बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डिजिटल प्रविधिसँग जोडिँदै मुस्ताङका महिला उद्यमी

बुधबार, १४ मङ्सिर २०७९, २२ : २१
बुधबार, १४ मङ्सिर २०७९

मुस्ताङमा उत्पादित विभिन्न सामग्री सूचना प्रविधिको सहयोगमा विश्वभर बिक्री गर्न पहल सुरु गरिएको छ । सूचना प्रविधिसँग महिला उद्यमी र लैङ्गिक विभेदतासम्बन्धी कार्यक्रममार्फत जिल्लाका उद्यमीहरूलाई डिजिटल प्रविधिसम्बन्धी ज्ञान उपलब्ध गराइएको हो । 

दक्षिण एसियाली महिला विकास मञ्चको आयोजनामा भएको कार्यक्रममा जोेमसोम सदरमुकाम आसपासका महिला उद्यमीको बाक्लो उपस्थिति थियो । पहिलोपटक मुस्ताङमा आयोजना भएको विद्युतीय (डिजिटल) युगमा नेपाली महिला उद्यमीको अवस्थाका साथै महिलामाथि हुने लैङ्गिक विभेदसम्बन्धी अनुसन्धानले मुस्ताङका महिला दिदी बहिनीलाई राहत मिलेको जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङले बताइन् ।

सडक सञ्जालले नछोएको विकट गाउँबाट समेत महिला उद्यमीको उपस्थिति रहेको छ । गण्डकी प्रदेशका कास्की, तनहुँ, लमजुङ, बागलुङ र आजदेखि मुस्ताङ गरी पाँचवटै जिल्लामा सबै महिला उद्यमीको अनुसन्धान सुरु भएको सिनियर अनुसन्धानकर्ता रितेश ठाकुरले बताए । डिजिटल प्रविधिको आधुनिक युगमा सञ्चारमाध्यमबाट कोही टाढा नभएको ठाकुरले उल्लेख गरे ।

सबैको हात हातमा मोबाइल र घर घरमा टिभी, ल्यापटपजस्ता सञ्चारमाध्यम हुने गरेको र त्यसलाई नै भरपूर प्रयोग गर्नुपर्नेमा उनको जोड थियो । आफूले उत्पादन गरेका सामग्रीलाई सहजै विज्ञापन गर्न र बजार विश्वभरि फैलाउन सकिने ठाकुरले बताए ।

आधुनिक युगमा पहुँच निर्धारण गर्न महिला स्वयं अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले भने, “मुस्ताङका महिला दिदी बहिनीको आर्थिक स्थिति सुधार गर्न र वित्तीय कारोबारमा अग्रसर हुन जरुरी छ ।” 

महिला उद्यमी सङ्घ जिल्ला कमिटी मुस्ताङकी अध्यक्ष सुकुन रसाइलीले महिला उद्यमीलाई डिजिटल प्रविधिसँग जोडेर व्यवसायी सञ्चालन गरिनुपर्ने बताए । उनले उद्यमीका लागि सहज वातावरण सिर्जना गर्दै जिल्लाको अथाह स्रोत र साधनलाई बजारीकरण गर्न पहल गरिनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप