बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सीके राउतसामु चुनौतीका चाङ

बिहीबार, १५ मङ्सिर २०७९, ०७ : ४५
बिहीबार, १५ मङ्सिर २०७९

सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका जनमत पार्टीका अध्यक्ष सीके राउतसमक्ष चुनौतीका चाङ छन् । उनले विभिन्न प्रतिवद्धता जनाएका आधारमा मतदाताले जिताएर पठाएका छन् । ती प्रतिबद्धता पूरा गर्न उनले विभिन्न चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।

प्रतिनिधिसभामा सीके राउतको दलले प्रत्यक्षतर्फ एक सिटमात्र जितेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आफ्नो पार्टीबाट निर्वाचित हुने सीके राउत एक्ला सदस्य हुन् । प्रदेशसभातर्फ उनको पार्टीले ८ सिट प्रत्यक्षमा जितेको छ । मधेस प्रदेशमा सात र लुम्बिनी प्रदेशमा १ गरी जनमत पार्टीले आठ सिट जितेको छ ।

जनमत पार्टीबाट विजयी भएकाहरुमध्ये सीके राउतको चर्चा बढी भइरहेको छ । चर्चा हुनुको कारण जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई उनले हराउनु नै हो ।

सप्तरी–२ मा ९५ हजार ३९४ मतमध्ये ६४ हजार २१९ मत खसेको थियो । त्यसमध्ये ६० हजार ९२१ मत सदर भएको हो । खसेको कुल सदरमध्ये  ३५ हजार ४२ मत जनमत पार्टीका अध्यक्ष राउतले पाएका थिए । त्यो मत कुल मतको ५७.५ प्रतिशत हो । खसेको कुल मतमध्ये जसपाका अध्यक्ष यादवले १६ हजार ९७९ मत ल्याएका छन् । त्यो कुल मतको २७.८ प्रतिशत हुन्छ ।

भारी मतान्तरले सीके राउत विजयी भएपछि उनको चर्चा राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा भइरहेको छ । जनताले सीके राउतको पार्टीबाट निकै अपेक्षा गरेका छन् । त्यही भएर उनको पार्टीलाई जिताएर पठाएका छन् ।

हरेक घर एक रोजगार, किसानको समस्या समाधान, भ्रष्टाचार मुक्त देश, निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य सेवा, स्वराज शासन, प्रत्यक्ष लोकतन्त्र, राइट टु रिकल र राइट टु रिजेक्ट, आर्थिक वृद्धिदर १० प्रतिशत, आर्थिक क्रान्ति, बिजुली र पानी निःशुल्क, १० करोड वृक्षारोपण, डिजिटल सरकार, महिला सुरक्षा, वैज्ञानिक र दिगो पूर्वाधारलगायतका प्रतिवद्धताका आधारमा सीके राउतले जनताको मत पाएका हुन् ।

उनको सबैभन्दा चर्चामा रहेको प्रतिवद्धता १० लाख युवालाई रोजगारी दिने नै हो । घरघर एक रोजगारसहित १० लाख युवालाई रोजगारी दिने प्रतिबद्धता उनले जनाएका थिए । यही प्रतिवद्धताका कारण विदेशमा रहेका युवाले पनि आआफ्नो घरमा फोन गरेर सीके राउतलाई नै मतदान गर्न भनेका थिए ।

सीके राउतलाई मत आउनुमा सबभन्दा ठूलो फ्याक्टर विदेशमा रहेका युवा नै हुन् । उनीहरुले आआफ्ना घरमा राउतलाई मत दिनमात्र भनेनन्, उताबाट सीके राउतलाई सहयोग पनि पठाएका छन् । त्यसको एउटै कारण हो रोजगारी । स्वदेशमै रोजगार पाउने हो भने विदेश आउनु पर्दैन भनेर उनीहरुले सीके राउतलाई भोट दिन आआफ्ना परिवारलाई दबाब दिएका थिए ।

राउतले यी माग पूरा गर्न सक्छन् कि सक्दैनन्, त्यो त आउने दिनले मात्र भन्न सक्छ तर सीके राउतका लागि यी माग पूरा गर्न विभिन्न चुनौती रहने नागरिक समाजका अगुवा बलराम यादव (सप्तरी) ले बताए । प्रतिनिधिसभा र प्रदेशसभामा सीके राउतको जुन उपस्थिति छ, त्यो उपस्थितिले गर्दा उनले गरेका प्रतिवद्धता पूरा गराउन गाह्रो हुने उनले बताए ।

‘राउतले प्रतिवद्धता पूरा गराउन न सदनलाई प्रभावित गर्न सक्छन्, न सरकारलाई नै,’ उनले भने, ‘त्यसैले सीके राउतका लागि अगामी दिन चुनौतीपूर्ण देखिन्छ ।’

मधेसमा जसपा र लोसपाभन्दा सीके राउत नेतृत्वको जनमतलाई फरक देखेर नै जनताले मत दिएको उनको भनाइ छ । देशको साक्षरता दर करिब ६६ प्रतिशत हुँदा सप्तरीको केवल ५४.५ प्रतिशत छ । कम साक्षरता दर भएका जिल्लाहरुमा सप्तरी पनि पर्दछ ।

यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यको रुपमा सप्तरी जिल्लालाई शतप्रतिशत साक्षर जिल्ला बनाउन युद्धस्तरमै काम गर्न साक्षरता सेनानी गठन र परिचालन गरिने तथा कार्यकालको अन्त्यसम्ममा पूर्ण साक्षर जिल्ला बनाइने घोषणा सीके राउतले गरेका छन् ।

सप्तरीमा राजनीतिक र सांस्कृतिक र संस्कारको पुनर्उस्थान गर्न पहिलो पाइलाको रुपमा गजेन्द्रनारायण सिंहले चलाउँदै आएका सप्तरी सेवा आश्रमकै स्वरुपमा एउटा आश्रम सञ्चालनमा ल्याई त्यसलाई जनतासँग दैनिक सम्पर्कको रुपमा प्रयोग गर्ने सीके राउतको प्रतिवद्धता छ ।

सप्तरीमा उपेन्द्र यादवको पालामा थुप्रै काम भएका छन् । त्यसमध्ये कतिपय कामहरु अधुरा छन् । त्यसलाई पूरा गर्न पनि सीके राउतका लागि चुनौती बन्न सक्छ । रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नर्सिङ कलेज, कृषि विश्वविद्यालय लगायतका थुप्रै काम सुरु भएका छन् । ती कामलाई सीके राउतले पूरा गर्छन् कि गर्दैनन् भन्ने सबैको चासोको विषय बनेको छ ।

नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादवले सीके राउतले गरेका प्रतिवद्धतामध्ये २५ प्रतिशत पनि पूरा गरेमा जनताका लागि धेरै हुने टिप्पणी गरे । राजनीतिक दलहरुले चुनाव जित्नका लागि विभिन्न लोभलालच दिने गरेको भन्दै उनले सीके राउतप्रति जनताले धेरै अपेक्षा राखेको बताए ।

अरु दलले प्रतिवद्धता पूरा नगरेको कारण दलहरुप्रति नै वितृष्णा भएका मतदाताले यस पटक सीके राउतप्रति विश्वास प्रकट गरेको उनको भनाइ छ । त्यो विश्वास अगामी दिनमा जोगाइराख्न सीके राउतलाई चुनौती रहेको उनले बताए ।

१० लाखलाई रोजगारी तथा प्रत्येक घरमा रोजगार दिने कुरालाई लिएर मतदाताहरु निकै आकर्षित भएका छन् । सीके राउतले भनेजस्तै विदेशबाट सबै युवा स्वदेश फर्के भने त्यसलाई उनले कसरी व्यवस्थापन गर्छन् भन्नेबारे ठोस योजना बनिसकेको छैन । १० लाख युवालाई रोजगारी दिन कलकारखाना स्थापना गर्नुको साथै शिक्षा, स्वास्थ्य, कृषिमा लगानी बढाउनुपर्ने हुन्छ तर त्यसको तयारी जनमत पार्टीले के–कस्तो गरेको छ भन्ने पनि प्रस्ट भइसकेको छैन ।

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले आफूहरुले जनतासामु गरेका सबै प्रतिवद्धता पूरा हुने बताए । ‘पाँच वर्षमै सबै प्रतिबद्धता पूरा नहुन सक्छ तर हामीले सुरुवात गर्छौं र आउने दिनमा ती सबै पूरा गर्छौं,’ उनले भने ।

देखिने गरी नै आफूहरुले काम सुरु गर्ने र त्यसको तयारी भइरहेको उनको भनाइ छ । उनले भने, ‘विदेशमा रहेकाहरुसँग सम्पर्क भइरहेको छ, उनीहरु नेपालमा कारखाना स्थापना गर्न तयार भएका छन्, शिक्षा, स्वास्थ्यको क्षेत्रमा पनि पार्टीले तयारी थालिसकेको छ ।’

आफूहरुले योजना बिना कुनै प्रतिबद्धता नजनाएको प्रस्ट पार्दै उनले भने, ‘हामीले बिना प्लान यी कुराहरु भनेका छैनौं, पहिला हामीले योजना बनायौं, त्यसको बारेमा अध्ययन ग¥यौं । सम्भव भएपछि मात्र जनतासँग प्रतिवद्धता ग¥यौं । जति प्रतिवद्धता गरेका छौं, ती सबै पूरा गर्न सम्भव छ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप