कर्णालीमा १० औँ राष्ट्रिय खेलकुदका लागि ‘पाँच प’ को रणनीति
१० औँ राष्ट्रिय खेलकुद आयोजना कर्णालीमा हुने घोषणासँगै कर्णालीमा खेलकुद पूर्वाधार र बजेटको चुनौती थपिएको छ ।
२ मंसिर ०८१ सालमा हुने उक्त प्रतियोगिताका लागि संघीय सरकारले बजेटमा आलटाल गरिरहेकाले थप समस्या भएको हो । प्रदेश खेलकुद परिषदले बजेट अभावका बिचमै पनि ‘५ प’ को रणनीतिअनुसार खेलकुद सम्बन्धीका गतिविधिलाई प्राथमिकता दिएर तयारी गरिरहेको छ ।
परिषदले सोही रणनीति अनुसार खेलकुदको पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यसैको जगमा टेकेर अहिले प्रदेशमा निर्माणाधीन प्रदेश गौरवको रङ्गशाला निर्माणको काम धमाधम भइरहेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरको रङ्गशालामा हालसम्म २८ प्रतिशत काम सम्पन्न भइसकेको परिषद्ले जनाएको छ।
हालसम्म फुटबल मैदान, कबर्ड हल, भिआइपी प्यारापिट, स्वीमिङ पुलको ढलानलगायत अन्य भौतिक संरचनाका कामहरु भइरहेका छन् ।
रङ्गशालाको शिलान्यास ०७८ कार्तिकमा मुख्यमन्त्री जीवनबहादुर शाहीले गरेको थिए । त्यसयता हालसम्म २८ प्रतिशत काम सम्पन्न भएको छ भने ०८१ जेठ ११ गतेभित्र रङ्गशाला निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ ।
निर्माणको जिम्मा एमएसी–जिएसएल कम्पनीले लिएको छ । १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैया लागत रहेको रङ्गशालामा १० हजार दर्शक अट्ने क्षमता छ । जसमा भलिबल, बास्केटबल लगायतका कोर्टका साथै मेडिकल वार्ड, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, स्वीमिङ पुल, पार्किङ लगायतका संरचना निर्माण भइरहेका छन् ।
डिजाइनको काम सम्पन्न भएकाले भौतिक संरचनाको काम द्रुत गतिमा भइरहेको परिषदका सदस्य सचिव विश्वामित्र सज्यालले बताए । उनले १० औं राष्ट्रिय खेलकुद जसरी पनि कर्णालीमा सम्पन्न गर्न ‘५ प’ रणनीतिअनुसार काम भइरहेको बताए ।
के हो ‘५ प’ को रणनीति ?
पूर्वाधार
सबैभन्दा पहिला खेलाडीहरुको लागि पूर्वाधार आवश्यक भएकोले परिषदले कर्णालीका सबै स्थानीय तहमा ‘एक वडा, एक खेल मैदान’ भन्ने अवधारणा अगाडि सारेको छ । त्यसका लागि जिल्लाको स्थानीय तहहरुमा खेलको आवश्यकताको आधारमा पहिला पूर्वाधार निर्माण गर्ने उद्देश्य लिएको छ ।
कर्णाली प्रदेश सरकारले आफ्नो पहिलो कार्यकालमा खेल क्षेत्रलाई महत्व दिएको थियो । पहिलो गौरवको आयोजनाको रुपमा खेल क्षेत्रलाई लिएको हुनाले प्रदेश गौरवको आयोजना पूर्वाधारलाई लिएको सचिव सज्याल बताउँछन् ।
प्रतियोगिता
कर्णालीमा खेल क्षेत्रको सम्भावना हुँदाहुँदै पनि यहाँ प्रतियोगिता नभएको कारण खेलाडीहरुको क्षमता र खेलाडी उत्पादन हुन नसकेको हो । त्यसैले, कर्णालीमा सबै खालका खेलकुद प्रतियोगिता आगामी दिनमा प्रत्येक वडादेखि गराउने भनिएको छ ।
पुरस्कार
खेलाडीहरुलाई पुरस्कार, प्रोत्साहन कम छ । अब कर्णाली प्रदेश खेलकुद विकास परिषदको सिफारिसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीहरुलाई कर्णाली प्रदेश सरकारले खेलाडी प्रोत्साहनस्वरुप पुरस्कारको व्यवस्था गरिरहेको छ ।
