शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निहारिका प्रकरण : उच्च अदालत जनकपुरमा सुनुवाइ सुरु, आजै फैसला आउन सक्ने

बुधबार, १४ मङ्सिर २०७९, ०० : ००
बुधबार, १४ मङ्सिर २०७९

कुमारी आमाको नामले परिचित सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपुतको मुद्दामा उच्च अदालत जनकपुरमा सुनुवाइ सुरु भएको छ । बुधबार उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र डालकुमार खड्काको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ ।

आफूलाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको भन्दै निहारिकाले आफ्ना प्रेमी शिवराज श्रेष्ठमाथि धनुषा जिल्ला अदालतमा जबर्जस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएकी थिइन् । बच्चासमेत जन्मिसकेको अवस्थामा धनुषा जिल्ला अदालतले तत्कालीन समयमा आपसी सहमतिमै यौनसम्बन्ध स्थापित भएको देखिएको र आपसी सहमतिको यौनसम्बन्धलाई बलात्कार भन्न नमिल्ने भन्दै प्रतिवादी शिवराज श्रेष्ठलाई सफाई दिएको थियो । साथै अदालतले नाता कायमका लागि अर्कै कानुनी प्रक्रियामा जानसमेत सुझाएको थियो । 

तर जिल्ला अदालतको फैसलामा असन्तुष्टि जनाउँदै निहारिकाले काठमाडौंमा अनसन समेत बसी ‘न्याय’को माग गरेकी थिइन् । निहारिकाको आन्दोलन लगत्तै सरकारी वकिल कार्यालय पुनरावेदनका लागि उच्च अदालत जनकपुरमा पुगेको थियो । निहारिकाले आफूमाथि अन्याय भएको भन्दै राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयाससमेत गरेकी थिइन् । त्यसलगत्तै सरकारसँग वार्ता गरी प्रतिवादी शिवराज श्रेष्ठ र निहारिकाबाट जन्म भएको बालकको डिएनए टेष्ट गराउने गरी सहमति गरिएको थियो । 

सहमति अनुसार सरकारी वकिलले उच्च अदालत जनकपुरमा प्रतिवादी र बालकको डीएनए म्याच गराउन राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा पठाएको थियो । उक्त टेष्टमा डीएनए म्याचिङ भएको थियो ।  डीएनए टेष्टपछि बुधबार उच्च अदालत जनकपुरमा उक्त मुद्दाको सुनुवाइ भइरहेको छ । वादी नेपाल सरकार र निहारिकाका तर्फबाट वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानासहितका ५ जना सरकारी तथा निजी वकिलले बहस गर्ने तयारी गरेका छन् । प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता श्यामकुमार मिश्र, अधिवक्ता प्रदीप मिश्रा र अधिवक्ता मनिषकुमार श्रेष्ठले बहस गर्ने भएका छन्

बुधबार खाजा समयपछि सुरु भएको बहस आजै सकिने सम्भावना भने न्यून छ । ढिलो समयसम्म बहस भई बहस सकिएमा आजै आदेश वा फैसला आउनसक्ने सम्भावना रहेको छ । आजै बहस नसकिएमा हेर्दाहेर्दैमा राखेर भोलि बिहानबाट पुनः सुनुवाइ गर्ने वा अन्य आदेश दिएर थप बुझ्ने समेत हुन सक्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप