बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारी मतान्तरले जित्नेमा एमालेका एकराज कार्कीको रेकर्ड

कम मतले जित्नेमा संखुवासभाका राजेन्द्र कार्की
बिहीबार, १५ मङ्सिर २०७९, १५ : ४८
बिहीबार, १५ मङ्सिर २०७९

प्रदेश १ प्रदेशसभाको ५६ वटा प्रत्यक्ष निर्वाचित सांसदहरुमध्ये झापाका एकराज कार्कीले नयाँ रेकर्ड बनाएका छन् । उनले प्रतिस्पर्धीको भन्दा तेब्बर बढी मतान्तरले विजय हासिल गरेर रेकर्ड बनाएका हुन् । झापाको २ (१)बाट निर्वाचन लडेका उनले निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेललाई १२ हजार ६४८ मतले पराजित गरेका हुन् । कार्कीले १८ हजार ७५८ मत ल्याउँदा पोखरेलले भने ६ हजार ११० मत मात्रै ल्याए ।

कार्की २०७४ सालको निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित बनेका थिए । त्यसबेला पनि कार्कीले २१ हजार २८४ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका लक्ष्मण खड्काले १२ हजार ७२२ मत ल्याएका थिए । त्यसबेला उनको मतअन्तर ८ हजार ५६२ थियो ।

भद्रपुर ७ निवासी पोखरेलको स्थायी ठेगाना भने बिर्तामोड ८ हो । प्रविणता प्रमाणपत्र तह अध्ययन गरेका ६१ वर्षीय कार्की २०४३ सालमा गरामुनी गाउँ पञ्चायतका उपप्रधानपञ्च बनेका थिए भने २ पटक सोही गाविसका अध्यक्ष पनि भएका थिए ।

यस्तै बढी मतान्तरले विजयी हुने अर्का प्रदेश सांसद हुन्, रोहितबहादुर कार्की । एमालेका उम्मेदवार कार्की सुनसरी ३ (१)बाट निर्वाचित भएका हुन् । उनले माओवादी केन्द्रकी उम्मेदवार तथा प्रदेश १ प्रदेशसभाकी निवर्तमान उपसभामुख सरस्वती पोखरेललाई ९ हजार १४३ मतले पराजित गरेका हुन् । कार्कीले १८ हजार ६४१ मत ल्याउँदा पोखरेलले ९ हजार ४९८ मत मात्रै ल्याइन् । संसदीय राजनीतिमा पहिलो पटक प्रतिस्पर्धा गरेका उनी इटहरी खनारका हुन् । प्रविणता प्रमाणपत्र तहको अध्ययन गरेका उनी हाल ७१ वर्षका भए । कार्कीको जन्मस्थान धनकुटा हो ।

यस्तै बढी मतअन्तरले जित्नेमध्येका तेस्रो नम्बरमा रहेका छन् झापा ५ (२)का होमबहादुर थापा । थापा पनि एमालेका उम्मेदवार हुन् । उनले माओवादी केन्द्रका उम्मेदवार रेवतराज पुरीलाई ६ हजार ८१४ मतले पराजित गरेका छन् । थापाले २४ हजार १२९ मत ल्याउँदा पुरीले भने १७ हजार ३१५ मत ल्याउन सफल भए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमध्येको एउटा प्रदेशसभा निर्वाचनमा धेरै मतान्तरले जितेका उनी पहिलो पटक प्रदेशसभा सदस्यको जिम्मेवारी लिने नेता हुन् । २०५४ सालमा झापाको कोहबरा गाविसका अध्यक्षमा निर्वाचित ५९ वर्षीय थापाले आइएसम्मको अध्ययन गरेका छन् । उनी एमालेका पुराना नेता मानिन्छ ।

यस्तै धनकुटा १ बाट निर्वाचित एमालेका निरन राईले पनि निकटतम प्रतिस्पर्धी नेकपा एसका अर्जुनकुमार राईलाई ६ हजार ७९२ मतको अन्तरले पराजित गरेका छन् । उनले १७ हजार १८ मत ल्याउँदा प्रतिस्पर्धी राईले भने १० हजार २२६ मत मात्रै ल्याएका छ । विजयी बनेका निरन राई ०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएका थिए । उनले त्यसबेला २० हजार ८८ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका मनोहर नारायण श्रेष्ठले १३ हजार ४४२ मत मात्रै पाएका थिए ।

यस्तै झापा ३ (२)बाट निर्वाचित एमालेका छविलाल चुँडाल, झापा ५ (१)बाट निर्वाचित एमालेकै हिक्मतकुमार कार्की, मोरङ ५ (१)बाट निर्वाचित काँग्रेसका गयानन्द मण्डल, मोरङ ५ (२)बाट निर्वाचित काँग्रेसका अमृत अर्याल, सुनसरी १ (२)बाट निर्वाचित एमालेका विजयकुमार राई, मोरङ ३ (१)बाट निर्वाचित काँग्रेसका मानबहादुर लिम्बू, धनकुटा २ बाट निर्वाचित एमालेका इन्द्रमणि पराजुली, झापा १ (१)बाट निर्वाचित काँग्रेसका गोपाल तामाङ तथा ताप्लेजुङ १ बाट निर्वाचित एमालेका तिलकुमार मेन्याङ्बोले पनि ४ हजारभन्दा बढी मतअन्तरले प्रतिस्पर्धीलाई जितेका छन् ।

कम मतले जित्नेमा संखुवासभाका राजेन्द्र कार्की

उता, सबैभन्दा कम मतान्तरले प्रदेशसभामा निर्वाचित हुनेमा नेकपा माओवादी केन्द्रका नेता राजेन्द्रकुमार कार्की परेका छन् । कार्कीले संखुवासभा १ बाट एमालेका भविश्वर गुरुङलाई जम्मा ३४ मतान्तरले जितेका हुन् । कार्कीले १३ हजार ४३३ मत ल्याउँदा गुरुङले भने १३ हजार ३९९ मत ल्याएका थिए ।

कम मतअन्तरले विजयी हुने दोस्रो नम्बरमा पनि माओवादीकै नेता नारायण बुर्जा मगर रहेका छन् । उनले उदयपुर २ (१)बाट एमालेका देवराज राईलाई ३५ मतान्तरले पराजित गरेका हुन् । मगरले ८ हजार १०५ मत ल्याउँदा राईले ८ हजार ७० मत ल्याएका थिए । यस्तै उदयपुर १ (२)का हिमाल कार्की, तेह्रथुम १ का एमाले नेता किशोरचन्द्र दुलाल, संखुवासभा २ बाट एमालेका विदुरकुमार लिङथेप तथा तेह्रथुम २ बाट निर्वाचित माओवादीका दुर्गा प्रसाद चापागाईं ३ सयभन्दा कम मतान्तरले विजयी हुने उम्मेदवार हुन् ।

कसले कति अन्तरले जिते हेर्नुहोस् सूची

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप