शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्छु: महामन्त्री शर्मा

मङ्गलबार, १३ मङ्सिर २०७९, १९ : १४
मङ्गलबार, १३ मङ्सिर २०७९

नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका छन् । झापा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि काठमाडौँ आएका शर्मा विमानस्थलबाट सिधै थापा निवास रातोपुल पुगेर बधाई तथा प्रधानमन्त्री बन्ने शुभकामना व्यक्त गरेका थिए । 

भेटपछि उनले भने, ‘हामीले यो बेलामा त्यो आवाजलाई प्रतिनिधित्व गर्नुपर्छ जुन आवाज देशले बोलिरहेको छ । कहीँ बोलेको सुनिन्छ, कहीँ बोल्न चाहिरहेको बुझिन्छ । कहीँ मानिसहरूको हृदयमा त्यो शब्द बन्न खोजिरहेको छ । र एउटा लोकतान्त्रिक दलले सदैव प्रतिनिधित्व जनताको जनभावनाको गर्नुपर्छ । त्यस कारण अहिले म यहाँनिर महामन्त्री गगन थापालाई बधाई दिन आएको भनेको काठमाडौँ ४ बाट निर्वाचित हुनुभयो तपाई सांसद बन्नुभयो भनेर बधाई दिन आएको होइन । सांसद पहिल्यै भइसक्नु भएको हो पटक पटक । मन्त्री भएर अनुभव पनि हासिल गरिसक्नुभएको हो । अब देशको आवाज के हो ? देशको आवश्यकता के हो ? त्यो आवश्यकतालाई बुझेर नेतृत्व गर्ने ढंगले तपाई अब, प्रधानमन्त्री पदको लागि नेतृत्व गर्ने ढंगले अगाडी बढ्नुस् भन्नका लागि म आएको हो । त्यो भन्ने कुरा मात्रै होइन त्यस विषयको अभियानलाई सुरु गर्नलाई पनि म आएको हो । अब हामी दुई, तीन दिन भित्रमा देशभरिका साथीहरू सबै आ–आफ्नो क्षेत्रमा मतदाताहरूलाई सम्मान गर्ने, आभार प्रकट गर्ने कार्य गरिसकेर काठमाडौँ उपस्थित हुन्छौँ । र उपस्थित भइसकेपछि यसलाई विधिवत्, व्यवस्थित रूपमा परिणाममा पुर्‍याउने ढंगले सबै नेतृत्व पङ्क्तिलाई हाम्रा जो हुनुहुन्छ, सबै आदरणीय हुनुहुन्छ । सबै पाका नेताहरू जो हुनुहुन्छ सबैले देशका लागि योगदान गर्नुभएको छ । लोकतन्त्रका लागि योगदान गर्नुभएको छ । उहाँहरू सबैलाई सम्मान गर्दै, उहाँहरू सबैको विश्वास लिएर, उहाँहरू सबैको समर्थन लिएर, उहाँहरू कसैलाई पनि हामीलाई अपमान गरे भन्ने महसुस नगराइकन उहाँहरूले हाँकेर आएको देश र उहाँहरूले हाँकेर आएको काँग्रेसलाई अझ दृढताका साथ हाँक्ने भन्ने उद्देश्यका साथ छौँ ।’

महामन्त्री शर्माले गगन थापालाई संसदीय दलको नेता बनाउन पार्टीभित्रका शीर्ष नेताहरू र सांसदहरूसँग छलफल अगाडी बढाउने बताए । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले गगन थापालाई संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको समर्थन जुटाउनु आफ्नो जिम्मेवारी र कर्तव्य भएको पनि बताए । उनले भने, ‘मेरो प्रयत्न के रहन्छ भने प्रस्तावकको रूपमा शेरबहादुर देउवाको नाम लेख् नसक्ने परिस्थिति बनाउनु चाहिँ मेरो जिम्मेवारी हुन्छ । रामचन्द्र पौडेलको नाम लेख्ने बनाउनु हाम्रो कर्तव्य हुन्छ । कतिपयले बहुमत पुग्छन् भनेर मलाई भन्नुहुन्छ । बहुमत भन्नेकुरा प्राविधिक कुरा हुनसक्छ । विवेक भन्ने कुरा समयलाई बुझेर विश्लेषण गर्नुपर्ने कुरा हुन्छ । त्यो विवेकले के भन्छ अहिले भन्दै गर्दा अब नेतृत्वलाई परिवर्तन गरेर जाऊ, नेतृत्वलाई अब अगाडी सारेर जाऊ । सबै सांसदलाई सोधेर छलफल गर्छौँ । प्रस्तावक अग्रज नेता बस्ने कुरामै हामी लाग्छौँ । मेरो विश्वास हो । सहमतिमा पु/\=याउन सकिएन, प्रस्तावक लेख्नुपर्दै गर्दा, उभिनुपर्दा म आफैँ प्रस्तावक बस्ने कुरा स्वाभाविक छ । त्यो म गरेर उभिन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप