शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुनसरी ३ : विजयलाई ‘पराजय’को स्वाद चखाउने भगवती

मङ्गलबार, १३ मङ्सिर २०७९, १६ : ४९
मङ्गलबार, १३ मङ्सिर २०७९

सुनसरी क्षेत्र नम्बर ३ मा काँग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरीले दुई पटकसम्मको पराजयको बदला लिएकी छिन् । ०४८ सालदेखि लगातार सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका गच्छदार सातौँ पटक जितेर रेकर्ड राख्न चाहन्थे । तर, त्यसमा बाधक बनिन् भगवती चौधरी । 

तीन हजार ६५५ मतगणना हुन बाँकी रहँदा चौधरीले गच्छदारलाई ५ हजार ४३४ मतले पछि पारेकी छिन् । अब उनको विजय आधिकारिक घोषणा हुन मात्रै बाँकी छ । चौधरीले ३९ हजार २९७ मत ल्याउँदा गच्छदारले हालसम्म ३३ हजार ८६३ मत पाएका छन् । सो क्षेत्रको बर्जू गाउँपालिका वडा नम्बर ६ को तीन हजार ६५५ मत गणना हुन मात्रै अब बाँकी छ । 

गच्छदार छैटौँ पटकसम्म अपराजित रहँदा चौधरीले यस पटक गच्छदारको जितमा ब्रेक लगाएकी छिन् । काँग्रेस नेता विजय गच्छदार आम मतदातासँग न्यायको माग गरिरहेका थिए । उनले न्याय माग्नुको मुख्य मुद्दा हो ललिता निवास जग्गा घोटाला प्रकरण । उनलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७६ साल माघमा ९ करोड ६८ लाख बिगोसहित भ्रष्टाचार मुद्दा लगाएको छ । उक्त मुद्दा अन्यायपूर्ण भएकोले न्याय दिनुपर्ने उनको मूल मुद्दा थियो । तर, जनताले गच्छदारलाई न्याय होइन ‘सजाय’ दिएका छन् । 

०४८ सालदेखि नै सो क्षेत्रबाट निर्वाचन लड्दै आएका गच्छदार हालसम्म अपराजित थिए । गच्छदारलाई १० वर्षयता लगातार टक्कर दिइरहेकी भगवती चौधरी भने ३१ वर्षमा नभएको विकास आफूले जिते ५ वर्षमै गर्ने बताउँदै निर्वाचन जितेकी छिन् । 

को हुन् भगवती चौधरी ?

जननेता स्वर्गीय मदन भण्डारीको आदर्शबाट अभिप्रेरित भएर राजनीतिमा लागेको बताउने चौधरी नेकपा एमालेको केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज हुन् । उनी २०६४ सालको पहिलो संविधानसभा सदस्य हुँदै वन तथा भू–संरक्षण राज्यमन्त्री समेत बनेकी थिइन् । 

२०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा पहिलोपल्ट भाग लिएकी उनी विजयकुमार गच्छदारसँग पराजित भइन् । चौधरीले पुनः नेकपा एमालेबाटै २०७४ सालको आम निर्वाचनमा सोही क्षेत्रबाट  पुनः गच्छदारसँग पराजित बनिन् । त्यसबेला चौधरीले ३८ हजार ६५१ मत ल्याउँदा गच्छदारले त्यो भन्दा ३५७ मत बढी अर्थात् ३८ हजार ९७२ मत ल्याएका थिए ।

५१ वर्षीय चौधरी लामो समयदेखि सामाजिक र आर्थिक क्षेत्रमा सक्रिय छिन् । उनले लघुवित्त कार्यक्रम मार्फत महिलाको आर्थिक र सामाजिक जीवनस्तर उकास्न भन्दै फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था स्थापना गरेकी छिन् । समाजशास्त्र, व्यवस्थापनमा स्नातकोत्तर गरेकी उनी पिएचडी अध्ययनरत हुन् । सुनसरीको दुहबी २ स्थायी ठेगाना भएकी चौधरीको जन्मस्थान भने साबिक औराबनी गाविस (हाल गढी गाउँपालिका) हो । 

उनले २०४८ सालमा नेकपा एमालेको पार्टी सदस्यता लिएकी हुन् । २०५८ सालदेखि सक्रिय राजनीतिमा लागेकी उनी २०६४ सालमा नेकपा एमालेको सुनसरी जिल्ला समिति सदस्य बनिन् । ०७० सालमा कोसी अञ्चल समन्वय कमिटी सदस्य र २०७८ को चितवनमा सम्पन्न एमालेको १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्य तथा श्रम तथा स्वरोजगार केन्द्रीय विभागको उपप्रमुख बनेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप