शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रबाट ‘ग्रीन  सिग्नल’ नपाउँदा गण्डकी सरकार गठनको गृहकार्य ठप्प

मङ्गलबार, १३ मङ्सिर २०७९, २० : १४
मङ्गलबार, १३ मङ्सिर २०७९

गण्डकी प्रदेश सभामा सरकार बनाउने गरी कुनै पनि दलले स्पष्ट बहुमत पाएका छैनन् । सरकार गठनका लागि यहाँका दलले केन्द्रबाट ‘ग्रीन सिग्नल’ नपाउँदा आफ्नै नेतृत्वमा सरकार गठनका लागि अग्रसर हुन सकेका छैनन् । तर, सरकार बनाउने चर्चा र अड्कलबाजी शिखरमा छ ।

प्रतिनिधि सभातर्फ १८ र प्रदेश सभातर्फ ३६ क्षेत्र निर्वाचन क्षेत्र रहेको गण्डकीमा नेपाली काँग्रेस पहिलो दल बन्ने निश्चित भइसक्यो । काँग्रेस एक्लैले प्रतिनिधि सभा तर्फ ९ र प्रदेश सभातर्फ १६ सिट जितेको छ । गण्डकी प्रदेशमा स्याङ्जा–२ बाहेक सबै निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । यहाँ पुनः मतदान हुने वा मतगणना सुरु हुने निश्चित नहुँदा गण्डकीमा सरकार गठनको गृहकार्य अन्योलमा छ ।  

गण्डकी प्रदेश सभामा नेपाली काँग्रेसले प्रत्यक्षतर्फ १६ सिट जित्दा नेकपा एमालेले १२, माओवादी केन्द्रले ५ र १ सिट स्वतन्त्र सांसद दीपक मनाङेले जितेका छन् । २४ सिट समानुपातिक निर्वाचन प्रणालीबाट आउने भए पनि समानुपातिक तर्फको मतगणना सकिएको छैन । 

काँग्रेसबाट मुख्यमन्त्रीका दाबेदार रहेका सुरेन्द्र पाण्डेले गण्डकीमा सरकार गठनको वार्ता सुरु नभएको बताए । उनले स्याङ्जा–२ मा अझै मतगणना हुन नसकेकाले सरकार गठनको वार्ता अहिलेसम्म सुरु नभएको बताएका हुन् । 

‘पहिलो कुरा त हाम्रो प्रदेशमा अझै अन्तिम परिणाम आएको छैन । स्याङ्जा–२ को मतपरिणाम आएपछि कुन दलले कति पाउँछन्, सोहीअनुरुप सरकार गठनमा जुट्छौं,’ पाण्डेले भने । 

माओवादी केन्द्रका नेता हरिबहादुर चुमान केन्द्रले निर्णय नलिँदासम्म आफूहरुले सरकार गठनको प्रक्रिया सुरु नगरेको सुनाए । ‘केन्द्रीय राजनीति कता जान्छ भन्ने हो । केन्द्रीय नेताहरुकै निर्णय कुरेर बसिरहेको छौं । केन्द्रीय राजनीतिले नै प्रदेशमा असर गर्छ । कस्तो बनाउने भन्ने निर्णय केन्द्रको हुन्छ, हामीले मान्नेमात्रै हो,’ चुमानले भने । 

उता प्रत्यक्षतर्फ १२ सिट ल्याएको नेकपा एमालेले भने आफ्नो नेतृत्वमा सरकार कसरत थालेको छ । एमालेले मिले काँग्रेस र नभए माओवादी तथा साना दल मिलाएर सरकार बनाउन वार्ता थालेको एमालेका एक नेताले बताए । ‘नेपाली काँग्रेस र माओवादीसँग हाम्रो वार्ता भइसकेको छ । उहाँहरुले केन्द्रको निर्णय कुर्नुपर्छ भन्नुभएको छ । यस कारण हामी निर्णयमा पुग्न सकेको छैनौं,’ ती नेताले भने । 

स्रोतका अनुसार काँग्रेसले एमालेसँग भन्दा पनि माओवादीसँग मिलेर सरकार बनाउन इच्छा देखाइरहेको छ । यता, मुख्यमन्त्रीका दाबेदार सुरेन्द्र पाण्डेले पनि केन्द्रकै समीकरण र निर्णय कुरिरहेको सुनाए । ‘यही सत्ता गठबन्धनलाई निरन्तरता दिने हो भने हामीसँग स्पष्ट बहुमत पुगेको छ । माओवादी केन्द्र पनि सकारात्मक छ । तर अब केन्द्रकै सरकार टुंगो नलाग्दा प्रदेश पनि स्वाभाविक रुपमा अनिर्णित भएको हो,’ उनले भने ।  

एमालेबाट प्रमुख मुख्यमन्त्रीका दाबेदार खगराज अधिकारीले पनि आफूहरुले स्थिर सरकार बनाउने विषयमा छलफल थालेको बताए । उनले सरकार गठन र सञ्चालनका लागि आफूहरु सबै दलसँग सकारात्मक रहेको सुनाए । ‘एमालेकै नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने छैन । प्रदेशको समृद्धि र स्थिरताका लागि सबै दलसँग मिलेर जान हामी तयार छौं,’ अधिकारीले भने । 

गण्डकीमा सरकार गठनमा माओवादी निर्णायक देखिएको छ । प्रदेशमा तेस्रो रहेको माओवादीको ५ सिट प्रत्यक्षमा जितेको छ । समानुपातिकबाट माओवादीले ३ देखि ४ सिट पाउने आशा गरेको छ । काँग्रेस र एमालेले भने आफूहरु समानुपातिकमा ९÷९ सिट पाउने दाबी गर्छन् । यद्यपि यहाँ समानुपातिकमा एमाले अगाडि छ ।  

६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार गठनका लागि ३१ सदस्य चाहिन्छ । अहिलेसम्म ५ दलीय गठबन्धन कायमै रहेका बेला गण्डकी प्रदेशमा पनि सत्ता गठबन्धनको स्पष्ट बहुमत पुग्ने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप