शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप फुटबल : नेपाली कलाकार को कुन टोलीको पक्षमा ?

मङ्गलबार, १३ मङ्सिर २०७९, १४ : ०१
मङ्गलबार, १३ मङ्सिर २०७९

फुटबलको महाउत्सव ‘विश्वकप २०२२’ कतारमा जारी छ । गत ४ मंसिरमा भव्य समारोहबीच सुरु भएको विश्वकपमा अहिले दैनिक लिग चरणको खेल भैरहेको छ । 

विश्वकपमा सहभागी राष्ट्रका अलावा संसारभरका फुटबलप्रेमी र खेलाडीहरु अहिले कतारमा छन् । कतारमा उपस्थित हुन नसकेकाहरुको नजर पनि टेलिभिजन, इन्टरनेट लगायत विभिन्न माध्यमबाट कतारमै अडिएको छ । 

कुल ३२ राष्ट्र सहभागी यो पटकको विश्वकपको ट्रफी कसले उठाउला  ? मिडिया, सामाजिक सञ्जालदेखि चारै तिर विश्वकप धेरैको चासोको विषय भएको छ ।

खेल हेर्नेले विश्वकप जित्न सक्ने टिम र देशको विषयमा आआफ्नै अड्कलबाजी गरिरहेका छन् । फुटबलको यो महाकुम्भ मेलासँग नेपाली कलाक्षेत्र पनि अछुतो रहन कहाँ सक्छ र ? नेपाली कलाकार पनि विश्वकपलाई लिएर निकै उत्साहित देखिएका छन् । उनीहरु पनि आ–आफ्नो मनपर्ने टिम र खेलाडीले विश्वकप जित्ने अनुमानका साथ सपोर्ट गरिरहेका छन् । 

केही कलाकारले त आफ्नो मनपर्ने टिम र खेलाडीको समर्थनमा जर्सी लगाएर फोटो खिचाएको समेत देख्न सकिन्छ । यो विश्वकपमा कलाकारले समर्थन गर्ने टिम र खेलाडीको विषयमा चर्चा गरिएको छ । अर्जेन्टिना र पोर्चुगलको पक्षमा धेरै कलाकार देखिन्छन् । एशियाली देशको पक्षमा पनि केही कलाकार छन् ।

को को छन् अर्जेन्टिनाको पक्षमा ?

अभिनेता दीपक राज गिरी, अभिनेता गजित विष्ट, अभिनेत्री केकी अधिकारी, हास्य कलाकार राजा राजेन्द्र पोखरेल, गायिका लक्ष्मी आचार्यलगायत अर्जेन्टिनाको सपोर्टमा छन् ।

दीपक राज गिरी  

अभिनेता दीपक राज गिरी पहिलेदेखि नै अर्जेन्टिनाको सपोर्टर हुन् । अर्जेन्टिनाले नै यो पटकको विश्वकप उचालोस् भन्ने उनको चाहना छ । 

त्यसो त उनको अर्काे मनपर्ने टिम इटाली हो । तर यो पटक विश्वकपमा इटाली छैन । त्यसैले नेदरल्याण्ड र अमेरिकाको पनि उनी समर्थन गर्छन् । एशियाको त माया लाग्छ नै उनलाई । तर मायाले संसार चल्दैन भन्छन् उनी । ‘मेरो मनपर्ने खेलाडी मेस्सी, रोनाल्डो र एमबाप्पे हुन्’ उनले भने ।

केकी अधिकारी  

अभिनेत्री केकी अधिकारी पनि अर्जेन्टिनाको सपोर्टमा छिन् । यो उनको मनपर्ने टिम भएकोले यस पटकको विश्वकप यसैले उठाएको हेर्ने इच्छा केकीको छ । उनको मनपर्ने खेलाडी मेस्सी नै हुन् । मेस्सीको खेल्ने शैलीबाट उनी निकै प्रभावित छन् ।

गजित विष्ट  

अभिनेता गजित विष्ट पनि अर्जेन्टिना टोली मन पराउँछन् । उनको मनपर्ने खेलाडी पनि मेस्सी नै हुन् । यो पटकको विश्वकपमा अजेन्टिनाको खेल उनले निराशाजनक पाएका छन् । तर पनि विश्वकप अर्जेन्टिनाले उठाएको हेर्ने उनको चाहना छ । त्यसैले पनि उनी अर्जेन्टिनाको सपोर्ट गरिरहेका छन् । 

राजा राजेन्द्र पोखरेल 

हास्य कलाकार राजा राजेन्द्र पोखरेललाई पनि यो पटकको विश्वकप अर्जेन्टिनाले जितोस् भन्ने लागेको छ । अर्जेन्टिना राम्रो खेलाडीले भरिएको टिम भएकाले उनले समर्थन गरेको बताउँछन् । मेस्सी नम्बर वान खेलाडी लाग्छ उनलाई । क्रिष्टियानो रोनाल्डोको खेल पनि उनी रुचाउँछन् ।

लक्ष्मी आचार्य  

अघिल्लो विश्वकपमा अर्जेन्टिनाको जर्सीमा फोटोसुट गरेकी थिइन् गायिका लक्ष्मी आचार्यले । आफू जहिले पनि अर्जेन्टिनाको सपोर्टर रहेको उनी बताउँछिन् । उनको मनपर्ने खेलाडी मेस्सी हुन् । यो विश्वकप पनि मेस्सीले नै उठाउने उनी बताउँछिन् । 

जनकदीप पराजुली 

अर्जेन्टिना र इङ्ल्याडको सपोर्टर हुन् फिल्म निर्देशक जनकदीप पराजुली । यी दुईमध्ये एकले विश्वकप उठाएको हेर्ने इच्छा उनको छ । यो पटकको प्रमुख दावेदार पनि उनलाई यी दुई टिम लाग्छ रे । दुबै टिममा मेस्सी र ह्यारी केन जस्ता फुटबलका हिरो छन् । यो पटकको विश्वकप मेस्सीले उठाएर विश्वकपबाट सन्यास लिए हुन्छ भन्ने उनी चाहन्छन् ।

एशियाली देशको पक्षमा

हास्य कलाकार जीतु नेपाल, लोकगायक नविन पौडेल, हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’लगायत एशियाली देशको पक्षमा छन् ।

जीतु नेपाल  

हास्य कलाकार जीतु नेपाल भने अन्य कलाकारभन्दा फरक छन् । उनी सबै एसियन देशको सपोर्टर हुन् । एसियाले विश्वकप जित्यो भने उनी खुसी महसुस गर्छन् रे । ‘यो पटक विश्वकप बाहिर नगएर एशियाले उठाए हुन्थ्यो’, उनी भन्छन् ।

नविन पौडेल 

लोकगायक नविन पौडेल पनि अचेल दैनिक विश्वकपमा रमाउँछन् । उनी एशियाबाट सहभागी देशका सपोर्टर हुन् । एशियाका कुनै देशले यो पटकको विश्वकप उठाएको हेर्ने उनको सपना छ । एसियाले जितेन भने पोर्चुगलले जिते हुन्थ्यो भन्ने उनी चाहन्छन् ।

शिव शंकर रिजाल ‘जोगिन्दर’ 

हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ एशियाको नागरिक भएको हिसावले पहिले आफू एशियाली देशको सपोर्टर हो भन्छन् । एशियाली देशले वल्र्डकप जित्न सकेन भने अहिलेसम्म जुन देशले जितेको छैन, त्यसले जित्नुपर्छ भन्छन् उनी । एशियाली पछि नेदरल्याण्ड र बेल्जियमको सपोर्ट गर्छन् उनी । उनको मनपर्ने खेलाडी लुकाकु र एमबाप्पे हुन् ।

निर्मल शर्मा ‘गैडा’ 

कलाकार निर्मल शर्मा ‘गैडा’ यस पटकको विश्वकपमा सेमिफाइनल र फाइनल मात्र हेर्ने सोचमा छन् । त्यसैले यो पटक उनी कुनै टिमको सपोर्टमा छैनन् । उनको मनपर्ने खेलाडी पनि कोही छैन । बरु एशियन टिमले यो पटक विश्वकप उठाए हुन्थ्यो भन्ने लागेको शर्मा बताउँछन् ।

पोर्चुगल मनपराउनेहरु

लोकगायक कस्तुप पन्त, अभिनेता रोहित रुम्बा, वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी, मोडल दीपक घिमिरेलगायत पोर्चुगल मनपराउनेहरु हुन् । 

कस्तुप पन्त

लोकगायक कस्तुप पन्त विश्वकपका नियमित दर्शक हुन् । उनको मनपर्ने टिम पोर्चुगल हो । अर्जेन्टिना, ब्राजिल, फ्रान्स, जर्मनलगायत देशका खेलहरु पनि उनी मनपराउँछन् । पोर्चुगलको क्रिस्टियानो रोनाल्डो उनको मनपर्ने खेलाडी हुन् । 

जोगेन्द्र केसी  

वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी पोर्चुगलका फ्यान हुन् । यसपालीको विश्वकप पनि पोर्चुगलले नै उचाल्छ जस्तो उनलाई लागेको छ । क्रिस्टियानो रोनाल्डो उनको मनपर्ने खेलाडी हुन् । रोनाल्डोको फुटबल खेल जादुमय लाग्छ उनलाई । 

रोहित रुम्बा 

लाखे अभिनेता रोहित रुम्बा म पोर्चुगलको सपोर्टर हुन् । यो पटकको विश्वकप पोर्चुगलले नै जित्छ भन्नेमा उनी विश्वस्त छन् । उनी विश्वकप पोर्चुगलले उचालेको हेर्ने चाहन्छन् । उनको मनपर्ने खेलाडी क्रिष्टियानो रोनाल्डो हो । 

दीपक घिमिरे  

पोर्चुगलको सपोर्टमा छन् अन्तरराष्ट्रिय मोडल दीपक घिमिरे । यो विश्वकप पोर्चुगलले नै उठाउनुपर्छ भन्ने उनको चाहना हो । उनको मनपर्ने खेलाडी क्रिस्टियानो रोनाल्डो हो ।

अनु शाह 

अभिनेत्री अनु शाह फुटबलप्रेमी त होइनन् । तर विश्वकप भने उनले पुरै हेर्ने गरेकी छन् । विश्वकपमा उनी इन्जोय गर्छिन् । यो पटकको विश्वकपमा उनी ब्राजिलको सपोर्ट गरिरहेकी छन् । उनी नेयमारको फ्यान हुन् । नेयमार ह्याडसम लाग्ने उनी बताउँछिन् ।

खुश्बु खड्का  

अभिनेत्री खुश्बु खड्का पनि ब्राजिलको सपोर्टर हुन् । उनी अन्य गेम छुट्यो भनेपनि ब्राजिलको खेल कहिल्यै छुटाउँदिनन् । यसपटक धेरै टिममा राम्रो राम्रो खेलाडी देख्न पाइएको छ । नेयमार आफ्नो मनपर्ने खेलाडी भएकोले विश्वकप ब्राजिलले जिते हुन्थ्यो भन्ने उनलाई लाग्छ ।

रवि डंगोल 

हास्यकलाकार रवि डंगोल स्पेनको फ्यान हुन् । उनी यो विश्वकपमा पनि स्पेनको सपोर्टर हो । तर यो पटकको विश्वकप जापानले जितेको हेर्ने उनको इच्छा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप