शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अघि बढ्यो विदेशमा रहेका ४६ लाख नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने योजना

मङ्गलबार, १३ मङ्सिर २०७९, १८ : ०५
मङ्गलबार, १३ मङ्सिर २०७९

सामाजिक सुरक्षा कोषले आफ्नो दायर फराकिलो पार्दै लगेको छ । चार वर्ष पुरा गरेर पाँचौ वर्षमा प्रवेश गरेको कोषले अब वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई समेत कोषमा आबद्ध गराउने प्रक्रिया अगाडि बढाएको छ ।

७ मंसिरमा बसेको कोषको बोर्ड बैठकले सबै नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने निर्णय गरेको थियो । निजी क्षेत्रका रोजगारदाता र श्रमिकलाई मात्र केन्द्रित गराइरहेको कोषले अब वैदेशिक रोजगारीमा रहेका नेपालीलाई समेत समेट्ने भएको हो ।

कोषको बोर्ड बैठकले निर्णय गरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाएको छ । मन्त्रीस्तरीय निर्णयबाट पारित भएपछि कार्यविधि कार्यान्वयनमा जानेछ । मन्त्रीस्तरीय निर्णयबाट पारित भएको मितिले ९० दिनपछि कार्यान्वयनमा जानेछ ।

उक्त निर्णयले विदेशमा रहेका ४६ लाख भन्दा बढी नेपाली लाभान्वित हुने कोषको सञ्चालक समिति अध्यक्ष तथा मन्त्रालयका सचिव एक नारायण अर्यालले बताए ।

‘उक्त निर्णयमा धेरै कुरा छन् । एउटा घरमा काम गर्ने मजदुर अब अधिकार सम्पन्न हुनेवाला छ । यातायात क्षेत्रमा काम गर्ने चालक÷सहचालक कति जना छन भनेर भन्न सकिने अवस्था छन् । अब त्यो संख्या भन्न सकिने वातावरण यही कोषबाट हुन्छ,’ उनले भने ।

सामाजिक सुरक्षा कोष वैदेशिक रोजगारमा गएका सम्पूर्ण नेपालीहरूलाई आबद्ध गराउन प्रतिबद्ध रहेको उनको भनाई छ । त्यसका लागि श्रमिकले वैदेशिक रोजगारमा जाँदा नै अनिवार्य रूपमा २ हजार रूपैयाँ जम्मा गर्नुपर्ने हुन्छ । २ हजार रूपैयाँ जम्मा गरिसकेपछि ति श्रमिकहरू समेत कोषमा आबद्ध हुन पाउने र सोही आधारमा कोषबाट जारी हुने सेवा सुविधा पाउन सकिने उनको भनाइ छ ।

वैदेशिक रोजगार रहँदा नेपाल सरकारले तोकेको न्यूनतम् तलबको आधारमा मासिक कोषमा जम्मा गर्नुपर्ने हुन्छ । सोही आधारमा उनीहरूले सेवा सुविधा पाउने कोषले जनाएको छ । त्यसका लागि कोषले सफ्टवेयरको विकास गर्दैछ । सफ्टवेयर विकासको काम अन्तिम चरणमा पुगेको कोषको सह–प्रवक्ता रोहित रेग्मीले बताए । 

कार्यविधिमै मन्त्रीस्तरीय निर्णय भएको तीन महिनापछि कार्यान्वयन जाने भन्ने उल्लेख छ । सोही आधारमा मन्त्रीस्तरबाट निर्णय भएको तीन महिना पछिबाट कार्यान्वयनमा आउने सह–प्रवक्ता रेग्मीको भनाइ छ ।

कार्यान्वयनमा चुनौती

वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई कोषमा आबद्ध गराउने महत्वपूर्ण योजना अघि सारिएको छ । तर, यो कार्यान्वयनमा भने ठूलो चुनौती छ । यसका लागि सरकारले ८५ देशमा रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) सँग सहयोग मागेको छ । त्यस्तै विभिन्न देशमा रहेका नेपाली प्रवासी संघ संस्थालाई समेत सहयोगको लागि अनुरोध गरेको छ ।

कोषका अध्यक्ष तथा मन्त्रालयका सचिव अर्यालले विश्वभर रहेका एनआरएनएलाई ति देशमा रहेका श्रमिकलाई कोषमा आबद्ध गराउनको लागि सहयोग मागिएको बताए । ‘सबैभन्दा ति देशमा रहेका श्रमिकहरूलाई कोषमा आबद्ध गराउँदा के कस्ता सुविधा पाइन्छ भनेर जानकारी गराउनु आवश्यक छ,’ अर्यालले भने, ‘कोषमा आबद्ध भइसकेपछि म कति सुरक्षित छु ? कस्तो खालका फाइदा हुन्छ भनेर श्रमिकलाई बताउनुपर्नेछ ।’

नेपालले सन् २०२० मा मलेसियासँग नेपाली श्रमिकलाई कोषमा आबद्ध गराउने विषयमा सम्झौता गरेको थियो । यो बाहेक अन्य देशसँग सम्झौता हुन सकेको छैन । अन्य देशसँग समेत सम्झौता गरेर श्रमिकलाई कोषमा आबद्ध गराउने प्रक्रिया अगाडि बढ्ने सचिव अर्यालको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप