मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

दक्षिण कोरियामा विशेष शैक्षिक सम्मेलन सम्पन्न

बुधबार, १४ मङ्सिर २०७९, १५ : ३१
बुधबार, १४ मङ्सिर २०७९

दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थीहरूको संस्था नेपाली विद्यार्थी समाज, कोरिया (सोनसिक) को शैक्षिक सम्मेलन सम्पन्न भएको छ । २६ र २७ नोभेम्बरमा सम्पन्न भएको दुई दिने विशेष शैक्षिक सम्मेलनमा विषय विज्ञबीच अन्तरक्रिया गरिएको थियो । 

सम्मेलनमा कोरिया तथा विदेशका विभिन्न संघ–संस्था तथा विश्वविद्यालयका वैज्ञानिक, अनुसन्धानकर्ता तथा विभिन्न विद्याका विद्यार्थीहरूको सहभागिता रहेको थियो । सम्मेलनबाट विभिन्न विधाअनुसार छुट्टाछुट्टै शैक्षिक सत्र चलेका र सम्बन्धित विधाका वरिष्ठहरूलाई उक्त सत्रको नेतृत्व दिइएको सम्मेलनका संयोजक मनोज कुमारले बताए ।

हरेक विधामा हालसम्म भइरहेका विभिन्न अनुसन्धानलाई मौखिक तथा पोष्टर गरी ७० भन्दा बढी प्रस्तुति राखिएको थियो । उक्त सम्मेलनमार्फत कोरियामा रहेका विभिन्न विद्या र संकायका विषयविज्ञ तथा विद्यार्थीहरूबीच अन्तरक्रिया गराइएको सोनसिकका अध्यक्ष मनीष पाण्डेले जानकारी दिए । उक्त सम्मेलनमा इन्जिनियरिङ, आईटी, प्राकृतिक विज्ञान, मेडिकल, समाजशास्त्र लगायतका विषयका विद्यार्थी तथा विज्ञहरुबीच अन्तरक्रिया गरिएको थियो ।  

कोरियाको थेगुस्थित खेम्यङ्ग युनिभर्सिटी अन्तर्गत आइएलआईपीएस (ILIPS) इन्स्टिच्युटको ५० औं वार्षिकोत्सवको अवसर सारेर संयुक्त रूपमा आयोजना गरिएको थियो ।  ‘एकेडेमियाको यात्राः विविध विधामा अनुसन्धानका समकालिन प्रवृतिहरूको अन्वेषण’ विषयक सम्मेलनमा अर्थशास्त्री प्रा.डा.विश्वम्भर प्याकुरेल, डा.अग्नि कोइराला, डा.सृजना ज्ञवाली र प्रा.डा.एन्जेलिटा क्रुजले आफ्नो धारणा राखेका थिए । 

ILIPS कि अध्यक्ष नयोङ आह वैज्ञानिक समितिका अध्यक्षहरू डा.अग्निराज कोइराला र डा. मधु सुदन अत्तरेय, वैज्ञानिक समितिका सदस्यहरू डा.इन्दिरा तिवारी, डा.प्रकाश देवकोटा, डा.केशव थापा, डा.सृजना ज्ञवाली, डा.रामहरि दाहाल, डा. प्रदीप अधिकारी र डा.गणश्याम ज्ञवाली लगायतको सहभागिता रहेको थियो । कार्यक्रमलाई सहायक प्राध्यापक डा.सिद्धार्थविक्रम पाण्डे र विक्रम खड्काले सहजीकरण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप