शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ पार्टी खोल्ने तयारीमा प्रभु साह

बिहीबार, १५ मङ्सिर २०७९, २३ : ०४
बिहीबार, १५ मङ्सिर २०७९

स्वतन्त्र उम्मेदवारी दिएर रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट चुनाव जितेका नेता प्रभु साह नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन् ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिकट वितरणमा असन्तुष्टि जनाउँदै साहले पार्टीबाट विद्रोह गरेर रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका दिए । 

यद्यपि प्रभु साहलाई माओवादी केन्द्रसहित सत्ता गठबन्धनले चुनावमा सघाएको थियो । माओवादीबाट उम्मेदवारी दिएका रवीन्द्र पट्टेललाई रौतहट २ मा ब्याक भएर साहलाई समर्थन गर्न माओवादीले निर्देशन दिएको थियो । तर, पट्टेलले उम्मेदवारी फिर्ता लिन नमानेपछि उनी माओवादीको कारबाहीमा परेका थिए । 

यस्तै साहकै समूहबाट रौतहट २ मा स्वतन्त्रबाट उम्मेदवारी दिएका किरणकुमार साह निर्वाचित भएका छन् । निर्वाचित भइसकेपछि साहले  कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिई सर्लाही ४ बाट निर्वाचित अमरेशकुमार सिंहलाई समेत जोड्न खोजेका छन् । नयाँ पार्टी निर्माणका प्रभुले सिंहसमेतलाई सहभागी गराउन खोजेको उनी निकट एक नेताले बताए । ‘प्रभुजी नयाँ दल खोल्ने अभियानमा जुट्नु भएको छ । कम्युनिस्ट दल खोल्नुहुन्छ कि गैरकम्युनिस्ट भन्न सकिँदैन’ उनी निकट ती नेताले भने, ‘तर उहाँ अब नयाँ दल खोल्नेमा करिब करिब निष्कर्षमा पुग्नु भएको छ ।’ साहले एमालेमा गएका पूर्व माओवादीका असन्तुष्ट नेतालाई समेत जोड्ने भन्दै भेटघाट जारी राखेका छन् ।   

यसरी पुगे साह माओवादी हुँदै एमाले

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल पुस ५ गते संसद् विघटन गरेपछि नेकपामा विवाद चुलिएको थियो । जसका कारण नेताहरू दुई भागमा विभाजित भए । त्यति बेला एउटा नेकपा घटकको नेतृत्व केपी ओलीले गरे भने अर्कोतिरको नेकपाको घटक प्रचण्ड र माधवकुमार नेपालले गरेका थिए । त्यति बेला साहले प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपामै समर्थन जनाएका थिए । ओलीले सहरी विकास मन्त्री बनाएपछि भने साहले एकाएक प्रचण्ड–माधव समूह छोडेका थिए । यस्तै सर्वोच्च अदालतबाट एमाले माओवादी ब्युँताउने फैसला भएपछि साह एमालेमै सङ्गठित हुन पुगे । 

एमालेको महाधिवेशनबाट साह स्थायी समिति सदस्यमा निर्वाचित भए । यस्तै आम निर्वाचनमा साहले एमालेको मधेस प्रदेशका हकमा आफूले भनेका नेताले टिकट पाउनुपर्ने अडान लिएका थिए । ओलीले साहले राखेको अडानलाई बेवास्ता गर्दै उनलाई मात्रै टिकट  दिएपछि चिढिन पुगेका थिए ।  साहले एमालेमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएपछि उनलाई सो पार्टीले कारबाही समेत गरिसकेको छ । त्यसपछि अहिले उनी स्वतन्त्र समूहको रूपमा मात्रै छन् । साह चार पटक मन्त्री र चार पटक सांसद भइसकेका नेता हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप