बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रोचक मोडमा समूह सी : अन्तिम १६ मा पुग्ने कसको सम्भावना कति ?

बुधबार, १४ मङ्सिर २०७९, १६ : १५
बुधबार, १४ मङ्सिर २०७९

विश्वकप फुटबलमा यतिबेला समूह चरणका अन्तिम खेलहरू धमाधम भइरहेका छन् । बुधबार राति समूह सीका ​चारै टोली एकै समयमा मैदानमा उत्रदैछन् । यो समूह यतिबेला रोचक मोडमा छ । २ खेलपछि चारवटै टोलीको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बाँकी रहेको छ । चारमध्ये तीन टोली समूहमा पहिलो हुँदै अन्तिम १६ मा साबिक विजेता फ्रान्ससँगको सम्भावित भिडन्त टार्ने प्रयासमा छन् । 

हालसम्मको नतिजा अनुसार पोल्याण्ड ४ अङ्कसहित समूहको शीर्ष स्थानमा रहेको छ । अर्जेन्टिना र साउदी अरेबियाको समान ३–३ अङ्क रहेको छ । मेक्सिको १ अङ्कसहित पुछारमा रहे पनि गणितीय रूपमा उसको नकआउट चरण पुग्ने सम्भावना भने बाँकी रहेको छ । तर यसका लागि उसले अन्य समूहको नतिजामा भर पर्नुपर्ने हुन्छ । 

पोल्याण्ड

समूह सी मा हाल पोल्याण्ड शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा मेक्सिकोसँग बराबरी खेलेको पोल्याण्डले दोस्रो खेलमा साउदी अरेबियालाई २–० गोलले हराएको थियो । अब अन्तिम १६ मा प्रवेश पाउनका लागि टोलीलाई अन्तिम खेलमा बराबरी गरे पुग्छ । समूहमा शीर्ष स्थान पक्का गर्न उसलाई जीतको आवश्यकता पर्नेछ । बराबरी गर्दा पनि साउदीले मेक्सिकोलाई हराएन भने पोल्याण्ड स्वतः शीर्ष स्थानमा रहनेछ ।

तर अन्तिम खेल पोल्याण्डलाई सहज छैन । किनभने उसको सामना लियोनेल मेस्सीको अर्जेन्टिनासँग रहेको छ । पहिलो खेलमा पराजित भएको अर्जेन्टिनाले साउदी विरुद्ध पुनरागमन गर्दै लयमा फर्कने प्रयासमा रहेको छ ।

पोल्याण्ड अर्जेन्टिनासँग हार्ने हो भने र उता साउदी अरेबियाले मेक्सिकोलाई हराउने हो भने पोल्याण्ड प्रतियोगिताबाट बाहिरिने छ । तर, यता पोल्याण्ड हार्ने र उता साउदी अरेबियाले बराबरी खेल्ने हो भने दुई टोलीको समान ४ अङ्क हुनेछ । यसमा गोलअन्तरले प्रमुख भूमिका खेल्नेछ ।

त्यस्तै, पोल्याण्ड हार्ने र उता मेक्सिको जित्दा पनि दुई टोलीको समान ४ अङ्क हुनेछ । यस्तो बेला पनि गोलअन्तरले को नकआउट चरणमा पुग्छ भन्ने निर्णय हुनेछ ।

अर्जेन्टिना

पहिलो दुई खेलमा अपेक्षित प्रदर्शन गर्न नसकेको अर्जेन्टिनासँग ३ अङ्क रहेको छ । पोल्याण्डविरुद्धको खेलमा जीत हासिल गरे अर्जेन्टिना नकआउट चरणमा प्रवेश गर्ने पक्कापक्की हुनेछ भने साउदीले मेक्सिकोलाई २ गोलभन्दा बढीको अन्तरले नजिते समूहको शीर्ष स्थान कब्जा गर्नेछ । 

पोल्याण्डसँग बराबरी खेल्दा उता साउदी र मेक्सिकोले बराबरी खेल्यो भने मात्र अर्जेन्टिना अर्को चरणमा प्रवेश गर्नेछ । यस्तोमा साउदी अरेबियाले जीत हासिल गर्यो भने अर्जेन्टिना घर फर्कनुपर्ने हुन्छ ।

मेक्सिकोले साउदी अरेबियालाई हराउँदा अर्जेन्टिना बराबरीमा रोकियो भने दुई टोलीबीचको चुनाव गोलअन्तरले हुनेछ । यसका लागि मेक्सिकोले ४ वा सोभन्दा बढीको गोलअन्तरले खेल जित्नुपर्छ । पोल्याण्डसँग हारेको खण्डमा अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिनेछ ।

साउदी अरेबिया

पोल्याण्डसँग २–० गोलले पराजित भए पनि पहिलो खेलमा अर्जेन्टिनालाई स्तब्ध बनाएको कारण साउदीको नकआउट चरणमा पुग्ने सम्भावना कायम रहेको छ । आजको खेलमा मेक्सिकोलाई हराए साउदी नकआउट चरणमा प्रवेश गर्ने छ । यस्तोमा अर्जेन्टिना र पोल्याण्ड बराबरी खेले साउदी समूहको शीर्ष स्थानमा पुग्नेछ । अर्जेन्टिनाले पोल्याण्डलाई हराउँदा पनि गोलअन्तर राम्रो भयो भने साउदी नै शीर्ष स्थानमा राम्रो रहने सम्भावना रहन्छ ।

साउदी बराबरीमा रोकियो भने अर्को चरणमा प्रवेश पाउन पोल्याण्डले अर्जेन्टिनालाई हराउनुपर्छ । तर पोल्याण्ड र अर्जेन्टनाले बराबरी गरे साउदी प्रतियोगिताबाट बाहिरिनेछ ।

साउदीले बराबरी खेल्दा अर्जेन्टिनाले पोल्याण्डलाई हरायो भने पनि साउदी अर्को चरणमा प्रवेश पाउने सम्भावना कायम रहन्छ । यसको छिनोफानो गोलअन्तरले हुनेछ । तर पोल्याण्डलाई अहिले ३ गोलको फाइदा रहेको छ । मेक्सिकोसँग हारे टोली स्वतः बाहिरिनेछ ।

मेक्सिको

यो समूहबाट अर्को चरणमा पुग्ने सबैभन्दा खराब स्थितिमा मेक्सिको रहेको छ । अर्को चरणमा पुग्नका लागि मेक्सिकोले साउदी अरेबियालाई हराउनुपर्ने हुन्छ । तर, उता पोल्याण्डले पनि अर्जेन्टिनालाई हराउनुपर्नेछ ।

अर्जेन्टिना र पोल्याण्डले बराबरी गरे अर्जेन्टिना र मेक्सिकोबीच को अर्को चरणमा जान्छ भन्ने कुरा गोलअन्तरले निर्णय हुनेछ । अर्जेन्टिनाले पोल्याण्डलाई हराउँदा र यता मेक्सिकोले जित्दा पोल्याण्ड र मेक्सिकोबीच दोस्रो स्थानका लागि सङ्घर्ष हुनेछ । यसमा गोलअन्तर निर्णायक हुनेछ ।बराबरी वा पराजित भए मेक्सिको समूह चरणबाट नै घर फर्कनुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप