बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि विश्वविद्यालयका विद्यार्थी आन्दोलित

बिहीबार, १५ मङ्सिर २०७९, १४ : ०१
बिहीबार, १५ मङ्सिर २०७९

चितवन रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । विश्वविद्यालयमा बेथितिपूर्ण तरिकाले स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न खोजिएको भन्दै विद्यार्थीहरू आन्दोलनामा उत्रिएका हुन् । 

विभिन्न राजनीतिक दल निकटका विद्यार्थी संगठनहरूले विश्वविद्यालयको केन्द्रीय कार्यालय, कृषि संकाय, प्रशासन, डीनको कार्यालय लगायतमा तालाबन्दी गरेका छन् ।  अनेरास्ववियू, नेविसंघ, अखिल क्रान्तिकारी, र अनेरास्ववियु (छैठौं) ले संयुक्त विज्ञप्ती जारी गरेर विश्वविद्यालयभित्रका समस्या समाधान गर्न माग गरेका छन् । 

विश्वविद्यालयमा व्याप्त रहेका विभिन्न बेथिति एवं विसंगतिविरूद्ध विश्वविद्यालयमा क्रियाशील सम्पूर्ण संगठनहरु एकजुट भएको बताउँदै उनीहरूले २१ बुँदे माग अघि सारेका छन् ।  कृषि संकायको छलफल समिति र विद्यार्थी प्रतिनिधिबीचको छलफलमा विद्यार्थीहरूले स्पष्ट रूपमा राखेको मागलाई वेवास्ता गर्दै कृषि संकाय, डिनको कार्यालयले प्रकाशन गरेको गरेको संसोधित सूचना नामको छलकपटले आफ्नो मागलाई सम्बोधन नगरेको उनीहरूको भनाई छ । भर्नाको सम्पूर्ण प्रकिया तत्काल बन्द गर्नुपर्ने उनीहरूको माग छ । 

त्यस्तै पठनपाठन समयतालिका बमोजिम हुनुपर्ने र विद्यार्थीले फोन गरेर कक्षा राख्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने, पाठ्यक्रममा भएको सम्पूर्ण प्रयोगात्मक कक्षा हुनुपर्ने, जीर्ण भौतिक संरचनाको तत्काल मर्मत सम्भार हुनुपर्ने र अपूर्ण भौतिक संरचनाको तत्काल ब्यवस्था गर्नुपर्ने माग अघि सारेका छन् । 

आफुहरूले अघि सारेका मागहरू यथाशीघ्र सम्बोधन नगरे कडा रूपमा प्रस्तुत हुने उनीहरूको चेतावनी छ ।  अनेरास्वविय केन्द्रीय क्याम्पस कमिटी अध्यक्ष विक्रम खनालले तयार नै नभएको पाठ्यक्रम लागू हुने सूचना निकालिएको बताए । 

‘कात्तिक २९ गते कृषि संकायले नयाँ भर्नाको लागि आवेदन खोलेको थियो । त्यसमा नयाँ पाठ्यक्रम अनुसार पढाई हुनेछ भनिएको छ । जबकी नयाँ पाठ्यक्रम नै तयार भएको छैन्’  उनले भने ।  त्यस्तै त्यसका लागि आवश्यक पर्ने न्यूनतम योग्यता समेत घटाएको छ । प्रमाणपत्र तहमा पहिला प्रत्येक विषयमा कम्तिमा ५० प्रतिशत ल्याएको हुनुपर्ने थियो । तर, अहिले घटाएर ४५ प्रतिशत बनाएको छ । यता जिपिए तर्फ पहिला २.४ ल्याएको हुनुपर्ने थियो भने अहिले २.२ जिपिएमा झारेको छ । 

इन्ट्रान्स फि पनि निकै महंगो भएको उनको भनाई छ । विश्वविद्यालयले इन्ट्रान्स फि नै ४ हजार रूपैयाँ बनाएको उनको भनाई छ ।  विद्यार्थीहरूले कृषि विश्वविद्यालय तर्फ पनि एकीकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स) को व्यवस्था लागू हुनुपर्ने उनीहरूको माग छ । 

‘एजी, भेट, फरेस्ट्रीका लागि ८/१० वटा प्रवेश परीक्षा दिनुपर्छ । मेडिकल क्षेत्रमा एउटै इन्ट्रान्स हुन्छ । हाम्रो पनि त्यसरी नै हुनुपर्छ भन्ने माग हो,’ उनले भने, ‘एउटा विद्यार्थीले ८/१० इन्ट्रान्स दिँदा लगभग १ लाख जति खर्च गर्नुपर्छ । त्यसैले हाम्रो माग भनेको कमन इन्ट्रान्स हुनुपर्छ भन्ने हो ।’ 

निजी कलेजमा विद्यार्थीहरुको अभाव हुन थालेपछि यो प्रतिशत घटाइएको र बढी विद्यार्थी पास गराउने नियत राखिएको उनीहरूको आरोप छ । प्रवेश परीक्षाका लागि स्नातक तहमा कृषि अध्ययन गर्न आवश्यक पर्ने विषयहरूको बाध्यात्मक अवस्था पनि हटाइएको छ ।

प्रवेश परीक्षाका कृषि पढ्न आवश्यक पर्ने अंग्रेजी, केमिस्ट्री, बायोलोजी, गणित र फिजिक्स विषय अध्ययन गरेको हुनुपर्नेमा त्यसलाई हटाएर ती विषय लिएर नपढेको विद्यार्थीले पनि भर्ना हुन पाउने प्रावधान राखिएको छ । विद्यार्थी भर्ना भैसकेपछि ति विषय पढेपनि हुने भनेर सूचनामा उल्लेख गरिएको छ । यसले कृषि विषय अध्ययनको गुणस्तर तहसनहस हुने विद्यार्थीहरुको चिन्ता छ । यसका लागि पहिलाकै मापदण्ड अनुसार परीक्षा हुनुपर्ने माग आफुहरूले अघि सारेको अध्यक्ष खनालले बताए । 

कृषि विश्व विद्यालयअन्तर्गत हाल कृषि, पशु, वन र माछा विज्ञान संकायका पढाइ हुन्छन् । त्यसका लागि देशभर ७ आङ्गिक र ७ सम्बन्धन प्राप्त कलेज छन् । हाल १ हजार ८ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप