शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सांसद बनेका फिल्मकर्मी भन्छन् - कला क्षेत्र छोड्दैनौं

बिहीबार, १५ मङ्सिर २०७९, ०७ : ४१
बिहीबार, १५ मङ्सिर २०७९

वैशाखको स्थानीय तथा मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा थुप्रै कलाकर्मी पनि उम्मेदवारको रुपमा देखिए । यी मध्ये अभिनेता, निर्माता रोज राणा तथा निर्माता मदुकुमार श्रेष्ठले मात्रै प्रदेश सभा सांसदमा सफलता हात पार्न सके ।
दुबै नेपाली काँग्रेसबाट उम्मेदवार बनेकोमा रोज प्यूठान प्रदेशसभा ‘ख’ बाट तथा मदुकुमार धादिङ–१ (क) बाट विजयी भएका छन् । २०७४ निर्वाचनमा यसै क्षेत्रबाट पराजय ब्यहोरेका मदुकुमार दोस्रो प्रयासमा र रोजले पहिलो प्रयासमै सफलता हात पारेका हुन् । मदुकुमारले बागमती र राणाले लुम्बिनी प्रदेशको प्रदेशसभा प्रतिनिधित्व गर्नेछन् । 

प्रदेश सभामा आफ्नो प्रतिनिधित्व रहेपनि कलाकर्म भने जारी राख्ने दुबै बताउँछन् । आ–आफ्नो प्रदेशसभामा सशक्त भूमिका निर्वाह गर्दै नेपाली कला र कलाकर्मीको उन्नतिका लागि दिलोज्यान दिएर लाग्ने दुबै बताउँछन् । प्रस्तुत छ, यी दुबैसंग रातोपाटी प्रतिनिधिले गरेको संक्षिप्त कुराकानी :

फिल्मसिटी र कलाकर्मीको हितमा काम गर्छु : मदुकुमार श्रेष्ठ 


 
निर्वाचनमा विजयी प्राप्त गर्नु भयो । कस्तो अनुभव भैरहेको छ ?

विजय भएपछि दुःखी हुने त कुरै भएन । तर, म धेरै खुसी पनि छैन । किनभने एउटा गरुङ्गो भारी बोकेको जस्तो  बोध भएको छ । २०७४ सालमा म पराजय भएको थिएँ । त्यो समय म आत्तिइन, अहिले जित्दा पनि मातिन्न ।

संसदीय राजनीतिमा पहिलो कदम चाल्दै हुनुहुन्छ । कसरी अगाडि बढ्ने सोच्नु भएको छ ?

मेरो क्षेत्रका पब्लिकले जति विश्वास गरेर मलाई जिताउनु भएको छ, त्यो भन्दा बढी काम गरेर देखाउँछु । उहाँहरुको सेवा गर्छु । हामीले जनप्रतिनिधि सही र सक्षम चुनेका रहेछौ भन्ने महसुस कामबाट गराउनेछु ।

जनताको अपेक्षित कार्य गर्न कति चुनौती छ ?

पब्लिकसँग पहिलेदेखि नै भिजिरहेको व्यक्ति भएकाले काम गरेर देखाउन चुनौती छैन । प्रदेशसभामा जाँदै गर्दा पब्लिकले जस्तो कामको अपेक्षा गरेको छन्, त्यो पुरा गर्न चुनौती छ । किनभने म कुनै कार्यकारी पदमा पुगेको पनि छैन । 

प्रदेश सांसदको काम भनेको प्रदेशलाई आवश्यक नीति नियम बनाउने हो । तर, पब्लिकले अपेक्षा भने बाटो पिच, खानेपानी लगायतका विकास निर्माणको रहेको छ । त्यो सबै पुरा गर्न केन्द्र र प्रदेशमा काँग्रेसको सरकार बन्यो भने मलाई धेरै सहज होला । 

प्रा​थामिकतामा के कस्ता काम राख्नु भएको छ ?

प्रदेशको अधिकार र साधन श्रोतले जुन ठाउँमा जे गर्न सकिन्छ, त्यो गर्छु । प्रदेशबाट राख्न सकिने बजेट राखेर स्थानीय सरकारसँग समन्वय गरेर आफ्नो क्षेत्रको विकास, स्वास्थ्य, शिक्षा, खानेपानी र त्यहाँको कृषिका लागि आवश्यक मललगायत विभिन्न ब्यवस्थाको पहल गर्छु । 

तपाईं कला क्षेत्रमा चिनिएको व्यक्ति, संसदमा कला क्षेत्रको प्रतिनिधित्व हुँदा यो क्षेत्रले केही आशा गर्नु स्वभाविक हो ।  कला क्षेत्रका लागि के गर्ने सोच्नु भएको छ ?


– हो, म कलाकार पनि हुँ । कला क्षेत्रको विभिन्न संघसंस्थामा रहेर काम गरेको हिसावले यो क्षेत्रले मबाट अपेक्षा राख्नु स्वाभाविक हो । मेरो चासो, सद्‌भाव पनि त्यो क्षेत्रमा हरहमेशा रहन्छ । 
कला र कलाकारको विकासका लागि एउटा प्रदेश सांसदले निर्वाह गर्ने भूमिका र जिम्मेवारीबाट म कहिल्यै पनि पछि हट्ने छैन ।

कलाक्षेत्रका संघ संस्थासँगको समन्वयमा कला र कलाकर्मीको विकास र बिस्तार गर्ने काम गर्नेछु । प्रदेशबाट कला र कलाक्षेत्रको विकासका लागि फिल्मसिटी निर्माणदेखि अन्य आवश्यक सबै पहल गर्नेछु ।

अब फिल्म अभिनय, निर्माणमा निरन्तरता रहन्छ कि ब्रेक लाग्छ  ?

 कोरोना अगाडि एउटा नयाँ फिल्म निर्माणको तयारीमा जुटेको थिएँ, त्यसलाई कोरोनाले ब्रेक लगायो । त्यो समय फिल्म निर्माणका लागि तयार रकमले मैले फिल्म भन्दा पब्लिकको स्वास्थ्य ठूलो आवश्यकता ठानेर कोरोना र डेङ्गुका लागि खर्च गरे ।

प्रदेश सांसद जितेपनि मेरो कलाक्षेत्र प्रतिको लगाव पहिले झैं छ । अहिले भर्खर चुनाव जितेर आएकोले यो नै गर्छु भन्ने अवस्था छैन । ५ वर्ष सांसद भएको समयमा पनि राम्रो फिल्म निर्माण गरेर कलाक्षेत्रमा पहिले झैं योगदान गरिरहने चाहना भने छ । कलाक्षेत्र कहिल्यै छोड्दिनँ । 

फिल्म क्षेत्रका लागि पनि केही गर्नु छ : रोज राणा

निर्वाचनमा विजयी प्राप्त कस्तो अनुभूति भइरहेको छ ?

काँधमा एउटा जिम्मेवारी थपिएको महसुस गरेको छु । मैले जुन सोचका साथ राजनीतिमा प्रवेश गरेको थिएँ, त्यो सोच पुरा गर्नुपर्छ भन्ने छ ।

पहिलो प्रयासमै संसद हुन सक्नुभयो । एक्सरसाइज राम्रै भयो होला, होइन ?

मैले विद्यार्थी समयदेखि नै राजनीति गर्दै आएको हो । धेरै पटक पार्टीको आन्तरिक प्रतिस्पर्धामा पनि भिडेको हो ।  संसदीय निर्वाचन मात्र मेरो पहिलो थियो । पहिलो प्रयासमै सफलता मिल्यो । सफलताको पछाडि मैले धेरै संघर्ष गरेको छु । ठुलै कठिनाई पार गरेको छु । चुनावले मलाई जित मात्र दिएन, धेरै कुरो सिकाएको छ ।

तपाईंको क्षेत्रमा गठबन्धनका अन्य उम्मेदवारले हार्दा तपाईं एक्लै जंघार पार गर्नु भयो, यो कसरी सम्भव भयो ?

 हामी गठबन्धका साथ चुनावी मैदानमा होमिएका थियौँ । यो निर्वाचनमा आफ्नो क्षेत्रमा गठबन्धका अन्य दुई साथीलाई पार लगाउन सकिएन । म भने पार लागे । जीतपछि मैले बुझेका कुरा त्यहाँ जनता, युवा र सम्पूर्ण जिल्लावासीले मलाई यसले काम गर्न सक्छ, विकासको माध्यमबाट जिल्लामा एउटा राम्रो परिवर्तन ल्याउन सक्छ भनेर विश्वास गरेका हुन् ।

त्यो विश्वासलाई मैले निराश पार्नु हुँदैन । उहाँहरुको भावनाअनुसार काम गर्छु भन्ने प्रतिबद्धता जाहेर गर्छु ।

पब्लिकले विश्वास गरे, उनीहरुको अपेक्षा पुरा गर्न कतिको चुनौती छ ?

 चुनौती त धेरै छन् । त्यो पार गरेर जनताको काम गर्नुपर्छ ।

पहिलो प्रथामिकतामा के कस्ता कार्य राख्नु भएको छ ?

 मेरो जिल्ला प्युठान विकट जिल्लामा पर्छ । त्यो ठाउँमा बाटो निर्माण, शिक्षा, स्वास्थ्य, विजुली र रोजगारी  लगायतका धेरै विकास गर्नुछ । काँग्रेसको घोषणापत्र र मेरो आफ्नो योजना पनि धेरै छन् । त्यो सबै पुरा गर्नुछ ।

कलाकारिता र राजनीति कुन कठिन लाग्यो ?

 कलाकारिता र राजनीति आआफ्नो स्थानमा दुवै कठिन छ । कलाकारिता मेरो व्यवसाय हो । राजनीति शुद्ध समाजसेवा हो । आफ्नो क्षमता, उर्जालगायत हरेक प्रयासबाट पब्लिकको अपेक्षा पुरा गर्छु ।

कलाक्षेत्रको विकासका लागि पनि केही सोच्नु भएको छ कि ?

– चलचित्र उद्योगले मलाई परिचय दिएको छ । विद्यार्थी जीवनमा राजनीतिपछि चलचित्र उद्योगसँग जोडिएँ । त्यस कारण चलचित्र क्षेत्रका लागि पनि मेरो एउटा कर्तव्य, दायित्व छ । चलचित्र उद्योगलाई अगाडि बढाउन र कला, संस्कृतिको जर्गेना गर्न मबाट हुने सबै कार्य गर्छु । 

कला क्षेत्रका लागि राज्यबाट बढी भन्दा बढी सेवा सुविधा दिने कोसिस गर्छु । कला क्षेत्रमा राज्यको आँखा परेको छैन । झक्झकाएर आँखा पर्ने काम गर्छु । त्यसको सुरुवात मेरो प्रदेशबाट हुन्छ । चलचित्र मनोरञ्जन मात्र होइन, यसले देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चिनाउँछ भन्ने बुझाउँछु ।

पहिले झै फिल्म निर्माण पनि गर्नुहुन्छ कि ?

– फिल्म निर्माण कार्य पनि निरन्तर रहन्छ । यो मेरो व्यवसाय हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप