बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

डोजर आतङ्क बन्द गर्न महानगरलाई चेतावनी

बुधबार, १४ मङ्सिर २०७९, १९ : १९
बुधबार, १४ मङ्सिर २०७९

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले सुकुम्बासी बस्तीमा डोजर लगाउने कार्य तत्काल रोक्न माग गरेको छ । महानगरपालिकाको यो कदम संविधान तथा कानुन विपरीत र मानवअधिकार विरोधी भएको भन्दै महासंघले निन्दा तथा भर्त्सना समेत गरेको छ ।

महानगरपालिकाले मच्चाएको डोजर आतंकको विरुद्ध जनताले गरेको प्रतिरोध स्वाभाविक रहेको बताउँदै महासंघले भूमिहीन दलित, सकुम्बासी र अव्यवस्थित बसोबासीहरूको संघर्षमा ऐक्यबद्धता प्रकट गरेको छ । गरिब तथा निमुखा जनतामाथि डोजरको बलमा आतङ्क मच्चाउने र सुरक्षाकर्मीको बलमा दमन गर्ने दुस्साहस नगर्न महासंघले चेतावनीसमेत दिएको छ । फेरि पनि डोजर प्रयोग गरिएमा उत्पन्न परिस्थितिको जिम्मेवार काठमाडौँ महानगरपालिका स्वयं हुने चेतावनी महासंघको चेतावनी छ ।

यता देशभरका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीहरूलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि नेपाल सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेको, त्यसका लागि राष्ट्रिय भूमि आयोग र काठमाडौँ महानगरपालिकाको बीचमा कार्यसहमति पत्रमा हस्ताक्षर गरी लगत संकलनसम्बन्धी सूचना प्रकाशन भइसकेको कुरा महासंघले स्मरण गराएको छ । ‘यस्तो अवस्थामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निवेदन फाराम भराई लगत संकलन गर्ने, प्रमाणीकरण गर्ने र दस्तावेजीकरण गरी राष्ट्रिय भूमि आयोगमा सिफारिस गर्नुको सट्टा काठमाडौँ महानगरपालिकाले थापाथली क्षेत्रमा सुकुम्बासी वस्ती भत्काउन डोजर र सुरक्षाकर्मी लिएर पुग्नु भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संविधानप्रदत्त अधिकार हनन् गर्ने, नागरिकहरूको मानव अधिकार उलंघन गर्ने, राष्ट्रिय भूमि आयोगको काममा बाधा पार्ने र सर्वसाधारणमाथि डोजर आतङ्क मच्चाउने खालको छ,’ अध्यक्ष चित्रबहादुर श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

महासंघले महानगरपालिकाभरका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन फाराम भराई लगत संकलन गर्न र प्रमाणीकरण गराई आफ्ना नागरिकहरूको संविधानप्रदत्त अधिकार सुनिश्चित गराउन माग गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप