अनुभूति : परीक्षा, कानुन र चिट !
खगेन्द्र फुयाँल
भनाइ नै छ ‘कानुनको अज्ञानता क्षम्य हुँदैन’ । हरेक नागरिकले कानुन जान्नु आधुनिक राज्यमा राम्रो मानिन्छ । सँगै पढ्ने साथीहरू अन्य विषयमा एम.ए. गर्दै कानुनको स्नातकमा समेत भर्ना भएका थिए । तीमध्य कति साथीहरू त हाल अधिवक्ता नै भइसके भने कति अधिवक्तका लागि प्रयासरत छन् । मैले पनि ढिलै भए पनि एम.ए. सकेर एल.एल.बी भर्ना गरेँ ।
फेसबुमा एक जना मित्रले एल.एल.बी.मा भर्ना खुलेको सूचना पोस्ट गर्नु भएको थियो र भर्ना हुने अवसर मिल्यो । मलाई कानुनको अध्ययन गर्नुको आवश्यक्ता चाहिँ आफू पत्रकारितामा क्रियाशील रहेका कारण लेखनलाई कानुनको क्षेत्रमा थप गहन र सार्वजनिक सरोकारका विषयमा हुने अनियमितताका सवालमा थप स्पष्टताका साथ कलम चलाउन मद्दत पुग्छ भनेर पढ्न लागेको थिएँ ।
अघि मङ्सिरबाट नयाँ कक्षा सुरु हुने एल.एल.बी.मा, यो वर्ष भने स्वतन्त्र विद्यार्थी युनियनको चुनावका कारण क्याम्पसमा भर्ना हुने अवधि फागुनको अन्तिम सातासम्म पुगेकोे रहेछ । तर दुर्भाग्य ! दुई पल्ट मिति सरेर समेत नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भएन ।
बिहानको समयमा दुईवटा सेक्सनमा अध्ययन हुने कक्षामा प्रायः विद्यार्थीहरूले खचाखच हुन्थे । पहिलो कक्षा सुरु हुनुभन्दा दश मिनेटअघि नपुगे बस्ने ठाउँसमेत नहुने । खासगरी सेक्सन ‘बी’मा कार्यविधि कानुन, विधिशास्त्र र संवैधानिक कानुनका कक्षाहरू बढी नै खचाखच हुन्थे । साथीहरू बस्ने ठाउँ नभएर कक्षाको अन्तिमतिरको कुनामा उभिएरै भए पनि सरले भनेका बुँदा टिपिरहेका हुन्थे ।
संवैधानिक कानुन पढाउने गणेशदत्त सरले संवैधानिका कानुनको देशी–विदेशी अभ्यासलाई यति मज्जासँग पढाउनु हुन्थ्यो कि, उहाँको कक्षा छुटाउन नसकिने । उहाँले किताबी ज्ञानका अलवा विभिन्न क्षेत्रका अनुभवी व्यतित्वलाई कक्षामा ल्याएर हामीहरूलाई बाहिरी दुनियाबारे जान्ने अवसर दिनुभयो । भट्टसरले क्याम्पस सुधारका लागि कक्षाकोठाको सरसफाइ, खानेपानी तथा पुस्तकालय व्यवस्थापनका लागि क्याम्पस प्रमुखलाई आग्रह गर्न हामीहरूलाई सधैँ अभिप्रेरणा दिइरहनुभयो ।
क्याम्पस चिफलाई भेटेको केही दिन खानेपानी व्यवस्था, कक्षाकोठालगायत शौचालय सरसफाइ भएजस्तो त देखिन्थ्यो तर अर्को हप्तादेखि समस्या उस्तै । सरकारी क्याम्पस हो चल्छ, भन्ने भाव धेरैजसो साथीहरूमा रहेको उनीहरूको विचारबाट प्रस्टै बुझिन्थ्यो । सरकारी संस्थाहरूप्रति प्रायजसो साथीहरूको धारणा निरासजनक नै पाए ।
ढिलोचाँडो सरहरूलाई कक्षा सक्न हतार, हामीलाई क्याम्पस सकेर जागिर भ्याउन हतार हुने । कक्षा सुरु भएको केही महिनामै विद्यार्थीहरूको चाप घट्दै जान थाल्यो । स्थानीय निकाएको निर्वाचन हुनुअघि नै सेक्सन ‘बी’मा विधिशास्त्रको कोर्स सरले सिध्याइ सक्नुभएको थियो ।
विधिशास्त्र पढाउने सरको चलन भने अरू सरहरूको भन्दा फरक । उहाँ कक्षामा आएर आफ्नै गतिमा हरेक च्याप्टरको नोट लेखाइदिएर जानुहुन्थ्यो । त्यही भएर हाम्रो सेक्सनमा विधिशास्त्रको कक्षा तीन महिनामै सकियो । कक्षा त सकियो तर सरले पढाएको बुझियो भन्ने कोेही साथी भेटिएनन् । पछि विद्यार्थीको आग्रहमा उहाँले विधिशास्त्रको महत्वपूर्ण शीर्षकहरूलाई थप पाँचवटा घण्टीमा दोहोर्याई आफ्नो जिम्मेवारी पूरा गर्नुभयो ।
चैतको पहिलो साताबाट सुरु भएका कक्षाहरू, पुरै नसकिँदै जेठ ९ गते परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा फारम खुलाइसकेको थियो । दशैंअघि नै परीक्षा हुने शङ्काका बीच हतार हतारमा साउनको अन्तिम साता सबै विषयकोे कक्षा पूरा भयो ।
तराईका जिल्लामा भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचन र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका कारण परीक्षाको तालिका आखिरिमा मङ्सिर २८ गतेबाट सुरु हुने गरी सार्वजनीक भयो ।
नियमित जसो कक्षा गएको म हरेक विषयको छुट्टा छुटै कपी बनाएको थिएँ । तर परीक्षाको समयमा त्यसको काम नै लागेन । कक्षामा सरले टिपाएको नोट छोडेर धेरै ठाउँमा गल्ती भएका बजारिया परीक्षा तयारी पुस्तक किनेर पढिँदै छ । सायद बजारिया नोटको विगविगि हुँदैनथ्यो भने कक्षामा टिपेका कुराहरू महत्वपूर्ण हुन्थे होलान् । खै किन हो, कक्षामा टिपेका कुराले परीक्षाको समयमा खासै आकर्षण गर्नै सकेन मलाई ।
जङ्क फुड स्वास्थ्यका लागि हानिकारक छ भन्ने थाहा हुँदाहँुदै त्यसको लतबाट मुक्त हुन नसकेझैँ परीक्षा केन्द्रमा साथीहरूले च्यापेको बजारिया सोलुसन देख्दा लाग्छ म मात्रै हैन सबै जना यस्तो खाले समस्याबाट ग्रस्त देख्छु ।
विद्यार्थीहरू धेरै भएर होला नियमित तथा आंशिक गरी एल.एल.बी प्रथम वर्षको परीक्षा बाह्रवटा विभिन्न क्याम्पका परीक्षा केन्द्रहरूमा भइरहेको छ । मेरो परीक्षा केन्द्र पब्लिक युथ क्याम्पसमा परेछ । एम.ए.सम्मका परीक्षा दिने क्रममा काठमाडौँका प्रायसजो आङ्गिक क्याम्पसको परीक्षाको अनुभव लिइसकेको मेरा लागि पब्लिक युथ क्याम्पसको परीक्षा नयाँ अनुभव थियो ।
परीक्षाको एक दिनअघिको केही घण्टाको अध्ययनले परीक्षाहरू सन्तोषजनक नै चल्दै छन् । तर चिट चोर्न पल्केकाहरू भने जुनसुकै तहको परीक्षा किन नहोस आफ्नो पारा देखाइहाल्ने ।
तेस्रो दिन संवैधानिक कानुनको परीक्षा चलिरहेको थियो, साथीहरू खासखुस गरेको सुनेर एक जना मर्यादा पालकले कम्तीमा चिट चोर्दा त हल्ला नगरी चोर्नु न भन्नुभयो । हुन त हरेक परीक्षाका दिन परीक्षा नियन्त्रक जस्ता लाग्ने व्यक्ति आएर साथमा भएको मोबाइल तथा कुनै पुस्तक भए आफ्ने झोलामा राख्नु नत्र पछि खानतलासी गर्दा भेटिएको खण्डमा रेस्टिकेट हुन्छ भन्नुहन्थ्यो । शङ्का लागेका व्यक्तिमाथि खानतलासी पनि हुन्थ्यो ।
तर चोर मानसिकता भएका व्यक्तिलाई कस्ले रोक्न सक्ने । शौचालय पूरै गेसपेपर र गाइडले भरिएको हुन्छ । त्यसमाथि परीक्षालाई शान्तिपूर्ण तथा मार्यादित बनाउन बस्ने मर्यादापालकले नै हल्ला नगरी चिट चोर्नु भनिदिएपछि परीक्षाको औचित्य के होला ?
विद्यार्थी कुनामा चिट चोरिरहेको हुन्छन् गार्ड देखे पनि नदेखेझैँ गर्छन् । भविष्यका कुशल कानुन व्यवसायी तथा न्यायाधीशहरू नै यस्तो भएपछि भोलिका दिनमा उनीहरूबाट कस्तो न्याय निरूपणको अपेक्षा राख्ने होला । त्यसमाथि, नैतिकता र कानुनको अभ्यास हुने कानुन सङ्कायको परीक्षामा ।
@mefossils
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मिटरब्याजीको ट्र्यापमा परे : श्रममन्त्री भण्डारी
-
विद्यार्थी घटेपछि बागलुङका १० विद्यालय बन्द
-
डीडीसी सुधारका लागि सक्दो प्रयास गर्दैछु : मन्त्री अधिकारी
-
क्रसर उद्योग नवीकरण गर्न सरकारसँग माग
-
निर्वाचन आयोगद्वारा पर्यवेक्षकहरूसँग अन्तरक्रिया
-
नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई शारडा समूहले कार दिने