शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुनथराली विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न सुरु

बुधबार, १४ मङ्सिर २०७९, १२ : ११
बुधबार, १४ मङ्सिर २०७९

कालिकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न सुरुआत गरिएको छ । 

कालोपत्रेको काम आगामी माघ मसान्तमा सक्ने लक्ष्य राखिएको छ । सो विमानस्थल विसं २०४२ बाट निर्माण गर्न थालिएको थियो । आगामी  माघ मसान्तभित्र धावनमार्ग कालोपत्रेको काम सक्ने लक्ष्य राखिएको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताए । “३७ वर्ष पुरानो विमानस्थलको टावर, भवन निर्माण भएपछि अब विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने काम सुरु भइरहेको निर्माण छ”, उनले भने, “लामो समयदेखि काम नहुँदा अन्योलमा रहेको विमानस्थलले पछिल्लो समय गति लिन थालेको छ ।”

विगतको सशस्त्र द्वन्द्व, कोभिडलगायतका कारणले विमानस्थलको काम ढिलाइ भएको नरहरिनाथ –१ कोटवाडाका स्थानीय बलिराज विष्टले बताए। “कालोपत्रेको काम सुरु भएपछि अब विमान चढ्न पाउने धोका पूरा होला जस्तो भएको छ”, उनले भने, “विमानस्थलको लामो समयदेखि निर्माणमा ढिलाइ भइरहेको छ ।”

धावनमार्ग छ सय ९० मिटर लम्बाइ र ६० मिटर चौडाइ रहने चालु आर्थिक वर्षमा विमानस्थल पूर्ण रूपमा निर्माण काम सक्ने गरी काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठले जानकारी दिए। “यो विमानस्थलको धावनमार्ग कालोपत्रे, नाला निर्माणको काम भइरहेको छ”, उनले भने, “रिपिटर टावर निर्माण भइसकेको र उपकरण जडानको काम बाँकी रहेको छ । चालु आर्थिक वर्षमा नै पूर्ण रूपमा विमानस्थल सञ्चालनमा आउने छ ।” 

विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने काम गौरी पार्वती÷श्याम एन्ड शङ्कर जेभीले ठेक्का लिएको र गौरी पार्वती श्याम एन्ड शङ्कर जेभीले नाला, माटो काट्ने कामको ठेक्का लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

विमानस्थलको धावनमार्ग निर्माण, नाला काट्ने, माटो सम्याउनका लागि रु १३ करोड ८१ लाख निर्माण कम्पनीले ठेक्का लिएको प्राधिकरणले जनाएको छ । ​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप