मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

५ वर्षे परिवर्तन : प्रमुख तीन पार्टीको भोट घट्दा राप्रपाको ‘पुनरागमन’, विवेकशील साझा पत्तासाफ

राष्ट्रिय स्वतन्त्र पार्टी एकै प्रयासमा उदायो, कसको कति मत घट्यो ?
बुधबार, १४ मङ्सिर २०७९, १५ : ११
बुधबार, १४ मङ्सिर २०७९

आम निर्वाचन २०७४ मा ५ वटा पार्टीमात्रै राष्ट्रिय पार्टीका रूपमा दर्ज भएका थिए । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित तत्कालीन राजपा र संघीय समाजवादी फोरम नेपाल राष्ट्रिय पार्टीका रूपमा दर्ज भएका थिए । राम्रो मत हुँदाहुँदै पनि थ्रेस होल्ड नकट्दा विवेकशील साझा पार्टी, राप्रपा, राप्रपा प्रजातान्त्रिक जस्ता दल राष्ट्रिय दल हुन सकेनन् । 

५ वर्षको अवधिमा नेपाली राजनीतिमा मतदाताको मुडमा धेरै परिवर्तन पाइएको छ । यो निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी उदायो भने पुरानै पार्टीबाट पनि राप्रपा, जनमत जस्ता पार्टी राष्ट्रिय दलको रूपमा दर्ज हुन सफल भए । समानुपातिकतर्फकै मतको परिणाम हेर्दा प्रमुख दलको मत घटेको देखिएको छ भने राप्रपा, जनमत जस्ता पार्टीले राम्रो नतिजा निकाल्दै आफूलाई स्थापित गर्न सफल भएका छन् । पहिलो पटक चुनावी मैदानमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिकमा चौथो लोकप्रिय मत पाएको छ । 

०७४ को नतिजा

संविधानसभाबाट संविधान जारी भएपछि पहिलो पटक २०७४ सालमा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ नेकपा एमालेले कुल ३१ लाख ७३ हजार ४९४ मत पायो । त्यतिबेला सर्वाधिक मत पाएर पहिलो पार्टी भएको एमाले प्रतिनिधिसभामा पहिलो पार्टी बनेको थियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८० र समानुपातिकमा ४१ सिटसहित एमालेले कुल १२१ सिट जितेको थियो । 

यस्तै दोस्रो पार्टी भएको कांग्रेसले प्रत्यक्षमा २३ र समानुपातिकमा ४० सिट गरी कुल ६३ सिट जितेर दोस्रो पार्टी भएको थियो । समानुपातिकतर्फ दोस्रो भएको कांग्रेसले एमालेले भन्दा केही हजार मत कम अर्थात् ३१ लाख २८ हजार ३८९ मत पाएको थियो । 

यसैगरी समानुपातिकतर्फ १३ लाख ३ हजार ७२१ मत पाएको माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ सिट जितेर कुल ५३ सिट जितेको थियो । त्यतिबेला एमाले र माओवादी केन्द्रले वाम गठबन्धन गर्दा झण्डै दुई तिहाइ नजिक सिट हासिल गरेका थिए । वाम गठबन्धन हुँदै पार्टी एकता भएपछि शक्तिशाली कम्युनिस्ट पार्टीका रूपमा नेकपा बनेपनि तीन वर्ष पनि एकता टिक्न सकेन र पार्टी विभाजित बन्न पुग्यो ।

एमाले र माओवादी विभाजित बनेपछि एमालेबाट माधव नेपाल समूह बाहिरिएर नेकपा एकीकृत समाजवादी बन्यो । सो पार्टी २०७९ को निर्वाचनमा सहभागी भएर १० सिट जितेको छ तर समानुपातिकतर्फ भने थ्रेस होल्ड कटाउन संघर्षरत छ । 

यसबाहेक थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बनेको तत्कालीन संघीय समाजवादी फोरम नेपालले प्रत्यक्षमा १० र समानुपातिकमा ६ गरी १६ सिट जितेको थियो । सो पार्टीले समानुपातिकमा ४ लाख ७० हजार २०१ मत प्राप्त गरेको थियो । यस्तै तत्कालीन राजपाले ४ लाख ७२ हजार २५४ मत पाएको थियो । सो पार्टीले प्रत्यक्षमा ११ र समानुपातिकमा ६ गरी १७ सिट जितेको थियो । राजपा, फोरम र नयाँ शक्ति विभिन्न कालखण्डमा एकता भएर ३४ सिटसहितको पार्टी भए पनि पछि छिन्नभिन्न बन्न पुग्यो ।

यस्तै प्रत्यक्षतर्फ राप्रपा, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति नेपाल, नेमकिपा र एक स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । 

२०७४ को निर्वाचनमा थ्रेस होल्ड कटाउन नसकेको विवेकशील साझा पार्टीले समानुपातिकतर्फ २ लाख १२ हजार ३६४ तथा राप्रपाले १ लाख ९६ हजार ७८२ र राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३७७ मत पाएको थियो । यसैगरी त्यतिबेला अस्तित्वमा रहेको राप्रपा राष्ट्रवादीले २८ हजार ८२८ मत पाएको थियो । यस्तै राष्ट्रिय जनमोर्चाले ६२ हजार १३३ तथा नयाँ शक्तिले ८१ हजार ८३७ मत पाएको थियो । नेमकिपाले ५६ हजार १४१ मत पाउँदा मालेले ४१ हजार २७० मत पाएको थियो । 

अहिले आएर विभाजित भएका पार्टीकै हाँगाको रूपमा नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी चुनावी मैदानमा खडा भए भने एकीकृत शक्तिका रूपमा राप्रपा चुनावी मैदानमा खडा भयो । राप्रपाले चुनावमा चमत्कार गर्न सफल हुँदा एकीकृत समाजवादी र लोसपालाई धक्का पुग्यो । धक्का यसअर्थमा कि सो पार्टी हालसम्मको अवस्थामा राष्ट्रिय पार्टी बन्न असमर्थ हुने देखिन्छ ।

प्रतिनिधिसभामा राप्रपाको चमत्कार, विवेकशील साझा पत्तासाफ

०७४ को निर्वाचनमा तीन चिरामा रहेको राप्रपा यो पटक एकीकृत रह्यो । भलै चुनाव अगाडि कमल थापा नेतृत्वको एक समूह पार्टीबाट बाहिरए पनि चुनावमा त्यसको खासै असर देखिएन । समानुपातिकतर्फ १ करोड २४ हजार मतगणना हुँदा राप्रपाले ५ लाख ७० मत पाइसकेको छ । जबकि ०७४ को निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपाले १ लाख ९६ हजार ७८२ र पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३७७ मत पाएको थियो । यसैगरी त्यतिबेला अस्तित्वमा रहेको डा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीले २८ हजार ८२८ मत पाएको थियो । राप्रपा धारका तीन पार्टीको मत जोड्दा ३ लाख १३ हजार ९८७ मात्रै आएको थियो । राजेन्द्र लिङ्देन एकता महाधिवेशनबाट नेतृत्वमा आएसँगै राप्रपाको पक्षमा जनमत देखिएको हो । सो पार्टीले प्रत्यक्षतर्फ ७ सिट पनि जितेको छ ।

उसो त राप्रपाबाट छुट्टिएको कमल थापा नेतृत्वको राप्रपा नेपालको अत्यन्तै कमजोर नतिजा आएको छ । सो पार्टीले देशभर जम्मा ११ हजार ६३० मत पाएको छ । 

यस्तै राम्रो मत पाए पनि राष्ट्रिय पार्टी हुन नसकेको विवेकशील साझा पार्टी भने पत्तासाफको बाटोमा देखिएको छ । विवेकशील साझाले यो चुनावमा समानुपातिकतर्फ जम्मा ३ हजार ९०७ मत पाएको छ भने प्रत्यक्षतर्फ केही सिटमा उम्मेदवारी दिँदा उम्मेदवारमा कुनै आकर्षण देखिएन । वैकल्पिक राजनीतिक शक्ति बनाउने उद्देश्यसहित रवीन्द्र मिश्रको नेतृत्वमा पार्टी स्थापित भए पनि पार्टीभित्रको वैचारिक राजनीतिक टकरावले पार्टी नै छिन्नभिन्न हुन पुग्यो । सो पार्टीमा अहिले समीक्षा बाँस्कोटा पार्टीको संयोजक छिन् भने रवीन्द्र मिश्र चुनावअघि राप्रपा प्रवेश गरेका थिए । 

यस्तै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पनि फोरम नेपाल, जसपा हुँदै अहिले नेपाल समाजवादी पार्टीमा परिणत भएको छ । सो पार्टीले यो चुनावमा माओवादी केन्द्रसँग सहकार्य गरेको थियो ।

यसैगरी जसपाबाट फुटेको लोसपाले पनि समानुपातिकतर्फ जम्मा १ लाख ४८ हजार मत पाएको छ । सो पार्टीले प्रतिनिधिसभातर्फ ३ सिट जिते पनि राष्ट्रिय पार्टी बन्नबाट चुकेको छ । बरु मधेसकै अर्को शक्तिका रूपमा सीके राउतको जनमत पार्टी उदाएको छ । सो पार्टीले प्रत्यक्षमा एक सिटसहित समानुपातिकमा ३ लाख ५८ हजार मत पाएको छ । 

यस्तै पहिलो पटक संसदीय चुनावमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ९८ हजार समानुपातिक मत पाएर चौथो स्थानमा छ । प्रत्यक्षमा समेत ७ सिट जितेको सो पार्टी संसदको चौथो शक्ति हुने निश्चित छ । 

प्रतिनिधिसभामा जनमत, जसपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीसहित प्रमुख तीन राजनीतिक पार्टी एमाले, कांग्रेस र माओवादी केन्द्र राष्ट्रिय पार्टीका रूपमा दर्ज हुने देखिएका छन् । यस्तै संसदमा राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, नेमकिपा र पाँच स्वतन्त्रको पनि प्रतिनिधित्व हुनेछ । 

समानुपातिकमा कसलाई घाटा, कसलाई फाइदा ?

समानुपातिकको हालसम्म प्राप्त मतपरिणामअनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलमध्ये पुरानामा राप्रपा र नेमकिपाले मात्रै अघिल्लो निर्वाचनको तुलनामा यो निर्वाचनमा आफ्नो मत सुधार गरेका छन् । हालसम्म राप्रपाले ३ लाख ७३ हजार ९०१ मत बढी पाएको छ । यस्तै ०७४ को तीन राप्रपाको मत जोड्दा कुल मत ३ लाख १३ हजार ९८७ मत थियो । यो सबै हिसाबमा पनि राप्रपाले अहिले २ लाख ५६ हजार ६९६ मत बढी पाएको छ । यस्तै नेमकिपाले १७ हजार ४९७ मत बढी पाएको छ । 

तर, पुराना पार्टीमा अघिल्लो निर्वाचनको तुलनामा एमालेको ४ लाख ७४ हजार २३७ मत, नेपाली कांग्रेसले ५ लाख ७२ हजार १४२ मत, माओवादी केन्द्रले १ लाख ६० हजार ९६९ मत कम पाएको छ । यसैगरी जसपाले ७४ हजार ८९८ मत, विवेकशील साझा पार्टीले २ लाख ८ हजार ४५७ मत मत पाउँदा राष्ट्रिय जनमोर्चाले १४ हजार ४०५ मत तथा मालेले ११ हजार ६१५ मत पाएको छ । पुराना पार्टीको मत घट्दा राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी जस्ता दल उदाएका छन् । 

संसदमा प्रतिनिधित्व भएका दलको मत विवरण

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप