शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिमको पार्टी नतिजाबारे गम्भीर समीक्षा गछौं : खगराज भट्ट

बुधबार, १४ मङ्सिर २०७९, १६ : ३१
बुधबार, १४ मङ्सिर २०७९

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् सुदूरपश्चिम प्रदेशका इन्चार्ज खगराज भट्टले पार्टीले हासिल गरेको नतिजाका विषयमा बैठकमा गम्भीर छलफल हुने बताएका छन् । डडेलधुरा प्रदेश सभा १ बाट निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिइरहेका भट्टले रातोपाटीसँगको टेलिफोन कुराकानीमा पार्टीले प्रदेशमा हासिल गरेको नतिजाका विषयमा छलफल हुने बताएका हुन् । 

‘हामीले प्रदेशसभामा राम्रै नतिजा ल्याएका छौं । नराम्रो नतिजा भन्न मिल्दैन । प्रतिनिधिसभामा जुन निराशाजनक नतिजा हात लाग्यो । यसका विभिन्न फ्याक्टरहरु छन्’ रातोपाटीसँग कुरा गर्दै भट्टले भने– ‘अहिलै सबै कुरा बाहिर भन्दा ठीक हुँदैन । प्रदेशको बैठकमा यस विषयमा गम्भीर छलफल पक्कै छौँ ।’ कैलालीमा नागरिक उन्मुक्ति पार्टी र बैतडीमा कांग्रेसकै बागीले समस्या भएको भट्टको भनाई छ । कञ्चनपुरका सन्दर्भमा पार्टीभित्र अन्तर्घात भयो कि गठबन्धन दलको भोट ट्रान्सफर भयो के भयो त्यस विषयमा बुझेर मात्रै भन्न सकिने उनले बताए ।

‘अहिले निर्वाचन भर्खरै सकियो । मतदातालाई धन्यवाद दिने काम भई रहेको छ’ भट्टले भने, ‘अब सबै जिल्लाबाट रिपोर्ट ल्याउँछौँ । सम्बन्धित क्षेत्रका उम्मेदवारसँग कुराकानी हुन्छ । त्यसपछि मात्रै पार्टी पराजितका विषयमा तथ्यमा टेकेर भन्न सक्छौँ ।’ अहिले नै प्रतिनिधिसभामा सुदूरपश्चिम किन कमजोर भयो भन्न नसकिने भट्टले बताए । 

माओवादीले बैतडीबाट प्रतिनिधिसभामा नरेन्द्रबहादुर कुँवर, कञ्चनपुर १ बाट बीना मगर, कैलाली–२ बाट भगतबहादुर बडुवाल, कैलाली–३ बाट कृष्णकुमार चौधरी पराजित भएका छन् । २०७४ सालको चुनावमा भने तीनजना निर्वाचित भएका थिए । जसमा लेखराज भट्ट, बीना मगर र गौरीशंकर चौधरी थिए । भट्ट र चौधरी एमाले प्रवेश गरेका थिए भने मगर माओवादीमै थिइन् । प्रदेशसभामा भने माओवादीले ८ सिट जितिसकेको छ । बाजुराको नतिजा भने आइसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप