शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिस्पर्धी उम्मेदवारको ‘गुनासो एप’ लाई सञ्चालनमा ल्याउने प्रदीप पौडेलको घोषणा

बुधबार, १४ मङ्सिर २०७९, ०९ : ४८
बुधबार, १४ मङ्सिर २०७९

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले प्रतिस्पर्धी उम्मेदवारले निर्वाचनका क्रममा पेश गरेका एजेण्डा र प्रतिबद्धतालाई साझा मुद्दा बनाइने बताएका छन् । सोही अनुसार काठमाडौं क्षेत्र नम्बर ५ मा आफ्नो प्रतिस्पर्धी बनेका स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठले बनाएको ‘गुनासो एप’ लाई सुविधा थपेर सञ्चालन गर्ने पौडेलले घोषणा गरेका छन् । 

‘प्रतिस्पर्धी उम्मेदवार सुशान्त श्रेष्ठले बनाउनु भएको गुनासो एप र मैले घोषणा गरेको सांसदसँग डिजिटल कनेक्टिभिटी एपको कन्सेप्ट मिल्दोजुल्दो भएकाले गुनासो एपलाई सुशान्तजी र मेरो सचिवालयले थप सुविधा थपेर संचालनमा ल्याउने निधो पनि गरियो’, पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

पौडेलले मंसिर ४ मा सम्पन्न निर्वाचनको दौरानमा उम्मेदवारहरुले पेश गरेका प्रतिबद्धता र एजेण्डाहरु निर्वाचन क्षेत्र र राष्ट्र विकासका लागि भएको भन्दै सबैले पेस गरेका एजेण्डाहरुलाई साझा मुद्दा बनाएर सँगसँगै अगाडि बढ्ने आफूहरुको उद्देश्य भएको पौडेलको भनाइ छ । त्यसका लागि आफूले प्रतिस्पर्धी उम्मेदवार छलफल सुरु गरेको पनि पौडेलले जानकारी दिएका छन् । 

‘साझा प्रयासले मात्रै यी एजेन्डाहरु कार्यान्वयन गर्न सम्भव हुन्छ। तसर्थ सहयात्राको सुरुवात गर्न यस क्षेत्रका प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुसँग छलफल कार्यक्रम सुरु गरेको छु’, पौडेलको भनाइ छ । 
पौडेल प्रतिनिधिसभा सदस्यमा काठमाडौं क्षेत्र नम्बर ५ बाट विजयी भएका हुन् । काठमाडौं ५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित २९ उम्मेदवार थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप