बेलायतको रोयल एसियाटिक सोसाइटीमा ‘प्रा. सूर्य सुवेदी पुरस्कार’ को स्थापना
बेलायतको रोयल एसियाटिक सोसाइटीले प्रत्येक वर्ष नेपालबारे अंग्रेजीमा विश्वभर प्रकाशित हुने विशिष्ट पुस्तक वा आलेखलाई प्रदान गरिने प्रा सूर्य प्रसाद सुवेदीको नाममा एक पुरस्कार स्थापना गरेको छ। रोयल सोसाइटीले लण्डनमा आज प्रकाशित गरेको सूचना अनुसार उक्त पुरष्कार सन् २०२३ देखि हरेक वर्ष प्रदान गरिनेछ। यसका साथै रोयल एसियाटिक सोसाइटीले उक्त पुरष्कार विजेताबाट प्रत्येक वर्ष सुवेदीको नाममा एक प्राज्ञिक प्रवचन आयोजना गर्ने पनि बताएको छ । अक्सफोर्ड विश्वविद्यालयमा झन्डै तीन दशकसँगै अध्ययन गरेका सुवेदीका सहपाठी अमेरिकन नागरिक डा. जेम्स बुसुटिलले आफ्नै खर्चमा रोयल एसियाटिक सोसाइटीमा ‘प्रा. सूर्य सुवेदी पुरस्कार’ स्थापना गरेका हुन्।
डा. बुसुटिलले भने, 'सूर्य सुवेदीसंगको मेरो लामो मित्रता, ब्रिटेनको प्राज्ञिक तथा कानुनी क्षेत्रमा उनलाई गरिने सम्मान र नेपाल तथा ब्रिटेनबीच असल सम्बन्ध प्रवर्द्धन गर्न उनले पुर्याईरहेको योगदानको सम्मान स्वरुप मैले आफ्नै खर्चमा ‘सूर्य सुवेदी’ पुरष्कार स्थापना गर्ने निधो गरें । यसका लागि मैले ग्रेट ब्रिटेन र आयरल्याण्डका लागि रोयल एसियाटिक सोसाइटीसंग सम्पर्क गरे। मेरो अनुरोधबारे सोचविचार गरे पछि रोयल एसियाटिक सोसाइटीको परिषद्ले अघिल्लो वर्ष नेपालबारे अंग्रेजीमा प्रकाशित कुनै पुस्तक वा आलेखलाई वर्षेनी उक्त पुरस्कार प्रदान गर्न सहमति जनायो। सूर्यको नाम आउंदा कैयौं पुस्ताहरुसम्म पनि जीवन्त रहोस् भन्ने उद्देश्यले यो पुरष्कारलाई स्थायी स्वरुप दिइएको छ।’
प्रा सुवेदी नेपालको मात्र नभइ बेलायतको प्राज्ञिक क्षेत्रमा समेत स्थापित नाम हो। लमजुङमा जन्मिएर हुर्केका अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली र अक्सफोर्डबाटै कानूनमा महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधिसमेत हासिल गर्ने सुवेदी सम्भवतः सबैभन्दा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय मान सम्मान पाउने नेपाली समेत हुन् । मानव अधिकार र अन्तर्राष्ट्रिय कानूनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै बेलायतकी महारानीबाट उनले मानार्थ ओबीई र मानार्थ क्विन्स काउन्सेल जस्ता विशिष्ट कानूनविदहरुलाई दिइने उच्च उपाधि प्राप्त गरेका थिए । मुलुकलाई महत्वपूर्ण योगदान दिए बापत उनले नेपालका राजा र राष्ट्रपति दुवैबाट उच्चस्तरका मान-पदवी पाएका छन्।
प्रा सुवेदी न्याय र कानूनको क्षेत्रमा उनी संसारकै प्रतिष्ठित व्यक्तित्वभित्र पर्दछन् । भौतिक रूपमा विदेशमा रहेपनि निरन्तर मुलुकको सेवा गर्दै आएका सुवेदीले सरकारमा जो आएपनि परि आउँदा राष्ट्रहितका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय कानुनका महत्वपूर्ण विषयमा सबैका साझा व्यक्तिको रूपमा नेपालका सबै प्रकारका सरकारलाई सल्लाह दिंदै आएका छन्।
उदाहरणार्थ, सन् १९८९ को भारतीय नाकाबन्दीको समय राजा वीरेन्द्र र परराष्ट्र मन्त्रालयको अन्तर्राष्ट्रिय कानूनी सल्लाहकार भएर, नेपालको नयाँ नक्सा समावेश गरेर संविधान संसोधन गर्दा र त्यसपछिको नीति निर्माण गर्न सन् २०२० मा प्रधानमन्त्री केपी ओलीको समयमा नेपाल सरकारले गठन गरेको नेपाल–भारत सिमा सम्बन्धि विज्ञ समूहको सदस्यको रूपमा र त्यसपछि नेपालको नीति प्रतिष्ठानको परराष्ट्र विषयको विशिष्ट सल्लाहकार भएर समेत प्रा सुवेदीले आफ्नो भूमिका निर्वाह गरेका छन्।
त्यसै गरि सन् २०२२ मा अमेरिकासंगको एमसीसी सम्झौता संसदले अनुमोदन गर्ने कार्यमा उनले दिएको अन्तर्राष्ट्रिय कानूनी सल्लाहले एक किसिमले निर्णायक भूमिका खेलेको कुरा सत्तासीन सरकारका प्रमुख नेताहरुले सार्वजनिक रूपमै व्यक्त गरेका थिए। उनले अन्तरराष्ट्रिय कानूनका प्राय: सबै आयाम हरुमा १२ वटा विश्व स्तरका ग्रन्थ र पाँच दर्जन भन्दा बढी अनुसन्धात्मक लेखहरु संसारका ख्याति प्राप्त जर्नलहरुमा प्रकाशित गरेका छन् । प्रा सुवेदीले नेपाल र बेलायत लगायत चीन, नेदरल्यान्ड्स, भियतनाम, इन्डोनेसिया, लाओस र कतार गरि १० वटा देशहरुलाई कानुनी सल्लाह दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन तस्कर र कर्मचारीबिच कनेक्सनको गहिराइबारे अध्ययन गर्दै सहसचिव नेतृत्वको समिति
-
प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन
-
विराट गोल्डकप : आर्मीलाई पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा
-
नेपालमा धर्म परिवर्तन डरलाग्दो समस्या भयो : कमल थापा
-
खराब मौसमका कारण दुई सयभन्दा बढी विदेशी पर्यटक मन्थलीमा रोकिए
-
नाउपाका नेता घनश्याम चौधरी भन्छन्– सुदूरपश्चिम सरकारबाट हामी फिर्ता हुँदैनौँ