शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय स्वतन्त्र पार्टीले जितेका सात क्षेत्रमा कस्तो रह्यो मतदाताको ‘मुड’ ?

केही क्षेत्रमा प्रमुख दलले आफ्नै मत जोगाउन सकेनन्
बिहीबार, १५ मङ्सिर २०७९, १२ : ५९
बिहीबार, १५ मङ्सिर २०७९

 प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ ७ सिटमा जित हासिल गरेको छ । प्रदेशसभातर्फको निर्वाचनमा सहभागी नै नभएको यो पार्टीले प्रतिनिधिसभातर्फ ७ सिटमा जित हासिल गरेकोमात्र होइन, समानुपातिकतर्फ पनि ११ लाखभन्दा बढी मतसहित चौथो राजनीतिक शक्तिका रुपमा आफूलाई स्थापित गरेको छ ।

प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले जितेको ७ सिटमध्ये ५ सिटमा नेकपा एमाले दोस्रो भएको छ भने एउटामा नेपाली कांग्रेस र एउटामा हाम्रो नेपाली पार्टी दोस्रो पोजिसनमा रह्यो ।

काठमाडौं–२

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ काठमाडौं–२ मा जित हासिल ग¥यो । सो पार्टीकी सोविता गौतम १५ हजार २३८ मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ११ हजार ५६६ मत पाए ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फको मतभन्दा प्रत्यक्षतर्फ बढी मत प्राप्त गरेको छ । काठमाडौं–२ मा समानुपातिकतर्फ पहिलो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १३ हजार ८७९ मत पाएको छ । प्रत्यक्षतर्फ सोही पार्टीबाट निर्वाचित गौतमले पाएको मतको तुलनामा समानुपातिकतर्फ एक हजार ३५९ मत कम पाएको छ ।

जबकि, प्रत्यक्षतर्फ दोस्रो स्थानमा रहेको एमाले समानुपातिकतर्फ भने ९ हजार ५१४ मतसहित तेस्रो स्थानमा छ । यो क्षेत्रमा समानुपातिकतर्फ राप्रपा ११ हजार ८१६ मतसहित दोस्रो स्थानमा छ । यद्यपि राप्रपाले प्रदेशसभाको समानुपातिकको तुलनामा प्रतिनिधिसभाको समानुपातिकमा कम मत पाएको छ । प्रदेशसभातर्फ समानुपातिकमा राप्रपाले १६ हजार ७८३ मत पाएको छ ।

प्रतिनिधिसभाकै समानुपातिकतर्फ कांग्रेसले ७ हजार १६७, माओवादी केन्द्रले २ हजार ९१५ र नेकपा एकीकृत समाजवादीले २ हजार ६५५ मत पाएको छ ।

प्रदेशसभाको समानुपातिकतर्फ एमालेले ११ हजार ७५७, कांग्रेसले ८ हजार ३५९, माओवादी केन्द्रले ३ हजार ५३६, नेकपा एकीकृत समाजवादीले २ हजार ८५३ मत पाएको छ । यी सबैजसो प्रमुख दलले प्रदेशसभाको समानुपातिकको तुलनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा कम मत पाएका छन् । त्यसैले यी सबै पार्टीबाट प्रतिनिधिसभाको समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत गएको आकलन गर्न सकिन्छ ।

काठमाडौं–६

काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल १४ हजार २२१ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९१७ मत पाए । काठमाडौं–६ मै समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो स्थानमा छ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ ११ हजार ९९६ मत पाएको छ, जो सोही पार्टीका शिशिर खनालले प्रत्यक्षतर्फ पाएको भन्दा कम मत हो ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले ८ हजार १९, कांग्रेसले ७ हजार ५७७, माओवादी केन्द्रले एक हजार ८०२ मत पाएका छन् ।

प्रदेशसभातर्फ एमालेले समानुपातिकमा १० हजार १५५ मत पाएको छ, जबकि प्रत्यक्षतर्फ एमालेले समानुपातिकको तुलनामा कम मत पाएको देखिन्छ ।

प्रदेशसभाको समानुपातिकमा कांग्रेसले ८ हजार ९८५, राप्रपाले ७ हजार ९८४, हाम्रो नेपाली पार्टीले २ हजार २११, माओवादी केन्द्रले २ हजार १६ र नेकपा एकीकृत समाजवादीले ८८१ मत पाएका छन् ।

काठमाडौं–७

काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ८ हजार ७४३ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८०० मत पाए । जबकि, यो क्षेत्रमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फको भन्दा बढी मत पाएको छ । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले १० हजार ५८८ मत पाएको छ ।

यस्तै, प्रदेशसभाको समानुपातिकमा एमालेले ७ हजार ६७६, राप्रपाले ७ हजार २१५, कांग्रेसले ५ हजार ६२२, हाम्रो नेपाली पार्टीले ३ हजार ४७५, नेकपा एकीकृत समाजवादीले ३ हजार १९२, माओवादी केन्द्रले २ हजार २० मत पाएका छन् । सत्तारुढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रदेशसभाको समानुपातिकतर्फ पाएको मतलाई नै आधार मान्ने हो भने उक्त मत प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एकीकृत भएको अवस्थामा यो क्षेत्रमा सत्तारुढ गठबन्धनले सहजै जित्ने देखिन्छ । तर यी दलले आफ्ना मत जोगाउन नसक्दा प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गरेको प्रस्ट हुन्छ ।

काठमाडौं–८

काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ १० हजार ११२ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७९ मत पाए । जबकि, समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ८ हजार १०४ मत पाएको छ । समानुपातिकतर्फको तुलनामा प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले दुई हजारभन्दा बढी मत प्राप्त गरेको हो ।

प्रत्यक्षको तुलनामा हाम्रो नेपाली पार्टीले समानुपातिकमा कम मत पाएको छ । सो पार्टीले समानुपातिकमा ५ हजार २३ मतमात्र पाएको छ ।

काठमाडौं–८ मै प्रदेशसभातर्फ राप्रपाले समानुपातिकमा सर्वाधिक ७ हजार २१० मत पाएको छ । जबकि यो पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिकमा भने ४ हजार ९५५ मतमात्र पाएको छ ।

प्रदेशसभाको समानुपातिकमा हाम्रो नेपाली पार्टीले ७ हजार २०३ मत पाउँदा प्रतिनिधिसभातर्फको समानुपातिकमा ५ हजार २३ मतमात्र पाएको छ ।

यस्तै, कांग्रेसले प्रदेशसभातर्फको समानुपातिकमा ४ हजार ९६६, एमालेले ४ हजार ९३५, नेकपा एकीकृत समाजवादीले एक हजार ६६८ र माओवादी केन्द्रले ६०० मत पाएको छ ।

ललितपुर–३

ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसीमा कार्की ३१ हजार १३६ मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले १६ हजार ६५० मत पाएको छ । समानुपातिकको तुलनामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ १४ हजार ४८६ मत बढी पाएको हो ।

जबकि एमालेले समानुपातिकतर्फ १२ हजार २९७ मत पाएको छ । यो क्षेत्रमा कांग्रेसले समानुपातिकतर्फ ८ हजार २४७, माओवादी केन्द्रले ६ हजार ५३१ र नेकपा एकीकृत समाजवादीले एक हजार २२९ मत पाएका छन् ।

प्रदेशसभातर्फको समानुपातिकमा एमालेले १४ हजार ५०४ मत पाएको छ । यस्तै, राप्रपाले प्रदेशसभाको समानुपातिकतर्फ १४ हजार ४६७ मत पाएकोमा प्रतिनिधिसभातर्फको समानुपातिकमा ८ हजार ७८९ मतमात्र पाएको छ ।

प्रदेशसभाको समानुपातिकमा कांग्रेसले ९ हजार ३९१, माओवादी केन्द्रले ७ हजार ५१६, नेकपा एकीकृत समाजवादीले एक हजार ९५० मत पाएको छ ।

चितवन–१

चितवन–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल ३४ हजार २१८ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्रप्रसाद पाण्डेले २६ हजार ६३४ मत पाए । यो क्षेत्रमा समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फकै हाराहारीमा अर्थात् ३४ हजार ६९१ मत पाएको छ । जबकि, एमालेले २४ हजार ६ मत पाएको छ ।

प्रदेशसभातर्फको समानुपातिकमा भने एमालेले ३१ हजार ६०३, कांग्रेसले २३ हजार २०५, माओवादी केन्द्रले ६ हजार २४८ र नेकपा एकीकृत समाजवादीले ४ हजार २८५ मत पाएको छ । सत्तारुढ गठबन्धनले प्रदेशसभाको समानुपातिकमा पाएको मत अनुसार नै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मत पाएको हुन्थ्यो भने यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग कडा टक्कर हुन सक्थ्यो तर यी प्रमुख दलले आफ्नो मत सुरक्षित गर्न नसक्दा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीले बाजी मारेको हो ।

चितवन–२

चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने ४९ हजार ३०० मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाए ।

जबकि समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ३५ हजार ९४५ मत पाएको छ भने एमालेले १६ हजार ७८४ मत पाएको छ । यस्तै, कांग्रेसले १२ हजार १३२, माओवादी केन्द्रले ८ हजार ४०७ र नेकपा एकीकृत समाजवादीले ६१६ मत पाएको छ ।

जबकि, प्रदेशसभातर्फ समानुपातिकमा एमालेले २५ हजार ३४२, कांग्रेसले १९ हजार ५६९, माओवादी केन्द्रले १० हजार ९०१, नेकपा एकीकृत समाजवादीले एक हजार १८० मत पाएको छ । यहाँ प्रदेशसभाको समानुपातिकतर्फको मतलाई नै आधार मान्दा पनि रवि लामिछाने सत्तारुढ गठबन्धन र एमालेमाथि भारी देखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य
लेखकबाट थप