पुरस्कारले खेलाडीहरुलाई खेल क्षेत्रमा लाग्न हौसला मिल्ने र आउने दिनमा पनि खेल क्षेत्रमा भविष्य छ भन्ने खेलाडीहरुलाई हौसला मिल्ने छ । कर्णाली प्रदेश सरकारले परिषदको सिफारिसमा स्वर्ण पदकलाई २ लाख, रजत पदकलाई १ लाख ५० हजार र कास्यलाई १ लाख दिने भनेको छ ।
प्रतिभाको छनौट
कर्णालीमा खेल क्षेत्रको विकासको लागि प्रतिभाको छनौट सहि तरिकाले नभएको कारण खेलाडीहरुको उच्च मूल्याङ्कन हुन सकेको छैन । त्यसैले, कर्णाली प्रदेश खेलकुद विकास परिषदले प्रतिभा छनौटलाई विशेष ढंगले अघि बढाउने नीति लिएको छ ।
प्रशिक्षण
कर्णाली प्रदेशले अहिलेसम्म जति खेलमा भाग लिएको छ, धेरैजसो खेलमा प्रशिक्षण विना नै खेलाडीहरु सहभागी भइरहेका छन् । त्यसैले, कर्णाली प्रदेश खेलकुद विकास परिषदले कर्णालीका खेलाडीहरुलाई विशेष प्रशिक्षणको व्यवस्थापन गरी खेलाडीहरुको मनोवल उच्च बनाउने उद्देश्य राखेको छ । आगामी दिनमा प्रशिक्षणलाई जिल्लादेखि वडा तहसम्म लैजाने योजना बनाएको छ ।
प्रदेश खेलकुद परिषदका सदस्य सचिव सज्यालले उक्त पाँच ५ रणनीतिको जगमा टेकेर खेलकुद क्षेत्रको विकासको लागि परिषद लागिरहेको बताए ।
यद्यपि १० औँ राष्ट्रिय खेलकुदका सम्पुर्ण खेलहरु हाल निर्माणाधीन रङ्गशालामा मात्र नभई कर्णालीका अन्य जिल्लाहरुमा पनि हुने गरी तयारी थालिने उनले बताए । तर त्यसका लागि संघीय सरकारले बजेट र पूर्वाधारका क्षेत्रमा खासै चासो नदिएको उनको भनाई छ ।
उनले रातोपाटीसँग भने ,‘हामीले अहिले नै बजेट दिनोस् भनेका होइनौंँ, तपाईंहरु यो शीर्षकमा काम गर्नोस्, बजेट दिन्छौँ भनेर लिखित दिएको भए अर्को सरकार आउने वित्तिकै ठेक्का लाग्थ्यो र काम सहज रुपमा अघि बढ्ने थियो ।’
सज्यालले अहिलेसम्म कुनैपनि जिल्लामा कुनै गतिविधि हुन नसकेको बताए । ‘राष्ट्रिय खेलकुद परिषदबाट नै कुनै मान्छे यहाँ आएको छैन,’उनले भने,‘मैले खेलकुद मन्त्रीलाई समेत कर्णालीमा निम्ता दिएँ । तर, आउनु भएन ।’
खेदकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले भने खेदकुदको विकासका लागि सरकार अग्रसर भइरहेको दाबी गरे ।
गौतमले भने,‘विद्यालय खेलाडीको मुहान हो । हरेक विद्यालयमा एउटा खेल मैदान र हरेक पालिकाहरुमा खेल ग्राउण्डका निर्माणमा अब सरकारले ध्यान दिन्छ । त्यो तीनै तहका सरकार लागेर काम गर्नुपर्ने हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियाल मड्रिड ला लिगाको दोस्रो स्थानमा, बार्सिलोना झन् तल ओर्लियो
-
प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब लय जारी, घरेलु मैदानमै हार
-
लिभरपुलको शीर्षता थप बलियो, टोटनह्यामको पोष्टमा ६ गोल
-
नबिल बैंकद्वारा भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण
-
विमानस्थल विस्तारको प्रस्ताव लिएर लुम्बिनीका नेता पर्यटनमन्त्रीको 'ढोकामा'
-
एनआरटी र चर्च ब्वाइजबीच झापा कपको उपाधि भिडन्त, कसले मार्ला बाजी ?