपनि अबदेखि भने कारण नखुलाई सुपारी आयात गर्न दिन लागिएको हो । सुपारी पनि नेपालमा खासै प्रयोग हुँदैन ।

सरकारले राजत्रपमा सूचना प्रकाशन गर्दै २०७६ साल चैत २४ गतेदेखि सुपारी, केराउ, नधुल्याएको मरिच र छोकडाको आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । उक्त समयमा विदेशी मुद्राको सञ्चिती जोगाउने लक्ष्यसहित यी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाउनुअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको ‘व्यापारघाटा न्यूनीकरण कार्ययोजना’मा यी वस्तुको आयात प्रतिबन्ध लगाउनुपर्ने उल्लेख थियो ।

सरकारले २०७७ साल असार ८ गते औद्योगिक प्रयोजनका लागि नधुल्याएको मरिचको आयात खुलाएको थियो । यसका लागि उद्योगको उत्पादन क्षमतालाई आधार मानेर कच्चा पदार्थकारूपमा आयात अनुमति दिइने राजपत्रमा उल्लेख छ । यस्तै,  २०७७ साउन २२ गते सुपारीको आयात समेत खुलाइएको थियो । राजपत्रमा प्रकाशित सूचनाअनुसार आयात बन्देज लगाउनुअघि सिपिङ भएको सुपारीको आयात खुलाइएको हो । यसैगरी, २०७७ भदौ २२ गते राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले आयात बन्देज लगाउनुअघि सिपिङ भएको केराउ र मरिचको आयात समेत खुलाएको थियो ।

सरकारले २०७८ साल फागुन २६ गते औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र मरिचको आयात खुलाएको थियो । उक्त मितिमा प्रकाशित राजपत्र अनुसार सरकारले औद्योगिक प्रयोजनका लागि उक्त वस्तुहरूको आयात खुलाएको थियो । सोही अनुसार हाल केराउ, मरिच र सुपारीको आयात भइरहेको छ । यसका लागि उद्योगहरूले उद्योग विभागमार्फत सिफारिस ल्याएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयात अनुमति दिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप