शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विकसित महानगर बनाउने अभियानमा साथ दिन मेयर कोइरालाको आग्रह

बिहीबार, १५ मङ्सिर २०७९, १३ : ४०
बिहीबार, १५ मङ्सिर २०७९

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सफा, सुन्दर, हराभरा, व्यवस्थित र विकसित महानगर बनाउने अभियानमा साथ दिन आग्रह गरेका छन् । सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै मेयर कोइरालाले निर्वाचित भएर आएपछि सरसफाईलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गरेका छन् ।

हाल महानगर फुटपाथ नियन्त्रण र सहरको सुन्दरतामा ह्रास आउने गरी जथाभावी निर्माण गरिएका पसल अगाडिका संरचना हटाउने अभियानमा केन्द्रित भएको मेयर कोइरालाले बताएका छन् । सरफाईमा जस्तै फुटपाथ खाली गर्ने र अवैध संरचना हटाउने अभियानमा पनि विराटनगरवासी र व्यापारीको अत्यन्तै राम्रो सहयोग रहेको मेयर कोइरालाले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

“व्यापारीहरूले महानगरको आग्रहलाई स्वीकार गरेर फुटपाथ खाली गर्नुका साथै अवैध संरचना हटाइरहनु भएको छ । व्यापारीहरूको साथकै कारण फुटपाथमा बिना अवरोध निर्वाध रुपमा यात्रुहरू हिंड्ने वातावरण सिर्जना भएको छ,” मेयर कोइरालाले भनेका छन्, “यो अभियानमा साथ दिनुहुने सम्पूर्ण व्यापारीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । अभियानलाई सफल बनाउन खट्ने नगर प्रहरी, नेपाल प्रहरीलगायत सम्पूर्ण सुरक्षाकर्मीहरूसहित बुद्धिजीवी, पत्रकारका साथै हामीलाई हौसला प्रदान गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु । यो अभियान निरन्तर सञ्चालन भइरहने समेत जानकारी गराउँदछु ।”

मेयर कोइरालाले विराटनगर अब यथास्थितिमा बस्न नसक्ने पनि प्रस्ट्याएका छन् । विराटनगरको चौतर्फी विकासका लागि गम्भीरताका साथ लागि परेको उनको भनाइ छ । विकासका लागि स्रोतको खोजीमा लागेको उनले बताए । संघीय र प्रदेश सरकारसँग समन्वय गरेर बढीभन्दा बढी बजेट ल्याउन लागिपरेको कोइरालाले उल्लेख गरेका छन् । भौतिक संरचनाको निर्माण पनि योजनाबद्ध रुपमा अगाडि बढाइरहेको केही ठूला योजनाहरू ठेक्का प्रक्रियामा रहेको उनले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

“भावी पुस्ताले गर्व गर्न लायक विराटनगर बनाउने संकल्पका साथ अघि बढेका छौं । सम्भावना नदेखेर पलायन भएकाहरूलाई पनि विराटनगरमा पुनः फर्किने वातावरण सिर्जना गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ,” कोइरालाले भनेका छन्, “महानगरवासीको साथ र सहयोग बिना हामीले लिएको लक्ष्य पूरा गर्न असम्भव छ । हामी पाँच वर्षपछि महानगरको जिम्मेवारीबाट विदा हुँदै गर्दा अहिलेको छैटौं होइन विगतकै शाखलाई फर्काएर दोस्रो महानगर अर्थात् सहर बनाउने प्रण गर्दछौं ।” 

महानगरको सौन्दर्यकरणका लागि फुटपाथ नियन्त्रण र जथाभावी निर्माण गरिएका अवैध संरचना हटाउने अभियान सबै वडामा सञ्चालन गरिनेसमेत उनको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप