शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा एमाले, माओवादी र जसपा खुम्चिँदा राप्रपाको प्रगति

बुधबार, १४ मङ्सिर २०७९, १५ : ४३
बुधबार, १४ मङ्सिर २०७९

२०७४ सालको निर्वाचनमा प्रदेश १ को प्रदेशसभा एक्लै बहुमत सांसद संख्या जितेको नेकपा एमाले यस पटक भने उसले सरकार बनाउन अरू नै दलको सहारा लिनुपर्ने भएको छ । २०७४ सालमा एमालेले प्रत्यक्षमा ३६ र समानुपातिकमा १५ सिट गरेर ५१ सिट संख्या एक्लै जितेको थियो । उक्त संख्या प्रदेशसभामा रहने ९३ को बहुमत हो । यता, एमालेसँग तालमेल गरेर चुनावमा गएको तत्कालीन माओवादी केन्द्रले पनि प्रत्यक्षमा १० र समानुपातिकमा ५ सिट ल्याउँदै १५ सिट कायम गरेको थियो ।

यस्तै एकल ढंगले चुनाव लडेको नेपाली काँग्रेसले भने ५६ मा ८ वटा प्रत्यक्ष जित्दै समानुपातिकमा १३ थप गरेर २१ सिट जितेको थियो । यस्तै संघीय समाजवादीले १ र स्वतन्त्रले १ सिट प्रत्यक्षमा जितेको थियो । समानुपातिकमा भने संघीय समाजवादीले २, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १–१ सिट जितेका थिए । 

भर्खरै सम्पन्न निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फको मतगणना सकिँनै लाग्दा नेकपा एमालेले अघिल्लो पटक भन्दा १२ सिट कम ल्याउने देखिएको छ । एमालेले अघिल्लो पटक ३५ सिट जितेपनि यो पटक प्रत्यक्षतर्फ २५ मा सीमित भएको छ । यस्तै समानुपातिकमा अघिल्लो पटक १५ सिट जितेको एमालेले यस पटक १४ मा सीमित हुनुपर्ने देखिन्छ । यस्तै काँग्रेसले भने अघिल्लो पटक भन्दा प्रत्यक्षमा ९ सिट बढी र समानुपातिकमा १ सिट कम हुँदा पनि ८ सिट बढाउँदै सिट संख्या जम्मा २९ पुर्याउने देखिएको छ । माओवादी केन्द्रको भने प्रत्यक्षमा १ र समानुपातिकमा १ सिट घट्ने देखिएको छ । उसले प्रत्यक्षमा ९ सिट जित्दा समानुपातिकमा ४ सिट ल्याउने देखिन्छ । 

यता, अघिल्लो पटक समानुपातिकमा १ सिटको प्रतिनिधित्व गरेको राप्रपाले उल्लेख्य सिट पाउने देखिन्छ । यस पटक राप्रपाले प्रत्यक्षमा २ र समानुपातिकमा ४ सिट पक्का गर्ने देखिएको छ । यस्तै एमालेबाट विभाजित भएर बनेको पार्टी नेकपा एकीकृत समाजवादीले भने प्रत्यक्षमा ३ र समानुपातिकमा १ गरी ४ सिट ल्याउने देखिन्छ ।

उता, अघिल्लो पटक एक सिट प्रत्यक्ष र २ सिट समानुपातिकमा जितेको जनता समाजवादीले भने यो पटक समानुपातिक १ सिटमा चित्त बुझाउनु पर्ने देखिन्छ । अघिल्लो पटक १ सिट समानपातिकबाट पाएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको भने अबको संसदमा प्रतिनिधित्व नहुने देखिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप