मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वप्रकाशसँगको भेटपछि गगनले भने, ‘अब देश हामीले चलाउँछौँ’

मङ्गलबार, १३ मङ्सिर २०७९, १९ : १०
मङ्गलबार, १३ मङ्सिर २०७९

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन प्रधानमन्त्री बन्नका लागि आफ्नो आवश्यकता रहेको बताएका छन् । उनले लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको परिस्थितिमा युवाहरूको नेतृत्व देशलाई आवश्यक भएको बताएका हुन् । 

उनले नेपाली कांग्रेसको तर्फबाट युवा पुस्ताले अब पार्टी र देशको नेतृत्व गर्ने समय आइसकेको बताए । मंगलबार संसदीय नेताको लागि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको भेटपछि आफ्नै निवासमा महामन्त्री थापाले नेपाली कांग्रेसको युवा पुस्ताले देश हाँक्नुपर्छ भन्ने कुरा पार्टीको लागि पनि आवश्यक रहेको बताए । 

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महामन्त्री थापाले भने, ‘प्रधानमन्त्रीको दाबी गर्ने कुरालाई स्वाभाविक रूपमा लिनुपर्छ । हाम्रो संसदीय व्यवस्थाभित्र अभ्यास गरिरहेको पार्टी हो नेपाली कांग्रेस । त्यसैले संसदीय दलभित्र नेता हुने चाहना फरक फरक नेताहरूले राख्ने, बीचमा छलफल हुने, बहस हुने कुरालाई एकदमै स्वाभाविक रूपमा लिनुपर्छ । मैले यसलाई स्वाभाविक रूपमा लिएको छु । एउटा बिन्दुमा मैले रामचन्द्र पौडेललाई मत हाले संसदीय दलको नेता बनाएको हो । अर्को एउटा बिन्दुमा प्रकाशमान सिंहलाई खुला घोषणा गरेर संसदीय दलको नेतामा भोट हालेको हो । यो समय अब हाम्रो समय हो । तपाईंको आशीर्वाद साथ चाहिन्छ भन्दै गर्दा ती पुराना कुराहरूलाई पनि पक्कै स्मरण गर्नुहुनेछ । त्यो बेलामा उहाँहरूको नै आवश्यकता थियो । उहाँहरूको पक्षमा उभिएको हो । आज समयले यो बेलामा नेपाली कांग्रेसको तर्फबाट यो पुस्ताको प्रतिनिधिले देश हाँक्छु भनेर अघि बढ्नुपर्छ । यो पार्टीको लागि पनि आवश्यक छ । पार्टी भन्दा पनि माथि राखेर हामीले हेर्ने हो भने लार्ज डेमोक्रेसीको कुरा गर्दा डेमोक्रेसीको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको चुनाव र नागरिकको भरोसा हो । व्यवस्थाप्रति नागरिकहरूको भरोसा हुनुपर्छ । भरोसा जोगाउन पनि यो आवश्यक छ । यो कुरा उहाँहरूलाई बुझाउन सकिन्छ ।’

महामन्त्री थापाले संसदीय दलको नेतामा चयन गर्न अधिकांश नेताहरूको साथ आफूलाई रहेको पनि बताए । उनले अधिकांश कांग्रेस सांसदहरूसँग टेलिफोनबाट वार्ता भएको र केही नेताहरूलाई भने भेटेरै कुरा गरिसकेको भन्दै उनले सबै नेताहरूले सहयोगको वाचा गरेको बताए । महामन्त्री थापाले अबको देशको नेतृत्व नेपाली कांग्रेसले नै गर्ने र कांग्रेसले नेतृत्व गर्दा नयाँ नेतृत्व दिन सके मात्रै नागरिकहरूलाई आश्वस्त बनाउन सकिने बताए । उनले नयाँ कुरा दिन नसके प्रारम्भबाट नै विश्वासको कडी टुट्ने बताए । महामन्त्री थापाले नयाँ नेतृत्वको बारेमा पार्टी सभापति, वरिष्ठ नेता र अग्रज नेताहरूसँग कुरा गर्न बाँकी रहेको र अग्रज नेताहरूकै समर्थन र आशीर्वादमा आफूले कांग्रेसबाट देशको अबको नेतृत्व गर्ने दाबी गरे । 

उनले भने, ‘निर्वाचन भर्खर सम्पन्न भएको छ । समानुपातिक निर्वाचनको अन्तिम मत परिणाम आउन अझै केही समय बाँकी छ । निर्वाचित हुनुभएको सांसद साथीहरू पनि शुभकामना आदानप्रदानका लागि आफ्नो निर्वाचन क्षेत्रमा हुनुहुन्छ । प्रायः सबै साथीसँग टेलिफोनबाट संवाद भएको छ । केहीसँग भेटघाट भएको छ । यो कुनै व्यक्ति के हुने भन्ने कुरा प्रधान विषय होइन । नेपाली कांग्रेसले नै यो संसद्को निर्वाचनपछि देशको नेतृत्व दिने हो । त्यो नेतृत्वमा पनि केही नयाँ कुरा दिन सक्यौँ भने बल्ल यसले नागरिकहरूलाई आश्वस्त बनाउँछ । बाँधेर राख्छ, नयाँ कुरा दिन नसके प्रारम्भबाट नै विश्वासको कडी जोडिँदैन । त्यसैले नेपाली कांग्रेस पार्टीले यो पटक आफ्नो नेतृत्वमा सरकार बन्दै गर्दा नयाँ नेतृत्व दिन सक्नुपर्छ । आवश्यकता छ । त्यसमा साथीहरू सकारात्मक हुनुहुन्छ । हाम्रो प्रयास हामी सबैभन्दा पहिला सभापतिजीसँग कुरा गर्छौँ । वरिष्ठ नेतासँग कुरा गर्छौँ । हाम्रो पहल त उहाँहरूको आशीर्वाद लिएर समर्थनमा अघि सारेको हो भन्ने पहल हुन्छ । निर्वाचनको मतको परिणामको कुरा एउटा हो र सन्देशको कुरा एउटा हो । यो मतले दिएको सन्देशलाई हामीले त बुझेका छौँ भने अग्रज नेताहरूले बुझ्नुभएकै छ । उहाँहरूसँग बसेर कुराकानी गन बाँकी छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप