शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुकुम्वासी बस्तीमा सुरक्षा तयारीबिनाको ‘अपरेशन’

नाङ्गो नाच हुँदा नेपाल प्रहरी टुलुटुलु हेरेर बस्यो : नगर प्रहरी प्रमुख पाण्डे
मङ्गलबार, १३ मङ्सिर २०७९, १४ : १९
मङ्गलबार, १३ मङ्सिर २०७९

  डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला २०६९ मा थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउन खोजियो । तर, सुकुम्वासीको अवरोधका कारण सरकार बागमती नदी किनारबाट बस्ती खाली गर्ने निर्णयबाट पछि हट्यो ।

करिब १५ सय मानिसहरू बसोबास गर्ने आकलन गरिएको थापाथलीको सुकुम्वासी बस्तीमा सोमबार काठमाडौँ महानगरपालिका नगर प्रहरी फेरि डोजर लिएर गए । तर, नगर प्रहरी प्रमुख (एसपी) राजु पाण्डे नेतृत्वको टिमलाई सुकुम्वासी बस्तीका स्थानीयले अवरोध गरेका छन् । ढुङ्गा, खुकुरी र भाला सहित प्रदर्शनमा उत्रिएका सुकुम्वासीको आक्रमणबाट पाण्डे सहितका नगर प्रहरी घाइते भएका छन् । ५ जनाको अस्पतालमा उपचार हुँदैछ । सुकुम्वासी बस्तीमा आक्रमण सुरु भएपछि नगर प्रहरी र डोजर फिर्ता भएको छ ।

सुरक्षा तयारीबिना काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले सुकुम्वासी बस्तीमा डोजर पठाउने निर्णय लिए । सो निर्णय उनैलाई ‘ब्याक फायर’ भएको छ । अप्रेसनमा जानुअघि ‘थ्रेट एनालाइसिस’ गर्नुपर्ने बताउँछन् पूर्व एआईजी हरि पाल । रातोपाटीसँग कुरा गर्दै पालले भने–‘त्यहाँ कति मान्छे बस्छन्, घटनास्थलमा आउने चुनौती र कारबाही कसरी गर्ने भनेर सुरक्षा विश्लेषण नगरीकन अप्रेसनमा जानु हुँदैन ।’

नगर प्रहरीमाथि आक्रमण हुँदा डिएसपी नेतृत्वको नेपाल प्रहरीको टिम पनि घटनास्थलमा परिचालित थियो । तर, प्रहरीले आफ्नो टिमलाई असहयोग गरेको बताउँछन्, नगर प्रहरी प्रमुख पाण्डे । रातोपाटीसँग कुरा गर्दै पाण्डेले भने–‘सुकुम्वासी बस्तीमा नाङ्गो नाच हुँदा नेपाल प्रहरी टुलुटुलु हेरेर बस्यो, हामीलाई केन्द्र सरकारबाट सहयोग भएन ।’

नगर प्रहरीलाई आक्रमण गर्नेहरूलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन महानगरपालिकाले जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्राचार गरेको छ । तर, काठमाडौँ प्रहरीले नगरपालिकाका प्रहरीलाई ढुंगामुढा गर्नेहरूलाई पक्राउ गर्न कुनै चासो देखाएको छैन ।

केन्द्र सरकारले असहयोग गरेको महानगरको आरोपबारे काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय भन्छन्–‘त्यहाँ प्रहरीको उपस्थिति छ ।’

सुकुम्वासी बस्तीमा नगर प्रहरीविरुद्ध गलत हर्कत गर्नेहरूलाई नेपाल प्रहरीले निगरानी गरिरहेको प्रजिअ उपाध्यायले बताए । उनले भने–‘महानगरबाट आएको पत्रलाई कार्यान्वयन गर्न काठमाडौँ प्रहरीलाई भनेको छु ।’

भिड नियन्त्रण गर्ने जिम्मेवारी नेपाल प्रहरीको भएको हुनाले महानगरपालिकाले पहिले नै समन्वय गरेर योजना बनाउनुपर्ने बताउँछन् पूर्व डिआईजी हेमन्त मल्ल । ‘प्रहरीले भिड नियन्त्रण पहिलेदेखि नै गर्दै आएको छ, नगर प्रहरीले भिड नियन्त्रण गर्न सक्दैन’ मल्ल भन्छन्–‘भिड नियन्त्रण गर्दा भिडको मानसिकता बुझ्नुपर्छ, नगर प्रहरीलाई जसले पठाउने निर्णय गरे, त्यो ब्लन्डर हो ।’

बाबुराम भट्टराईको पालामा डोजर फर्काएको तथ्य र सुरक्षा थ्रेट एनालाइसिस बिना अपरेसनमा जाँदा धन्न नगर प्रहरी अप्रिय घटना हुनबाट बचेको छ । ‘त्यहाँ ज्यानै जान सक्ने अवस्था थियो’ पूर्व डिआईजी मल्ल भन्छन्–‘कुनै ठाउँ क्लियर गर्न जाँदा त्यहाँका मानिस आइलाग्छन्, भिडलाई कन्ट्रोल गर्ने जिम्मेवारी प्रहरीको हो, समन्वय गरेर जानुपर्ने थियो ।’

सुकुम्वासी भन्छन्–हामी मर्छौँ, मार्छौँ

आन्दोलनमा उत्रिएका अधिकांश सुकुम्वासीहरूले मार्ने र मर्ने अभिव्यक्ति दिएका छन् । खुँडा र खुकुरी लिएर प्रदर्शनमा उत्रिएका उनीहरूले मेयर शाह विरुद्ध नाराबाजी गरेका थिए । राष्ट्रिय सुकुम्वासी मोर्चाको सल्लाहकार पदम बहादुर सिजापतिले उपत्यकाभर ६५ ठाउँमा बस्ने सुकुम्वासीहरुलाई तत्काल उतारेर प्रदर्शन गर्ने तयारीमा आफूहरू बसेको बताए । उनले भने–‘ खबरदारी गर्छौ हामी हट्दैनौँ, सबै एक भएर लड्छौँ ।’

आइलागेपछि मर्न मार्न तयार भएको जिकिर गर्दै उनले भने–‘हामी छोड्नेवाला छैनौँ ।’

मंगलबार सुन्धारा स्थित महानगरपालिकाको कार्यालयमा गएर सुकुम्वासीहरूले प्रदर्शन गरेका छन् । खुँडा, खुकुरीसँग आफू नडराउने भन्दै महानगरका प्रहरी प्रमुख (एसपी) राजु पाण्डेले भनेका छन्–‘ महानगर प्रहरी मर्न तयार छ, निर्णय कार्यान्वयनमा लाग्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप